बढी कर तिर्नेमा सूर्य नेपाल र विजय शाह

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ८ गते ८:४८
बढी कर तिर्नेमा सूर्य नेपाल र विजय शाह

काठमाडौँ — आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । विभागले ९औं राष्ट्रिय कर दिवसको अवसर पारेर आइतबार सबैभन्दा बढी कर बुझाउने करदाताहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा आव ०७५/०७६ को आय विवरणका आधारमा सबैभन्दा बढी आयकर तिर्ने र आव ०७६/०७७ मा उत्कृष्ट कर सहभागिता जनाई मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने करदाता छन् । सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ ।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाह सम्मानित भएका छन् । ०७५/०७६ मा निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने डाबर नेपाल प्रालि र सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड सम्मानित भएका छन् । यस्तै विभागले कृषि एवं पशुपन्छीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र बैंक वित्तीय संस्थामा नबिल बैंक लिमिटेड सम्मान गरेको छ । बिमा व्यवसायमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, शिक्षा सेवामा मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालि, विप्रेषणको कारोबार गर्नेमा आईएमई लिमिटेड र व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड प्रालि सम्मानित भएका छन् । पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रमा कामना सेवा विकास बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यालयहरूको कार्य क्षेत्रमा भीएफ सर्भिसेज (मोरिसस) प्रालि र मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इन्डस्ट्री प्रालिलाई सम्मान गरिएको छ ।

विभागले कानुनी व्यवस्थासहित आयकरको सुरुवात भएको छ दशक र भ्याट सुरु भएको दुई दशक पूरा भएको अवसर पारेर करदाताहरूलाई सम्मान गर्ने गरेको छ । विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कोभिड–१९ का कारणले यो वर्ष भर्चुअल प्रणालीमार्फत आन्तरिक कार्यालयहरू र करदाता सेवा कार्यालयहरूले राष्ट्रिय कर दिवस मनाएको बताए । साथै विभागले मंसिर १ गतेदेखि ७ गतेसम्म कर दिवस सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गरेको थियो ।

कर दिवसको अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन गरेका थिए । मन्त्री पौडेलले कार्यक्रममा समग्र राजस्वको संरचनामा राजस्वको अंशमा अभिवृद्धि गर्न, करको दायर विस्तार गर्न र कर चुहावट नियन्त्रण गर्न जरुरी रहेको बताए । ‘स्वैच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न आवश्यक छ,’ मन्त्री पौडेलले भने, ‘कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, बक्यौता असुली, बेरुजु फर्छ्योट परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न आवश्यक छ ।’

 

प्रकाशित : २०७७ मंसिर ८ गते ८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI