राजतन्त्रको पक्षमा दैनिक प्रदर्शन हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १६ गते ८:१३
राजतन्त्रको पक्षमा दैनिक प्रदर्शन हुँदै

काठमाडौं, मंसिर १६ । सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ । गणतन्त्रविरुद्ध अहिले सडकमा कडा नारा घन्कन थालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सडकभरि लाग्न थालेको केही समययता दलीय राजनीतिप्रति वितृष्णा पैदा गर्ने क्रम तीव्ररुपमा हुन थालेको छ । सोमबार सक्रिय राजतन्त्रको माग गर्दै माइतीघर मण्डलामा राजावादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको ¥यालीमा सयौंको उपस्थिति रहेको थियो ।

राजतन्त्र र हिन्दूराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा उपत्यका र वरपरका जिल्लाका युवाहरु सहभागी थिए । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका राजावादीले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।

राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरसहित मण्डलामा भेला भएका अधिकांशले धर्मनिरपेक्षताका विरुद्ध नाराबाजी गरेका थिए । विभिन्न स्थानमा भेला भएर महाइतीघर आएका उनीहरुले प्रदर्शनलाई निरन्तरता दिने उद्घोष गरेका छन् ।

दुई तिहाइको नेकपाको सरकारबीच द्वन्द्व चलेको फाइदा उठाउँदै राजावादीको नाममा प्रदर्शन गर्न थालेपछि सरकारमाथि दबाब बढेको छ । ललितपुरको पुल्चोकमा भेला भएका राजवादीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

सरकारको कडा सुरक्षा घेराभित्र रहेको मण्डलामा प्रदर्शन हुँदा राजधानीको सवारी केहीबेर अस्तव्यस्त भएको थियो । प्रहरीले भित्री सडक र करिडोर प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको थियो ।

मंसिर २० गते गर्ने बृहत् प्रदर्शनीको तयारी स्वरुप यो प्रदर्शन गरिएको राजावादीहरुले दाबी गरेका छन् । पछिल्लो समय देशका प्रमुख शहरमा राजावादीले प्रदर्शन गरिसकेका छन् । यसअघि रौतहट, नेपालगन्ज, बर्दिया, धनगढी, पोखरा, हेटौंडा, बुटवल, नवलपुर लगायत दुई दर्जनभन्दा बढी ठूला शहरमा प्रदर्शन गरिसकेका छन् ।

लामो समय चुप लागेर बसेका पूर्वराजा ज्ञानेन्द्रलाई उकास्न राजावादीको नाममा विभिन्न संगठनले प्रदर्शन गरिरहेको सरकारको अड्कल छ ।

प्रकाशित : २०७७ मंसिर १६ गते ८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI