काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । महेन्द्रनारायण निधिको ९९ औ जन्म जयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिँदा राम्रो हुने बताए ।
‘अदालतले संसद पुनर्स्थापना गरिसकेको छ, सब भन्दा खुसीको कुरा संसद बाँचेको छ, अब प्रधानमन्त्रीबाट ओलीजीले राजीनामा दिँदा राम्रो हुन्छ, हुन त यो उहाँको पार्टीको कुरा हो,’ देउवाले भने ।
देउवाले ओली सामु अब संसद्मा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुई वटा विकल्प रहेको बताएका हुन् । प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नै नपर्ने उनले बताए ।
उनले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनर्स्थापना दुवै स्विकार्ने बताएकोमा अन्यथा नलिनसमेत सबैमा आग्रह गरे । देउवाले काँग्रेस विगत देखि नै प्रजातन्त्रको रक्षामा उभिदैं आएको र उभिनेसमेत प्रस्ट पारे ।
‘सर्वोच्चले स्टे अर्डर देला भन्ने थियो, नदिएपछि पुनर्स्थापना वा निर्वाचन जे भए पनि मान्छौँ भनेको हुँ,’ देउवाको स्पष्टोक्ति थियो । तर पनि पार्टीले सुरुबाट नै संसद विघटनको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको देउवाले आफ्नो सम्बोधनका क्रममा भनेका हुन् ।
प्रकाशित : २०७७ फागुन १२ गते १७:२३
Facebook Comment