नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ। दिल्लीस्थित मनजुका टिलामा होटल र किराना पसल गर्दै आएकी नुवाकोट दुप्चेश्वोर, वाड न २ निवासी ४५ वर्षीय मीना तामाङको हत्या भएको हो। उनलाई बुधबार बिहानै पसलमै गोली हानिएको थियो। सिसिटिभी फुटेज भए पनि हालसम्म हत्याराको कुनै खबर नभएको आफन्तले जानकारी दिएका छन्।
मीना तामाङ विगत ८ वर्षदेखि श्रीमानसँगै तिब्बत मार्केट नजिकै मैन रोडमा किराना फसल गर्दै आइरहेकी थिइन्। १७ मार्चको बिहान एक्कासी दुईजना बन्दुक धारी लुटेराहरुले उनीमाथि गोली प्रहार गरेका थिए। गोली लागरेर घाइते उनलाई नजिकैको सिविल लाइन ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए। तामाङको पोस्टमार्टम रिपोर्ट पश्चात बिहीबार परिवार र आफन्तको उपस्थितिमा दाहसंस्कार गरिएको छ।
एक प्रत्यक्षदर्शीले भने, ‘नजिकै नेपाली बस रोकिएको थियो जसमा एक महिलामाथि मोटर साइकलमा रहेका लुटेराले लुट्ने प्रयास गरेका थिए। त्यसपछि त्यहाँ हो हल्ला भयो। यसै क्रममा गोली चल्दा आफ्नो पसल भित्र सरसफाई गर्दै गरेकी मीना तामाङलाई गोली लागेको हो।’
घटनाबारे अर्को पक्षले भने फरक भनाइ राखेको छ। सो पक्षका अनुसार लुटेराले मीनाको पसल भित्र लुट्ने प्रयास गरे, मीनाले प्रतिकार गर्दा लुटेराहरुले गोली हानेका थिए। तर पसलमा कुनै पनि समान र रकम भने लुटिएको छैन।
घटना भएको स्थानका लगभग प्रत्येक पसलमा दिल्ली सरकार तथा निजि क्षेत्रबाट राखिएका सिसिटिभी छन्। मुख्य आउटर रिङ्ग रोडको ५०० मिटरको दुरीमा हाई डेफिनेसन स्पीड ट्र्याकर क्यामेरा लागेका छन् तर पनि अहिलेसम्म दिल्ली पुलिसले अपराधीको बारेमा पीडित पक्षलाई कुनै जानकारी दिएको छैन।
प्रकाशित : २०७७ चैत ५ गते २१:५९
Facebook Comment