धौवादी फलाम कारखानाको डिपिआर निर्माण प्रक्रिया सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ६ गते १०:१७
धौवादी फलाम कारखानाको डिपिआर निर्माण प्रक्रिया सुरु
काठमाडौं : सरकारी स्वामित्वको धौवादी फलाम कम्पनीले फलाम कारखाना स्थापनार्थ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाएको छ । चीनमा गरिएको औद्योगिक परीक्षण सफल भएपछि उसले फलाम कारखाना निर्माणका लागि साम्भाव्यता अध्ययन र डिपिआर निर्माणको प्रक्रिया सुरु गरेको हो ।

कारखाना निर्माण, त्यसले उत्पादन गर्ने स्टिल तथा छडको बजार, नाफा/नोक्सान लगायतका विषयमा अध्ययन गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । ‘केही समयअगाडी चिनियाँ प्रयोगशालामा गरिएको फलाम परीक्षण सफल भएपछि अब त्यसको उत्पादन र बजारबारे अध्ययन गर्दैछौं,’ उनले भने, ‘साथै आयातित डन्डी र ब्लेडसँग यसले प्रतिस्पर्धा गर्न सक्छ की सक्दैन भन्‍ने विषयमा समेत अध्ययन गर्न खोज्दैछौं ।’ स्वदेशमा यस्तो अनुभव भएका कम्पनी नभएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपरेको उनले बताए ।

पाँच वर्ष अघि नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी फलामखानी भेटिएको थियो । खानीबाट निस्कने फलामको परिमाण यकिन गरिसकेको छ । चिनियाँ प्रयोगशालाले यो खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको जानकारी गराएको थियो ।

विभागका अनुसार फलामखानी क्षेत्रको जग्गा अधिग्रहण र कारखाना स्थापनाका लागि जग्गा अधिग्रहणको काम अघि बढ्नेछ  । फलाम खानी रहेको हुप्सेकोट आसपासको क्षेत्र र कावासोती नगरपालिका–१ मा रहेको हात्तीखोर क्षेत्रमा कारखाना राख्न उपयुक्त हुने विज्ञहरूको प्रारम्भिक प्रतिवेदन आएको छ ।

दैनिक ८ सयदेखि १२ सय टनसम्म फलाम निकाल्न सकिने अनुमान छ । त्यति परिमाणमा फलाम निकाल्दा यो मझौला उद्योग हुनेछ । प्रारम्भिक अनुमानमा २ करोड टन फलाम निकाल्न सकिने देखिएको छ । जमिनको कति मुनिसम्म फलाम छ भन्ने जानकारी ड्रिलिङबाट पत्ता लाग्नेछ ।

कारखाना सुरु भएपछि भारतबाट आयात हुने कच्चापदार्थको २५ देखि ३० प्रतिहत फलामको माग घट्ने प्रारम्भिक अध्ययनले देखाएको छ । भारतीय बजारसँग मूल्यमा प्रतिस्पर्धा गर्न र लागत घटाउन भने मुख्य चुनौती छ ।

प्रकाशित : २०७७ चैत ६ गते १०:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI