इंग्ल्यान्डलाई ८ रनले पराजित गर्दै भारतले इंग्ल्यान्डसंगको पाँच वटा टि-२० अन्तर्राष्ट्रिय खेलको सिरिज २-२ को बराबरी गरेको छ।
नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा सम्पन्न खेलमा भारतले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ओपनर जोस बटलरलाई ९ रनको व्यक्तिगत स्कोरमा भुवनेश्वर कुमारले क्याच आउट गराए। दोश्रो विकेटको लागि जेसन रोयले दवीड मलानसंग ४५ रन जोडे। १७ बलमा १४ रन बनाएका मलान आठौँ ओभरमा राहुल चाहरबाट बोल्ड भए। लगत्तै ओभरमा हार्दिक पान्ड्याले जेसन रोयलाई क्याच आउट गराए। रोयले २७ बलमा ६ चौका र १ छक्का मद्दतले ४० रन बनाए।
६६/३ को अवस्थाबाट जोनी बेयरस्टो र बेन स्टोक्सले ६५ रनको साझेदारी गरे। १९ बलमा २५ रन बनाएका बेयरस्टोलाई १५ औं ओभरमा क्याच आउट गराउदै राहुल चाहरले भारतलाई खेलमा फर्काए।
२३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाएका स्टोक्सलाई १७ औं ओभरमा शार्दुल ठाकुरले क्याच आउट गराए। लगातार बलमा ४ रन बनाएका कप्तान ओएन मोर्गनलाई पनि ठाकुरले क्याच आउट गराउदै भारतलाई खेलमा हावी गराए। लगत्तै ओभरमा हार्दिक पान्ड्याले ३ रन बनाएका स्याम करनलाई बोल्ड गरे।
अन्तिम २ ओभरमा जित्न ३२ रन आवस्यक रहंदा १९ औं ओभर बलिंग गरेका भुवनेश्वर कुमारले १० रन खर्चिए।
अन्तिम ओभरमा २३ रन आवस्यक रहंदा शार्दुल ठाकुरले अन्तिम ओभर बलिंग गरे जसले त्यस अघि ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिएका थिए।
अन्तिम ओभरको पहिलो बलमा क्रिस जोर्डनले १ रन लिए। दोश्रो बल र तेश्रो बलमा जोफ्रा आर्चरले चौका र छक्का प्रहार गरे। त्यसपछि ठाकुरले लगातार २ बल वाइड दिए जसपछि आर्चरले १ रन लिए। २ बलमा ९ रन आवस्यक रहंदा ठाकुरले क्रिस जोर्डनलाई क्याच आउट गराए। अन्तिम बलमा आर्चरले रन बनाउन सकेनन् र भारतले खेल जित्यो। आर्चरले ८ बलमा अविजित १८ रन बनाए।
भारतको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ४२ रन खर्चिए। राहुल चाहर ( ४-०-३५-२ ) र हार्दिक पान्ड्या ( ४-०-१६-२ ) ले समान २ विकेट लिए। भुवनेश्वर कुमारले १ विकेट ( ४-१-३०-१ ) लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो।
भारतीय ओपनर रोहित शर्मा चौथो ओभरमा १२ रन बनाएर जोफ्रा आर्चरबाट कट एण्ड बोल्ड हुन पुगे। तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका सूर्यकुमार यादवसंग केएल राहुलले ४२ रनको साझेदारी गरे। १७ बलमा १४ रन बनाएका राहुललाई बेन स्टोक्सले आठौँ ओभरमा क्याच आउट गरे। लगत्तै ओभरमा कप्तान बिराट कोहली ५ बलमा १ रन बनाएर आदील रशिदबाट स्टम्प आउट भए।
चौथो विकेटको लागि यादवले रिशभ पन्तसंग ४० रनको साझेदार गरे। १४ औं ओभरमा यादवलाई स्याम करनले क्याच आउट गराए। यादवले ३१ बलमा ६ चौका र ३ छक्का मद्दतले ५७ रन बनाए। तर यादवको क्याच विवादास्पद रह्यो। अनफिल्ड अम्पायरले सफ्ट सिग्नल आउट दिंदै टिभी अम्पायरलाई निर्णय रिफर गरेका थिए तर टिभी अम्पायरले लामो समय रिप्ले हेरेपछि पनि निर्णय दिन नसकेपछि अनफिल्ड अम्पायरको सफ्ट सिग्नललाई आधार मानेर आउट दिएका थिए।
यादवले मात्र २८ बलमा अर्धशतक पुरा गरेका थिए। यादवले खेलमा सामना गरेको जोफ्रा आर्चरको पहिलो बलमै छक्का हिर्काएका थिए। सिरिजको दोश्रो खेलमा डेब्यु गरेता पनि यादवले ब्याटिंग गर्न पाएका थिएनन्। भारतको लागि डेब्यु टि-२० अन्तर्राष्ट्रिय इनिंग्समा अर्धशतक बनाउने यादव पाँचौ खेलाडी हुन्। यस अघि रोबिन उथप्पा, रोहित शर्मा, अजिंके रहाने र इशान किशनले यो उपलब्धि हाँसिल गरेका थिए।
यादवको विकेट पछि रिशभ पन्तले श्रेयस ऐयरले ३४ रनको साझेदारी गरे। २३ बलमा ४ चौका मद्दतले ३० रन बनाएका पन्तलाई आर्चरले बोल्ड गरे। त्यसपछि ऐयरले हार्दिक पान्ड्यासंग २६ रन जोडे। १९ औं ओभरमा मार्क वुडले ११ रन बनएका पान्ड्यालाई क्याच आउट गराए।
अन्तिम ओभरको पहिलो बलमा १८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाएका ऐयरलाई आर्चरले क्याच आउट गराए। ओभरको चौथो बलमा आर्चरले ४ रन बनाएका वासिंगटन सुन्दरलाई क्याच आउट गराए। शार्दुल ठाकुर ४ बलमा २ चौका मद्दतले १० रन बनाउदै अविजित रहे।
इनिंग्सको अन्तिम ५ ओभरमा भारतले ४ विकेट गुमायो भने ५७ रन बनायो।
इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३३ रन खर्चिए। मार्क वुड ( ४-१-२५-१ ), आदील रशिद ( ४-१-३९-१ ), बेन स्टोक्स ( ३-०-२६-१ ) र स्याम करन ( १-०-१६-१ ) ले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो जसपछि दोश्रो खेल भारतले ७ विकेटले जितेको थियो। तेश्रो खेल ८ विकेटले जित्दै इंग्ल्यान्डले अग्रता हाँसिल गरेको थियो। सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेल मार्च २० तारिख शनिवार खेलिनेछ।
Facebook Comment