चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १८ गते १०:०१
चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर

चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको छ ।

चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशनले मंगलबार सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।

अवतरण गरेलगत्तै यसले चन्द्रमाको सतहबाट नमूना संकलन गर्ने काम सुरु गरेको छ । यसलाई रिटर्न मोड्युलसम्म पुर्याउने सुरुवात बिहिबारदेखि गर्न सकिनेछ ।

यो काम केही दिनसम्म मात्रै गर्न सकिनेछ । त्यसपछि नमूनालाई चन्द्रमाको कक्षमा पहिलेदेखि नै रहेको सर्विस ह्विकल र रिटर्न मोड्युलसम्म पुर्याइनेछ जसले यसलाई धर्तीमा फिर्ता पठाउनेछ ।

योजनाका अनुसार रिर्टन मोड्युल मंगोलियाको भित्री इलाकामा सिजिवांगको घाँसे मैदानमा ल्याण्ड गर्न सक्छ ।

चांग ई–फाइभ मिशनअघि चीनले  थप दुई मून मिसन पठाएको थियो, सन् २०१३ मा चांग ई–थ्री र सन् २०१९ मा चांग ई–फोर मून मिशन । यी दुबैमा एक ल्याण्डरका साथै एउटा सानो मून रोभर समावेश गरिएको थियो ।

यी दुईको तुलनामा चांग ई–फाइभ जटिल मिशन हो ।

८.२ टनको चांग ई–फाइभलाई एक अन्तरिक्षयानमार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो ।

केही दिन अघि यो मिशन चन्द्रमामाथि पुग्यो र यसले आफूलाई चन्द्रमाको कक्षमा स्थापित गर्यो र चन्द्रमाको फन्को लगाउन थाल्यो । पछि यो दुई टुक्रामा बाँडियो – पहिलो सर्भिस ह्विकल र रिटर्न मोड्युल जुन चन्द्रमाको कक्षमा नै रोकिइरह्यो र दोस्रो मून ल्याण्डर जुन बिस्तारै चन्द्रमाको सतहतर्फ बढ्न थाल्यो ।

 

मून ल्याण्डर चन्द्रमाको सतहमा मुन्स रुमकेरमा उतारियो जुन चन्द्रमाको ज्वालामुखीयुक्त पहाड नजिकैको एक स्थान हो ।

चन्द्रमाको सतहबाट माटो र ढुङ्गा जम्मा गर्नका लागि पठाइएको चांग ई–फाइभ मून ल्याण्डरमा क्यामरा, रडार, एउटा ड्रिल र स्पेक्ट्रोमिटर फिट गरिएको छ । यी सबैको प्रयोग गरेर यसले चन्द्रमाको सतहबाट माटोको उत्कृष्ट नमूना जम्मा गर्नेछ ।

चांग ई–फाइभभन्दा अघि  ४४ वर्ष अघिदेखि अहिलेसम्म मून मिशनको क्रममा अमेरिकी अपोलो अंतरिक्षयानबाट चन्द्रमामा गएका अंतरिक्षयात्री र सोभियत रुसको रोबोटिक लूना कार्यक्रमले चन्द्रमाको सतहभन्दा करिब ४ सय किलोमिटर भित्रसम्मको माटो र ढुङ्गा संकलन गरेका छन् तर तमिध्ये धेरै मिसनमा अंतरिक्षयात्री समावेश थिए ।

चन्द्रमाबाट ल्याइएका सबै नमूना करिब तीन अर्ब वर्ष पुराना हुन् ।

मून्स रुमकेरबाट ल्याइएको नमूनाको उमेर १.२ देखि १.३ अर्ब वर्षको हुने अनुमान गरिएको छ । अर्थात् ती पहिला ल्याइएका नमूनाभन्दा नयाँ हुने अपेक्षा गरिएको छ । जानकारका अनुसार यसले चन्द्रमाको भूवैज्ञानिक इतिहासबारे थप जानकारी पाउन सकिनेछ । – बीबीसी

प्रकाशित : २०७७ मंसिर १८ गते १०:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI