आज देखि कक्षा १२ को परीक्षा सुरु : नवलपुरमा मात्रै ६ हजार ८ सय १३ विद्यार्थी सहभागी हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ९ गते ७:४५
आज देखि  कक्षा १२ को परीक्षा सुरु  :  नवलपुरमा मात्रै ६ हजार ८ सय १३ विद्यार्थी सहभागी हुँदै

कावासोती । कोभिड–१९ कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।

परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ ।

नवलपुरमा ६ हजार ८ सय १३ विद्यार्थी सहभागी हुँदै

शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार नवलपुरबाट ६० वटा विद्यालयका ६ हजार ८१३ जना विद्यार्थीहरुले परीक्षा दिँदै छन् । जसमा नियमित तर्फ ४ हजार ९०९ र ग्रेडबृद्धितर्फ १ हजार ९०४ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

पोखरेलका अनुसार परीक्षार्थी पढेकै विद्यालयमा केन्द्र निर्धारण गरिएकोले यस पटक ६० वटा केन्द्र नै रहेकाछन् । सम्वन्धित विद्यालयको प्रधानाध्यापक वा क्याम्पस प्रमुख नै केन्द्राध्यक्ष तोकिएको र प्रति २० जना परीक्षार्थी बरावर एक जना निरीक्षकको व्यबस्था गरिएको छ ।

मंगलबार बिहान ८ बजेबाट सुरु भएर ९ बजेर ३० मिनेटमा सकिने परीक्षालाई मर्यादित गराउन सम्वन्धित सरोकारवालाहरुलाई पोखरेलले अनुरोध गर्नुभएको छ । स्वास्थ्य एवम सुरक्षाका मापदण्डको पालना सहित परीक्षा हुने भएको छ । कोरोना संक्रमित विद्यार्थीहरुलाई भने छुट्टै परीक्षाको व्यवस्था गरिएको छ ।

 

प्रकाशित : २०७७ मंसिर ९ गते ७:४५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI