प्युठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुलीमा खस्यो, तीनजना बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ११ गते ८:५७
प्युठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुलीमा खस्यो, तीनजना बेपत्ता

प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खसेको छ । बिहान साढे ५ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको नागदी खोला भन्ने स्थानको सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार लु १ च ९७३१ नम्बरको पिकअप भ्यानमा  चालक सहित दुई पुरुष र दुई महिला गरी चार जना सवार थिए । चार मध्ये तीन जना बेपत्ता भएको प्रहरी प्रवक्ता सुर्य थापाले जानकारी दिए ।

प्युठानका ३८ वर्षीय  मुकुन्द बहादुर रोक्का भने नदीबाट पौडिएर बाहिर आएको थापाले बताए । उनकी श्रीमती  ३३ वर्षीया जमुना रोक्का, उनकी १५ वर्षीया छोरी जिनिसा रोक्का  र भ्यान चालक  प्युठान झिम्रुक गा.पा. १ बस्ने २३ वर्षीय सुर्य के.सी बेपत्ता छन् ।

मुकुन्द दम्पति छोरी जिनीसाको उपचारको लागि काठमाडौं जाँदै थिए । पौडिएर बाँच्न सफल मकुन्द घाइते अवस्थामा रहेको र उनको अहिले चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

त्रिशुली नदीमा खसेको पिकअप भ्यान नदीमा पुरै डुबेको  छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको छ ।

प्रकाशित : २०७७ मंसिर ११ गते ८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI