ब्युनस आयर्स — डिएगो म्याराडोना फुटबलका जादुगर नै थिए । बलमाथि उनको नियन्त्रण र गति गज्जब थियो । पास एकसेएक निकाल्थे । विश्व फुटबलले पाएका सर्वकालीन महान् खेलाडीमध्ये उनी एक हुन् ।
तिनै फुटबलका महान् हस्तीको निधन भएको छ, आफ्नो ६० औं जन्मदिन मनाएको एक महिनाजति पछाडि । बलसँगै उनलाई देवता जस्तै मानियो, तर उनीभित्र रहेको दानवत्वले उनलाई परास्त पनि पार्यो ।
ब्युनस आयर्सको आफ्नो घरमा हृदयाघातको सिकार भएपछि म्याराडोनाको निधन भएको हो । ब्युनस आयर्सको झुपडी बस्तीबाट हुर्किएका म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप उपाधि नै दिलाए । फुटबलका लागि पागल हुने अर्जेन्टिनीबीच वास्तवमै उनी महान् हस्ती हुन् । उनलाई अर्जेन्टिनाकै चे ग्वेभारा र इभाटा पेरनको समकक्षमा राखेर हेरिन्छ । उनको खेलजीवनको उत्कर्षमा रह्यो, सन् १९८६ को विश्वकप सफलता । अर्जेन्टिनाले त्यतिबेला उनकै नेतृत्वमा खेलेको थियो ।
ब्युनस आयर्सस्थित सांस्कृतिक केन्द्रमा राखिएको म्याराडोनाको तस्बिर फोटो : रोयटर्स
सन् १९९४ को विश्वकप आइपुग्दा उनी प्रतियोगिताबाटै निष्कासनमा परे । कारण थियो, प्रतिबन्धित औषधिको प्रयोग । म्याराडोनाले लामो समय लागूपदार्थ सेवनमै बिताए । धेरै खानुपर्ने र रक्सी बार्न नसक्ने कारणले उनको खेलजीवन पनि एकैनास सुमधुर रहेन । कोकिन प्रयोगकै कारण उनी सन् २००० मै लगभग मृत्युको मुखमा पुगेका थिए, तर धन्न बाँचेर आए । त्यतिबेला पनि उनको मुटुमा गम्भीर समस्या देखिएको थियो । सन् २००८ मा भने उनको गज्जब पुनरागमन रह्यो । सन् २००८ को विश्वकपमा अर्जेन्टिनी टिमको प्रशिक्षकका रूपमा । प्रशिक्षणमा उनको खासै अनुभव थिएन । तर, उनले अर्जेन्टिनालाई राम्रो प्रदर्शनका लागि प्रेरित गरिरहे । विश्व फुटबलका सबैभन्दा ठूला खेलाडी म्याराडोना हुन् कि पेले त ? यसबारे कहिल्यै नसकिने विवाद चलिरहन्छ । तर उनलाई अर्जेन्टिनामा साँच्चै देवता जसरी पूजा गरिन्छ । म्याराडोनालाई भनिन्छ पनि ‘द गड’ ।
१० नम्बर जर्सीलाई प्रख्यात बनाउनेमध्ये एक म्याराडोनालाई सन् १९८६ को विश्वकपमा सफलता दिलाउन सबैभन्दा मुख्य जिम्मेवार मानिन्छ । त्यसै विश्वकपमा त हो, उनले इंग्ल्यान्डविरुद्धको क्वाटरफाइनल खेलमा दुई गोल गरेको । यसमध्ये एक कुख्यात रह्यो, हातले गरेको पहिलो गोल । अर्को प्रख्यात गोल रह्यो, यसलाई शताब्दीकै सबैभन्दा उत्कृष्ट गोल मानिन्छ । त्यो खेलमा अर्जेन्टिनालाई २–१ ले विजयी रह्यो । सन् १९६० को अक्टोबर ३० मा जन्मेका म्याराडोना ब्युनस आयर्सको लुनुसको कामदार परिवारका थिए । उनी कारखानामा काम गर्ने मजदुरका आठ सन्तानमध्ये पाँचौं थिए । म्याराडोना हुर्केबढेको भने भिल्ला फोरिटोमा हो । उनकी आमाको नाम डाल्मा थियो, उनलाई म्याराडोनाका प्रशंसक ‘डोना टोटा’ भन्ने गर्छन् । उनकी आमा चाहन्छिन्, छोरा सफल लेखापाल बनोस् । तर म्याराडोनाको मन सुरुदेखि नै खाली फुटबलमा मात्र थियो ।
सानोमा उनलाई बल उपहारका रूपमा दिइएको थियो, उनी त्यसैलाई सिरानी बनाएर सुत्थे । पहिलो डिभिजन क्लब अर्जेन्टिनोस जुनियरको स्काउटले उनलाई सडकमा खेल्दै गरेका बेला पहिलोपल्ट देखेको थियो । उनले १५ वर्ष हुँदासम्म त्यही लिगमा डेब्युसमेत गरिसकेका थिए । सन् १९७८ मा अर्जेन्टिनाले आफ्नै देशमा भएको विश्वकप जितेको थियो । उनी त्यतिबेला १७ वर्षका थिए । अन्तिम समयमा उनी टिममा परेका थिएनन् ।
सन् १९८२ मा स्पेनमा विश्वकप आयोजना हुँदा उनी ब्राजिलविरुद्धको खेलमा रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहेका थिए । त्यसबीच उनले दुई वर्ष बार्सिलोनामा बिताए । यो उनका लागि सुखद समय थिएन । उनलाई चोटले पनि सताइरह्यो । सन् १९८४ मा उनी इटालीको नेपोली पुगे । त्यसपछि उनको चमत्कार नै सुरु भयो । त्यतिबेलाको कीर्तिमान ७५ लाख डलर मूल्यमा उनलाई नेपोलीले किनेको थियो ।
‘अन्डर डग’ रहेको नेपोलीलाई उनले दुईपल्ट सिरी ‘ए’ को उपाधि दिलाए । यसैक्रममा हो उनले धेरैभन्दा धेरै आफ्ना प्रशंसक कमाएको । त्यसपछि सन् १९८६ को विश्वकप आइहाल्यो । त्यसको चार वर्षपछि सन् १९९० मा पनि अर्जेन्टिना फाइनल त पुग्यो, तर पराजित रह्यो । सन् १९९१ पछि त उनको खेलजीवनले ओरोलो बाटो समातेको थियो, जतिबेला उनीमाथि लागूपदार्थ र रक्सी सेवन हाबी हुन थालेको थियो ।
त्यही वर्ष उनी १५ वर्षको प्रतिबन्धमा परे, प्रतिबन्धित औषधि प्रयोगका लागि । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपकै बेला उनी फेरि ‘डोपिङ’ मा परे । पुनः १५ महिनाको प्रतिबन्धमा परे । उनीमात्र ५ फिट ४ इन्चका थिए, उनको घुम्रिएको कालो कपाल खुबै प्रख्यात रह्यो । उनी पत्रकार र आफ्ना आलोचकसँग लगातार झगडा गरिरहन्थे । उनी जति बाँचे, यसबीच उनको महानता पनि बाहिर आइरह्यो ।अनि कमजोरी पनि । आफ्नैबारे किताब लेखे, केही टेलिभिजन कार्यक्रम चलाए । उनी भन्थे, ‘फुटबल विश्वकै सबैभन्दा सुन्दर र स्वास्थ्यबर्द्धक खेल हो । मैले जे जति भुल गरें, त्यसका लागि फुटबललाई दोष नदिए हुन्छ । यसमा बलको कुनै दोष छैन ।’
इटालीको नेपल्समा राखिएको म्याराडोनाको तस्बिर
सन् १९९७ मा उनले व्यावसायिक फुटबलबाट संन्यास लिए । केही अवसरमा मृत्युको मुखनिर पुगे । सन् २००० उनी लागूपदार्थको कुलतबाट छुटाउन उपचारमा पनि लागे ।
सन् २०००–२००५ बीच बेला–बेलामा क्युबामा पनि रहे । त्यहाँका राष्ट्रपति फिडेल क्यास्ट्रोको हेलमेलमा रहे । उनको शरीरमा दुई ट्याटु खोपिएका छन् । पहिलो खुट्टामा छ । यो तिनै क्युबाली राजनीतिक नेताको रहेको छ । अर्को ट्याटु भने आफ्नै देशका क्रान्तिकारी राजनीतिज्ञ चेको हो । मैदानबाहिरको गतिविधिका कारण उनी सधैं विवादमा रहे । त्यसैकारण मैदानभित्रको उनको महानता ओझेलमा पर्न थालेको थियो ।-रोयटर्स
Facebook Comment