राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा काँग्रेस र कम्युनिष्टहरू असफल भएको बताएका छन् ।
शनिबार राप्रपा हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले जनताले दिएको दुईतिहाइ मतको अपमान गरेर जनविश्वासमाथि नै खोलवाड गरेको बताए ।
उनले देशमा शान्ति, स्थायित्व र विकासका लागि जनताले तत्कालीन नेकपालाई दिएको दुई तिहाईको बहुमतको अपमान गर्दै पार्टीको आन्तरिक झगडामै कम्युनिस्टहरु अल्झेको आरोप लगाए । उनले काँग्रेसलाई जनताले प्रतिपक्षमा बसेर सरकारको कामप्रति खबरदारी गर्न पठाएको भए पनि काँग्रेस अन्य दलहरूसँग अपवित्र गठबन्धन गरी सत्ता प्राप्तिमा लागेको आरोप लगाए ।
नेकपाको आन्तरिक झगडाले संसद र पार्टीमा उग्र रुप लिँदा प्रजातन्त्र नै संकटमा परेको थापाको भनाइ छ । उनले प्रजातन्त्रको रक्षा र नेपालीहरुको धर्म संस्कृतिको संरक्षणका लागि आगामी सरकारको नेतृत्व राप्रपाले लिनुपर्ने बताए । विगतका दिनमा राप्रपा फुटको कारणले कमजोर भए पनि अबका दिनमा राप्रपा नफुट्ने थापाको दावी छ ।
राप्रपा नफुटोस् भन्न कै लागि आफुले राप्रपा संयुक्तसँगको एकीकरणका क्रममा राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीलाई गीतामा हात राखेर कसम खुवाएको उनले बताए ।
त्यस्तै राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारीले कम्युनिष्टहरुले आफ्नो स्वार्थका लागि नेपालको संविधान नै धरापमा पारेको बताए । राजनीतिक दलहरुले संविधान, प्रजातन्त्रको मर्मलाई नबुझ्दा देशमा संकट आइपरेको उनको भनाइ थियो ।
प्रकाशित : २०७७ चैत १ गते ७:५६
Facebook Comment