नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट प्वाल पारेर इन्धन चोरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २ गते ११:४०
नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट प्वाल पारेर इन्धन चोरी

काठमाडौं, २ माघ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपाल-भारत क्रस-बोर्डर पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी भएको छ ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो ।

भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको नवभारत टाइम्सले जनाएको छ । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन ।

इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चोरीको यो पहिलो घटना हो ।

पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले इन्डियन आयल कर्पोरेसनलाई जानकारी दिएका थिए । इन्डियन आयल कर्पोरेसनका कर्मचारी तथा प्राविधिक टोलीले स्थलगत अनुसन्धान गरेपछि चोरीको तथ्य प्रकाशमा आएको हो ।

२०७६ भदै २५ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भिडियो कन्फरेन्स’मार्फत उद्घाटन गरेका थिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा चोरीमा कमी आउने दाबी गरिएको थियो ।तस्बिर : नवभारत टाईम्स

प्रकाशित : २०७७ माघ २ गते ११:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI