बन्दाबन्दीले फेरि बिलखबन्दमा होटल तथा पर्यटन व्यवसायी

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २३ गते १७:०९
बन्दाबन्दीले फेरि बिलखबन्दमा होटल तथा पर्यटन व्यवसायी

सालिकराम कोइराला/झाँक्रे (नवलपुर) : साढे ६ करोडको लगानीमा गतवर्षदेखि होटल व्यवसाय संचालन गर्दै आएका नारायण भण्डारी यतिबेला बिलखबन्दमा परेका छन् । पोहोरको थिलथिल्याइबाट उठ्न नपाउँदै यसपालिको बन्दाबन्दीले उनको हुर्मत लिन थालेको छ ।

खाडी मुलुकको चर्को घाममा पैसासंग पसिना साटेर फर्फिएका भण्डारीले नवलपुरको झाँक्रे र धौवादीमा करोडौँ खर्चिएर पर्यटकिय होटल संचालन गरे, आफ्नो मात्रै बुताले नभ्याएपछि साथीभाई गुहारे । ऋण–धन गरे । “वर्षदिन नपुग्दै फेरि लकडाउन शुरूभो,बैंक ब्याजले डुबाउने भयो ।“ भण्डारीले दुःखेसो पोखे ।

परिवर्तन मल्टिपर्पोज कम्पनी खडा गरेर संचालन गरिएको देवचुली–४ झाँक्रेको पि एम सी होटल जिल्लाका अन्य होटलहरूभन्दा फरक छ । ईजिप्टको पिरामीड,मिसाईल, तोप,मान्छे थुन्ने पिंजरा सहितको सेल्फिजोन र स्विमिङपुलले धेरैलाई आकर्षित गरेको छ । हजारौं जनाको खुला कार्यक्रम स्थल र एक सय तिसजनालाई आवासीय सुविधा दिने यो होटलमा साढे चार करोड लगानी गरिएको भण्डारीको भनाई छ ।

बन्दाबन्दीले फेरि बिलखबन्दमा होटल तथा पर्यटन व्यवसायी 5

त्यसो त झाँक्रेमा मात्र हैन उनले हुप्सेकोट–५ रूद्रपुरगढीमा समेत दुई करोडको लगानीमा धौवादी पाहुना घर संचालन गरेका छन् । रूद्रपुरगढी नवलपुरको प्रमुख पर्यटकिय गन्तब्य मानिन्छ । सँधैभरि चिसो हावा चल्ने,शुन्दर प्राकृतिक दृश्य,देवचुली–वरचुली,नारायणी–कालीगण्डकी,वायु उर्जा,नेपालकै सबैभन्दा ठूलो फलामखानी, पाल्पा–रामपुर,पोखरा र कालीगण्डकी करिडोरलाई भण्डारीको युरोपियन शैलीको पाहुना घरले फ्यूजन गरेको छ ।

बन्दाबन्दीले फेरि बिलखबन्दमा होटल तथा पर्यटन व्यवसायी 6

लगानी त गरियो तर बन्दाबन्दीले बैंक ब्याज तिर्नै हम्मे–हम्मे पार्नेभो भन्ने उनलाई चिन्ता छ । एक त बैकले ऋण नपत्याउने पत्याईहाले पनि सार्है झन्झटिलो प्रकृयाले हैरान पार्ने नियति भोग्नु परेको भण्डारीको गुनासो छ । नवलपुरमा ठूला–साना गरि करिव तीन हजार  होटल रहेको सन्तोष रानाले बताए । उनि होटल ब्यवसायी संघका अध्यक्ष हुन् । जिल्लामा साना र मध्यमस्तरका होटलहरूले लकडाउनका कारण मासिक दश करोड बराबरको क्षति ब्यहोर्नु पर्ने उनको तर्क छ । “राज्य अप्ठेरोमा पर्दा होटललाई आईसोलेशन सेण्टर बनाउन हामी तयार छौं सरकारले ब्याज मिनाहा गरिदिन पर्छ।“ रानाले भने।

नवलपुरमा नारायणी नदीतटिय क्षेत्रमा वैदेशिक लगानीका दर्जनौं होटलहरू पनि संचालनमा छन्। तिनिहरूमा समेत लकडाउनका कारण पर्यटक शुन्य छन् ।राज्यले मौद्रिक नीति अनुरूप जोखिममा परेका व्यवसायीलाई ब्याज मिनाहा र पुनरकर्जाको ब्यबस्था गर्नुपर्ने नवलपुर उधोग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले जोडदार आवाज उठाए ।

देवचुलीका नारायण भण्डारी जस्तै नयाँ कन्सेप्टका साथ युवाहरू उधमशिलतामा अघि बढ्ने हो भने देशले काँचुली फेर्न बेर लाग्दैन । तर परिस्थितिवश जोखिममा परिहाले भने सरकारले एक तहरो पानी रोकेझैं गरि ओत लगाईदियो भने व्यवसायीले पनि राहत महशुस गर्ने थिए ।

प्रकाशित : २०७८ वैशाख २३ गते १७:०९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI