भरतपुरबाट कैदी फरार प्रकरण : दुई जना प्रहरी निलम्बित

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १८ गते १४:००
भरतपुरबाट कैदी फरार प्रकरण : दुई जना प्रहरी निलम्बित
१८ मंसिर, चितवन । भरतपुर कारागारबाट कैदी फरार भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

 

गएको मंसिर ११ गते साँझ ५.३० बजेको समयमा जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ बर्षिय कैदीबन्दी रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।

श्रेष्ठले भलिबल खेल्ने नेटको जाली खोलेर कारागारको पर्खालको काँडेतारमा अड्काएर त्यसमै झुण्डिएर भागेको कारागार प्रमुख कमलप्रसाद काफ्लेको दावी छ । गत साउन २० गते जर्बजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानीका लागि कारागार पठाइएको थियो ।

कारागार सुरक्षाका लागि २८ जना जनपथ प्रहरी खटिएका छन् । १६ वटा सिसी क्यामेरा, ७३ जना आन्तरिक सुरक्षा र १० जना कारागार प्रशासनका कर्मचारी छन् ।

कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई असावधानी अपनाएको भन्दै निलम्बन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरूङले सुरक्षामा ध्यान दिन नसक्ने प्रहरीलाई निलम्बन गरिएको जानकारी दिए ।

कारागार प्रमुख काफ्लेले प्रहरीको डिउटी परिवर्तन हुने मौका छोपेर कैदी फरार भएको दावी गर्दै आएका छन् । फरार श्रेष्ठको खोजी जारी छ । छानविन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कारागारको निगरानी, सुरक्षा र प्रशासन अति नै दयनीय भएको पाइएको बताए ।

जुनसुकै बेला पनि कैदीहरु भाग्ने र घटना हुनसक्ने अवस्था आफूहरुले पाएको उनको भनाइ छ । प्रतिवदेनमा दीर्घकालमा उपयुक्त, सुरक्षित र व्यवस्थित कारागार बनाउन सुझावसमेत दिइएको छ ।

कारागार प्रशासन, सुरक्षा प्रशासन, आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकोले विभागिय कारर्वाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ ।

भरतपुर कारागारबाट अहिलेसम्म ७ जना कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । बाँकी ६ जना अदालत लैजाने क्रममा, अस्पतालमा उपचारको क्रममा भागेको कारागार प्रशासनले जनाएको छ ।

तीमध्ये अहिलेसम्म एक जना मात्र पुनः पक्राउ परेका छन् । २८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ जना कैदी बन्दी राखिएका छन् ।

 

प्रकाशित : २०७७ मंसिर १८ गते १४:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI