No ads found for this position

कोरोना कहर , मन्त्रीनै गैरजिम्मेवार

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते ८:२९
No ads found for this position
कोरोना कहर , मन्त्रीनै गैरजिम्मेवार
No ads found for this position

कोरोना संक्रमणले आतंक मच्चाएपछि सरकारले भिडभाड नगर्न र सामाजिक दुरी कायम गर्न बेला बेलामा अनुरोध गर्दै आएको छ । त्यसो त स्थानीय प्रसाशनले पनि माथिको निर्देशन भन्दै मास्क प्रयोग र सामाजिक दूरीका सवालमा चासो दिने गर्दछ । तर सरकारकै मन्त्रीहरु कोरोना त्रास फैलाउँदै हिँडिरहेका छन् । यस्तो विषम र जटिल अवस्थामा समेत उनिहरुलाई उद्घाटन र शिलान्यासमा भ्याइनभ्याई छ ।

केही समयअघि कोरोना संक्रमित भएर निको भएका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी आइतबार प्राविधिक शिक्षा उद्घाटन गर्न दलबलसहित रोल्पाको जेल्वाङ पुगे । उनको स्वागतमा जेल्वाङीहरुले निकै मेहनत गरे । स्थानीय र विद्याथी सामाजिक दूरी त परै जाओस् मास्कको समेत अभावमा मन्त्रीअगाडि भीड देखाउन उपस्थित भए । सम्भवत उनी नगएको भए पनि त्यहाँ पठनपाठन रोकिने अवस्था थिएन ।

उता सोमबार ऊर्जामन्त्री बर्षमान पुन हवाई मार्ग प्रयोग गरेर जिल्लाका विभिन्न स्थानमा उद्घाटन र शिलान्यासमा सहभागी भए । उनको उपस्थिति रहेका हरेक कार्यक्रममा सरकारले कोरानाबाट बच्न भनेका कुनै पनि मापदण्ड पूरा गरिएन । ऊर्जामन्त्री पुन विद्युतको सबस्टेसन र स्थानीय तहमा बन्ने अस्पतालको उद्घाटन, शिलान्यास गर्न हेलिकोप्टरको बाटोबाट चार स्थानमा पुगेका थिए । स्थानीयका अनुसार मन्त्रीको उपस्थितिबिना नै सम्पन्न हुनसक्ने ती कार्यक्रममा जबरजस्त भीड जम्मा गरिनुको कारण खोजी हुनु जरुरी छ ।

सरकार पक्षमात्र होइन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि भिडभाडवाला कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । केही दिनअघि रोल्पाको होलेरीमा विरोध कार्यक्रम गरेको कांग्रेसले आइतबार गाउँपालिकाको कार्यशैलीको विरोध गर्दै माडी गाउँपालिकाको घर्तीगाउँमा जमघटका साथ पत्रकार सम्मेलन पनि सकाएको छ ।

स्थानीय प्रसाशनले रोल्पामा गर्न थालिएको धार्मिक कुल पुजा रोक्न अनेक उपाय अपनाए पनि मन्त्री सहभागी हरेक कार्यक्रममा आफ्नो गतिलो सहभागिता जनाएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु स्कटिङ र स्वागतका लागि दलबलसहित मन्त्रीको अघिपछि दौडिन व्यस्त देखिन्थे । कोरोना संक्रमण न्यूनीकरणका उपायमा ध्यान केन्द्रित नगरेको राज्यका जिम्मेवार नेतृत्व ठूलो धनराशि खर्च गर्दै उद्घाटन र शिलान्यासमा हवाईमार्ग र स्थलमार्गबाट हिँडिरहदा नागरिक समाजले सहज रुपमा भने लिएको छैन ।

‘नेतृत्वमा संवेदनशीलता देखिएन । शिलान्यास र उद्घाटन त स्थानिय तह आफंैले गर्न सक्थे । विकल्प अरु पनि थिए,’ पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने भन्छन् । ‘मन्त्रीले नै जोखिम बढाएका छन् ।’ उनका अनुसार जिल्लामा आइसोलेसन छैन । मन्त्रीको यसपालिको भ्रमण खर्चले एउटा स्थानीय तहमा आइसोलेसन बन्न सक्ने थियो । पत्रकार महासंघका अध्यक्ष न्यौपाने जस्तै महिला अधिकारकर्मी श्रीकुमारी रोका भन्छीन ‘यो तामझाम जरुरी थिएन । कोरोना ठूलाबडाबाट सर्दैन वा हामीले सारे पनि असर पर्दैन भन्ने बुझाइ छ ।’ उनी भन्छिन्, ‘यो यात्राले राज्यको ढुकुटीमा कति खर्च भयो नागरिकलाई कति भार पर्छ भन्ने ध्यान दिइएको छैन ।’ उनले उद्घाटन र शिलान्यास गर्न आउँदा मन्त्रलिे गरेको खर्चले कतै आइसोलेसन तयार गर्न पनि सकिने बताइन् ।

प्रकाशित : २०७७ मंसिर १७ गते ८:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI