सचिवालयमा एक्लिदै ओली

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते ११:०८
सचिवालयमा एक्लिदै ओली

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठकमा साथ दिनेमा महासचिव विष्णु पौडेल मात्र देखिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा छलफल गर्ने या नगर्ने भन्‍ने धारणा राख्नबाट पौडेल पन्छिएका थिए । उनी दाहालको प्रस्ताव ‘अमिल्दो’ धारणा राख्‍दै फिर्ता लिनुपर्ने अडानमा रहे । प्रधानमन्त्री ओलीको त्यही धारणा थियो । तर, अरु सदस्यले प्रधानमन्त्री ओलीले प्रस्तावमाथि छलफलमा भाग लिइसकेको अवस्थामा ‘फिर्ता लिने’ तर्क राख्नुको कुनै अर्थ नहुने अडानमा रहे ।

ओलीले प्रारम्भमै आक्रोशित शैलीमा प्रश्न गरे, ‘आजको एजेण्डा के हो ? यस्ता बैठक के का लागि ?’ उनको त्यो बोलीप्रति आपत्ति जनाउँदै अरु सदस्यले सचिवालयको अबमूल्यन गरेको भन्दै रोस प्रकट गरे । ओलीको प्रश्नको जवाफमा दाहालले भने, ‘दुई-दुई प्रस्ताव छन्, त्यही हो नि एजेण्डा ।’

 

 

त्यसपछि एजेन्डाकै सवालमा ओली र दाहालबीच चर्काचर्की पर्‍यो । ओलीले ‘विना कार्यसूचीको बैठक’ भनेपछि पौडेलबाहेक सदस्य दाहालका साथ दिएका हुन् । दाहाल बोल्यो कि ओलीले बोल्न खोज्थे । त्यसमा अरु सदस्यले कम्तीमा अर्का अध्यक्षलाई बोल्न दिन पर्दैन ? भन्दै आपत्ति जनाएका थिए । सचिवालय सदस्य रामबहादुर थापा पनि प्रस्तावमा छलफल गर्नुपर्ने पक्षमा उभिएका थिए ।

दाहालको प्रस्तावमाथि ओलीको आक्रोश

बैठक पार्टी कार्यालयमा बस्ने तय थियो । तर एकाएक कोभिड र सुरक्षाका कारण देखाएर ओलीले सरकारी निवास बालुवाटारमा डाके । त्यो अरु सदस्यलाई चित्त बुझेको थिएन । सचिवालयका एक सदस्यले भने, ‘झन् ओलीले बैठकको कार्यसूची के हो ? भनेपछि आक्रोश वातावरण सिर्जना हुन पुगेको हो ।’ दाहालले दुई वटा प्रस्ताव नै एजेन्डा हुन् र त्यसमा छलफल गरौ’भन्नुपरेको थियो । उनले ओली शासक शैलीमा प्रस्तुत हुन नहुने धारणा राखेको एक सदस्यले बताउँदै भने, ‘तपाईं निकै ठूलो शासक झै बन्नुभयो । त्यो भ्रम र कुण्ठाबाट बाहिर निस्कन सुझाउँछु ।’

महासचिव पौडेलको ६२ औं जन्मोत्सव केक खाँदै रमाइलै वातावरण बैठक प्रारम्भ भएको थियो । तर एकाएक प्रधानमन्त्री ओलीको वाक्यसँगै सबैको अनुहार रातो–पिरो भए । उनले लगातार दाहाललाई हप्काउन थाले, एक सदस्यले भने । ओलीको हेपाह शैली र आक्रोस देखिएको, एक सदस्यले भने । त्यसपछि दाहाल बोले । दाहालको भनाइ उद्धृत गर्दै ति सदस्यले भने, ‘हामीमा समस्या छ । समाधान गर्न हामी दुवैको प्रस्ताव टेबलमा छन् । हामी यसमा छलफल गरौं । छलफलमा गएको विषयमा एक्लो कराएर के हुन्छ ?’

‘के सँधै तपाईकै कुरा सुन्न मात्र आउने हो, हामी ? तपाईं शासक हामी रैती हो, यहाँ हामी अरुको सुन्नु पर्दैन ?’ ओलीप्रति श्रेष्ठ निकै कड्किएका थिए ।

दाहाललाई बीचमा रोक्दै ओलीको आक्रोशित वाक्य आयो, ‘यस्ता वाइयात आरोप-पत्रमा छलफल हुन सक्दैन । सबैको साख मात्र गिरेको छैन, म स्वयं र पूरा मन्त्रिमण्डलको बेइज्जत गरेको उक्त पत्र तत्काल फिर्ता वा खारेज हुनुपर्छ । यसमा छलफल हुन सक्दैन । यस्तो एजेण्डा आफैसँग राख्नुस् ।’ त्यतिमात्र होइन, ओलीले दाहालको ‘प्रस्ताव स्वीकारयोग्य छैन’ भन्दै त्यसमा माफी माग्नुपर्ने जिकिर समेत गरे ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक जारी रहेको र बुधबार १ बजे पुनः बैठक बस्ने तय भएको जानकारी दिए । उनले भने, ‘हामी दुवै प्रस्तावमा छलफल हुनुपर्छ भन्नेमा छौं । फरक-फरक प्रस्ताव भएपछि केही विषयमा सहमति, असहमति हुन्छ नै । बाहिर आए जस्तो अवस्था होइन । छलफल अघि बढाउनु पर्छ भन्नेमा हामी सबै अडिग छौं । छलफल र बहसबाट निकास निस्किन्छ ।’

दाहाललाई पार्टी एकतामा अड्ने हो भने यो आरोप-पत्र फिर्ता लिएर माफी माग्नुपर्ने प्रधानमन्त्रीको धम्कीपूर्ण भाषापछि बैठकले फरक मोड लिएको अर्का सदस्यले बताए । ओलीले लगातार बोल्न थालेपछि पार्टी प्रवक्ता श्रेष्ठले ओलीलाई रोक्दै प्रश्न गरे ‘बैठकमा तपाईं मात्र बोल्ने हो र?’ उनले अर्का अध्यक्ष दाहाल र अरु सदस्यका पनि धारणा सुन्नुपर्छ कि पर्दैन भनी आक्रोश पोखेका थिए । ‘के सँधै तपाईकै कुरा सुन्न मात्र आउने हो, हामी ? तपाईं शासक हामी रैती हो, यहाँ हामी अरुको सुन्नु पर्दैन ?’ ओलीप्रति श्रेष्ठ निकै कड्किएका थिए ।

ओली पक्षमा देखिएका थापाले समेत प्रस्ताव आइसकेपछि तलसम्म बहसमा लैजानुपर्ने धारणा राखेपछि ओली झस्किए

प्रधानमन्त्री ओलीले महाधिवेशन पछाडि लागू हुने विषय तत्काल स्वीकार गर्न नसकिने अडान पनि लिएका थिए । सचिवालय सदस्यहरूले ओलीको त्यो आक्रोशित रुप देखेपछि टिप्पणी गर्दै भने, ‘हामीलाई उत्तेजित गराएर तपाईं पार्टी फोर्न चाहनुहुन्छ । हामी निकै संयमित रहेर कुरा गरिरहेका छौं भने उत्तिकै गम्भीर पनि छौं ।’ दाहालले सदस्यहरूलाई शान्त र संयमित भएर बोल्न सुझाएका थिए । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समस्याको जड अध्यक्ष ओली र उनको गुट भएको धारणा राख्दै प्रस्तावहरू स्थायी समितिमा बहसमा लैजानुपर्ने भनाइ राखेका थिए ।

बैठकमा अरु सदस्यहरूले धेरै बोलेनन् । ओली पक्षमा देखिएका थापाले समेत प्रस्ताव आइसकेपछि तलसम्म बहसमा लैजानुपर्ने धारणा राखेपछि ओली झस्किएका छन् । उनको भनाई थियो, ‘प्रस्तावमा छलफल शुरु भइसकेको छ, अब किन रोक्ने ? बहस गर्दै जाऔं । प्रस्तावमाथि छलफलमा किन डराउने ? समाधानको पाटोमा सही निश्कर्ष निकाल्नुपर्र्छ ।’ उनको फेरिएको धारणाछि अरु सदस्यहरू अचम्मित भएका थिए ।

थापाको भनाइपछि ओलीले भनेको सुनाउँदै एक सदस्यले भने, ‘अध्यक्ष दाहाललाई जे मन लाग्यो त्यही बोल्न पाउने हो र ?’ दाहालले पनि सबै यहाँले भनेको सही भनिदिए ठीक हुने अन्यथा बेठीक हुने भन्दै ओलीलाई यो कुन तरिका हो भन्दै प्रतिप्रश्न गरेका थिए । उनले त्यो सँगै ओलीलाई आफ्नो ‘मुख’ लाई ठीक राख्नुहोस् भनेपछि स्थिति थप ‘तनावपूर्ण’ बनेको थियो ।

उपाध्यक्ष गौतमले पनि प्रस्ताव अघि बढिसकेकाले रोकिने अवस्थामा नरहेको बताए । उने भने, ‘छलफलमा गइसक्यो, अब छलफल गरेर निकास दिने हो ।’ उनले धेरै चाहिँ बोलेनन् । ओली लगातार बोल्ने र दाहाललाई रोक्ने गर्न थालेपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष गौतम पनि ओलीसँग आक्रोशित भएका थिए । दाहालको प्रस्तावमा छलफल गर्न नदिने योजना ओलीको देखिन्छ । तर दाहाल-नेपाल समूह तल्लो तहसम्म बहसमा लैजाने तयारीमा देखिन्छन् । उक्त समूहलाई थापाले पनि साथ दिन सक्ने देखिएपछि ओली निकै सशंकित बनेका छन् ।

सँधै कड्किने अर्का सदस्य ईश्वर पोखरेल पनि मंगलबारको बैठकमा प्रस्तावमाथि छलफल अघि बढाउनु पर्नेमै देखिए

दाहालले ओलीको प्रतिवाद गर्दै सबैको धारणा माग गरेको र अन्यले पनि सचिवालयमा छलफल गरेर यो विषय तलसम्म लैजाने भनेपछि बैठक सरेको हो । बरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतममा होइन पौडेल बाहेक सबैले छलफल शुरु भइसकेकाले रोक्ने वा लैजाने भन्ने कुरा नरहेको बताएका थिए । सार्वजनिक भएका यस्ता ‘डकुमेन्ट’ रोकेर के गर्न खोजेको भन्दै ओलीलाई ‘दम्भ’ त्यागेर सहमति र छलफलमा सामेल हुन आग्रह गरेका थिए ।

सँधै कड्किने अर्का सदस्य ईश्वर पोखरेल पनि मंगलबारको बैठकमा प्रस्तावमाथि छलफल अघि बढाउनु पर्नेमै देखिएका थिए । उनको भनाइ थियो, ‘यसरी प्रस्ताव नआएको भए ठीकै हुन्थ्यो । अब आएपछि छलफल गरेर दुवै अध्यक्षको धारणासहित अघि बढ्नु राम्रो हुन्छ ।’ ओलीले बैठक सार्न खोजेको भए पनि नेपाल र खनाल लगायत सदस्यले दुई अध्यक्ष र महासचिवले बैठक सारेपनि सचिवालयका बहुमत सदस्यले बैठक राख्ने बताए पछि बुधबार एक बजे बैठक तय भएको अर्का सदस्यले भने ।-ईकागज

प्रकाशित : २०७७ मंसिर १७ गते ११:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI