अम्ब्रेला स्ट्रीट : चितवनमा घुम्नैपर्ने गन्तव्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ९ गते ७:२२
अम्ब्रेला स्ट्रीट : चितवनमा घुम्नैपर्ने गन्तव्य
लेखराम सापकोटा/भरतपुर, ९ मंसिर ।
भरतपुरको चौबीसकोठीबाट २० किलोमिटर दक्षिणमा छ – `अम्ब्रेला स्ट्रीट´ । कुल ५२० वटा सप्तरंगी छाताहरूलाई सजाएर  बनाइएको एउटा लामो टहरोलाई अङ्ग्रेजीमा नामाकरण गरिए पनि हिजोआज कसैकसैले नेपाली नामाकरण गरेर छातागल्ली भन्ने गरेका छन् ।
चितवन जिल्लामा घुम्नैपर्ने थुप्रै गन्तव्यहरू मध्ये अम्ब्रेला स्ट्रीटलाई पनि महत्त्वपूर्ण गन्तव्यका रूपमा लिने गरिएको छ । यहि ठाउँमा दशैं, तिहारजस्ता प्रमुख पर्वहरूको बिदामा थुप्रै मानिसहरूको चहलपहल देखिएको छ ।
भरतपुर- २२ पटीहानी, घडगाईमा अवस्थित यो गन्तव्य राप्ती किनारमा छ । यहाँबाट राप्ती नदीसँगै चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य हेर्न सकिन्छ । निकुञ्जबाट निस्केर पानी पिउन र आहाल बस्न आउने गैंडा अनि नदीबाट निस्केर किनारमा घाम ताप्दै गरेको गोहीले पर्यटकहरूलाई लोभ्याउँछ । यहाँबाट सूर्यास्तको दृश्य अझै लोभलाग्दो देखिन्छ । अम्ब्रेला स्ट्रीट घुम्न आएकाहरू साँझसम्मै बसेर सूर्यास्तको रोमाञ्चक दृश्य हेर्न पर्खिरहेका हुन्छन् ।
सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्येको महत्वपूर्ण गन्तव्य पनि हो यो क्षेत्र । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारको घडगाईमा ६ कठ्ठा जग्गामा २ करोड ५० लाखको लागतमा यसको निर्माण गरिएको हो । सडकखण्डबाट राप्ती किनारतर्फ १२० मिटर लामो सडक निर्माण गरी त्यसमाथि फाइबरका ५२० वटा सप्तरंगी छाताहरू राखिएको छ । छातामुनीबाट पर्यटकहरू हिँड्न तथा बस्न मिल्ने भएकोले पनि यसको नाम ‘अम्ब्रेला स्ट्रीट’ राखिएको हो ।
पर्यटकको सुविधाका लागि यहांँ दृश्यावलोकन केन्द्र, रेष्टुरेन्ट, डेटिङ प्वाइन्ट, सेल्फीगेट, पार्किङ, महिला तथा अपाङ्गमैत्री शौचालय रहेका छन् । वडाध्यक्ष बिष्णुराज महतो मरिसस भ्रमणका क्रममा पर्यटकलाई आकर्षण गर्नेगरी त्यहाँ निर्माण गरिएका संरचना देखेकोले त्यस्तै प्रकारको गल्ली निर्माण गर्ने चाहना अनुसार यो भवन बनाइएको हो । भ्रमणमा आएकाहरूले १५ मिनेटको समयमा नै यो क्षेत्रको घुमघाम सक्ने हुनाले यसको महत्त्व र पर्यटकको आकर्षण बढाउन अरु चिजहरू पनि थप्नुपर्ने स्थानीय अपिल घिमिरेको सुझाव छ । घिमिरे राप्ती तटिय क्षेत्र सरसफाइ अभियानका संयोजक हुन् । यस क्षेत्रलाई सफासुग्घर राख्न उनको टोली निरन्तर क्रियाशील छ । यो क्षेत्रलाई निरन्तर सफा राख्न सके पर्यटकहरूलाई लोभ्याउँदै आकर्षण गर्न सकिने उनी बताउँछन् ।

राप्तीमा पोखियो लोभलाग्दो सूर्यास्त

नारायणगढबाट छोराछोरी लिएर `अम्ब्रेला स्ट्रीट´ घुमघाम गर्न पुगेका नारायण अर्याल राप्ती किनारमा छोराछोरीसँगै फोटो र भिडियो खिच्न व्यस्त थिए । सप्तरंगी छाताहरूलाई पृष्ठभुमिमा राखेर फोटो भिडियो बनाइसकेपछी थोरै मुन्तिर राप्ती किनारमा उभिएर छोराछोरीसँगै थप फोटो भिडियो बनाउन व्यस्त अर्यालले पश्चिमपट्टी कोल्टिँदै गरेको घामलाई बेलाबेलामा नियालीरहेका थिए । अर्याल दोस्रोपटक यहाँ आएका हुन् । `छोराछोरीको इच्छा अनुसार उनीहरूलाई घुमाउन ल्याएको हुँ´ घडी हेर्दै अर्यालले भने- `अब सूर्यास्त हेरेर फर्किने हो ।´
अर्यालजस्तै थुप्रै आन्तरिक पर्यटकहरू छातागल्लीको किनारमा उभिएर डुब्दै गरेको घामलाई पर्खिरहेका देखिन्थे । डुब्ने बेलाको घामको किरण राप्तीमा पोखिएको दृश्य लोभलाग्दो देखिन्थ्यो । सूर्यास्त हेर्न आएकाहरू त्यही सुन्दरतालाई पृष्ठभुमिमा राख्दै फोटो खिच्छन् अनि टिकटकको लागि भिडियो बनाउँछन् । निकुञ्जबाट बेलाबेलामा निस्कने गैंडा र राप्ती किनारमा टहल्ने गोहीले पनि पर्यटकहरूलाई लोभ्याउँछ ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सरकारले देशभरका एक सय पर्यटकीय गन्तव्यहरूको सुची निकाल्यो । तिनै मध्येको एक महत्वपूर्ण गन्तव्य हो पटीहानी । कोभिड महामारीका कारण पर्यटन वर्ष रद्द भयो । मुलुकभरका सम्पूर्ण पर्यटन गतिविधि ठप्प भए । चितवनको पर्यटन गतिविधि पनि ठप्पै रहयो । दशैंदेखि भने चितवनको जनजीवन सामान्य बनेको छ । आन्तरिक पर्यटनलाई चहलपहल गराउन यहाँका सौराहा, गोलाघाट, सिराइचुलीसँगै पटीहानीको प्रसिद्ध अम्ब्रेला स्ट्रीटमा पनि गतिविधि बढ्न थालेको छ । दशैंबाट अलिअलि चहलपहल हुन थालेको यहाँ तिहारको छेकोमा पनि मानिसको उपस्थिति देखिएको छ । तिहारकै दिन र भोलिपल्ट पनि मान्छेको उल्लेख्य उपस्थिति यहाँ देखियो । `हिजोआज दिनहुँ सयौंको संख्यामा मानिसहरू यहाँ आउने गरेका छन्´ राप्ती नदी तटीय सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले भने- `अम्ब्रेला स्ट्रीटमा आएर फोटो खिच्ने अनि सूर्यास्त पनि हेर्ने आम आगन्तुकको रुचि देखिएको छ ।´.
राप्ती किनारमा अवस्थित फाइबरका सप्तरंगी छाताहरू सजाइएको टहराको मुनीबाट हिँड्दा आगन्तुकहरू खुसी हुन्छन् । त्यही खुसीसँगै फोटो र भिडियो खिच्छन्, रमाउँछन् । पर्यटकहरू हिँड्न तथा बस्न मिल्ने भएकोले पनि यसको नाम ‘अम्ब्रेला स्ट्रीट’ राखिएको हो ।
यहाँ घुम्न आउनेहरू जिल्लाभित्रकै छन् । छिमेकी जिल्ला नवलपरासीबाट पनि फाट्टफुट्ट मानिसहरू आएका छन् । कोरोना संक्रमणको डर अझै पनि उत्तिकै भएकोले बाहिरी जिल्लाबाट आगन्तुकहरू आएका छैनन् । पटीहानीमा घुम्न आउनेहरूलाई यहाँ बसोबासको लागि होमस्टेसँगै होटेलहरू पनि छन् । दिनभरी बसेर सूर्यास्त पर्खनेहरूलाई यहाँको प्याकेज थोरै छ । थारू बाहुल्य यस क्षेत्रमा संग्रहालयसहित भ्रमणको लागि अन्य गन्तव्यहरूको व्यवस्था हुनु जरुरी पनि छ । कृष्णपुरबाट परिवारसहित आएका गुणराज दाहालले सूर्यास्तको दृश्य लोभलाग्दो रहेकोे प्रतिक्रिया दिए । पटीहानी घुम्न आउनेहरूलाई दिनभरी नै भुलाउन मिल्ने किसिमको र्‍याफ्टिङ र सफारी लगायतका प्याकेज हुनुपर्ने सुझाव दिए । भाइटीकाकै दिन सूर्यास्त हेर्न गैंडाकोटबाट पटीहानी पुगेका तेजेन्द्र राना पनि यहाँको चहलपहल देखेर दङ्ग परे । `सामाजिक सञ्जाल र अनलाइनमा अम्ब्रेला स्ट्रीटको चर्चा धेरै सुनेर यहाँ आएको हुँ´, रानाले भने- `साथीभाइ र परिवारसहित आउँदा रमाइलो हुने ठाउँ रहेछ ।´
चितवनमा सूर्यास्तको लोभलाग्दो दृश्य अवलोकन गर्न सौराहा, गोलाघाट, नारायणी किनारसँगै हिजोआज पटीहानीस्थित घडगाईमा रहेको यो छातागल्ली पनि धेरैको रोजाइमा छ ।
प्रकाशित : २०७७ मंसिर ९ गते ७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI