‘गैंडा नजोगिए ब्रोइलरको फार्म हेर्न चितवन को आउँछ ?’

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १६ गते १६:५९
‘गैंडा नजोगिए ब्रोइलरको फार्म हेर्न चितवन को आउँछ ?’

चितवन — प्राकृतिक कारण, दुर्घटनाका साथै चोरी सिकारीले पनि गैंडा मर्ने क्रम बढ्न थालेपछि संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति चितवन आएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार निकुञ्ज मुख्यालय कसरामा निकुञ्जका अधिकारी र सेनाका गणपतिसँग गैंडा मर्नुको कारण र अवस्थाबारे जानकारी लियो । सोमबार सौराहामा स्थानीय सरोकारवालसँग छलफल गर्‍यो ।

‘गैंडा मर्ने अवस्था डरलाग्दो देखिन थाल्यो । संख्या मात्रै हेरेर र गनेर बस्न भएन । समितिले यसलाई गम्भीरताका साथ लिएको छ । समस्याको कारण खोतल्न, उपाय पत्ता लगाउन फिल्डमै आएका हौं । यसपछि हामी प्रतिवेदन लेख्छौं । सरकारलाई सुझाव र निर्देशन दिन्छौं,’ समितिका सभापति पूर्णकुमारी सुवेदीले भनिन् । संसदीय समितिको सफारिसका आधारमा सरकारले संरक्षणका लागि पाइला चाल्ने विश्वास उनको छ ।

यो आर्थिक वर्षको साउनयता मंसिर १३ सम्म चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा १६ वटा गैंडा मृत फेला परेका छन् । तीमध्ये चारवटा गैंडालाई तस्करहरुले खागका लागि मारेको निकुञ्ज कार्यालयले जनाएको छ । पछिल्ला वर्षमा तस्करहरुले गैंडा मार्ने क्रम सुस्ताए पनि अन्य कारणले मर्ने क्रम बढ्दो थियो । यो वर्ष चोरी सिकार पनि सुरु भएका कारण संरक्षणकर्मीहरु चिन्तित बनेका हुन् ।

‘कोरोनाको यस्तो महामारीको बेलामा पनि भेला गर्नु पर्ने अवस्था आयो । किन दौडेर आउनु पर्‍यो भन्दा चितवन निकुञ्जमा दिन प्रतिदिन प्राकृतिक वा अन्य कारणले गैंडा मर्न थाले । यसो किन भयो भन्ने चासो नै हाम्रो हो’, समितिका सदस्य राजबहादुर बुढा क्षेत्रीले भने । ०७०/७१ सालयता १५६ वटा गैंडा मरेको सुन्दा झसङ भएको उनले बताए । गैंडाजस्ता दुर्लभ वन्यजन्तु जोगाउन चितवन र सिंगो देश चिन्तित हुनु पर्ने उनले बताए ।

प्रकाशित : २०७७ मंसिर १६ गते १६:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI