दुईथरी दम्पती : कोही पट्यारलग्दो, कोही रहरलाग्दो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ५ गते २३:२३
दुईथरी दम्पती : कोही पट्यारलग्दो, कोही रहरलाग्दो

कतिपय दम्पती यस्ता हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘चखेवाको जस्तै लोभलाग्दो जोडी ।’ कतिपय दम्पती यस्ता पनि हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘कस्तो मिल्नै नसक्ने, कुकुर र बिरालो जस्तो ।’

त्यसो त दम्पती थरीथरीका हुन्छन् । तर, मूल रुपमा दुईथरी हुन्छन् । एकथरी रहरलाग्दो, अर्कोथरी पट्यारलााग्दो । पहिलोथरी दम्पती आपसी समझदारी, सर्मपण, सद्भाव, प्रेमले भरिपूर्ण हुन्छन् । अर्कोथरी दम्पती असमझदारी, अविश्वास, आशंका, इष्र्या र घृणाले जकडिएका हुन्छन् ।

दाम्पत्य जीवन कस्तो बनाउने ? त्यो नितान्त श्रीमान र श्रीमतीको हातको कुरा हो । उनीहरुले चाहेको अवस्थामा दाम्पत्य जीवनलाई सुखमय र रहरलाग्दो बनाउन सक्छन् । तर, उनीहरुबीच कुनै पनि कुरामा समझदारी नहुँदा दाम्पत्य जीवन नै खल्लो र उराठलाग्दो बन्छ । जब दम्पतीबीच सुमधुर सम्बन्ध रहन्छ, उनका घर परिवारमा सुख छाउँछ । नातेदार, इष्टमित्रमा उमंग छाउँछ । तर, जब दम्पतीबीच कलह हुन्छ । अविश्वास र आरोप–प्रत्यारोपले ठाउँ पाउँछ, तब घर–परिवारम अशान्ति छाउँछ । यसर्थ एउटा दम्पतीको सम्बन्ध कस्तो छ भन्ने कुराले उनीहरुको घर–परिवारलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

हाम्रो वरपर भएका कतिपय दम्पतिहरुलाई हामी एकदम खुशी र सुखी देख्छौ । उनीहरुको खुशी देखेर लोभ लाग्न थाल्छ । विवाह भएको धेरै समय बित्दा पनि उनीहरुमा सधै नयाँ बेहुला–बेहुली जस्तै प्रेम हुन्छ ।

त्यस्तै कतिपय दम्पतिबीच मनमुटावका कारण आफ्नो वैवाहिक जीवनप्रति दुःखी भएको पनि पाउँछौ । विवाह भएको समयदेखि नै दुःखी रहने, ¬¬हरेक समय झगडा हुने पनि देख्छौ । यस्तो के कारणले हुन्छ भन्ने बारेमा धेरै सर्वेक्षणले यस्ता तथ्यहरु फेला पारेका छन्,  जसमा सुखी दम्पती र दुःखी दम्पतीका विश्लेषणहरु उल्लेख छन् ।

सुखी जीवन बाँच्ने दम्पतीले विवाहलाई आनन्दको रुपमा स्वीकार गर्छन् । यस्ता आनन्द कुराहरुको माध्यमबाट पनि उठाउन सकिन्छ भने कुनै काम संग–संगै गरेर पनि आनन्द उठाउन सकिन्छ ।

त्यस्तै दुःखी दम्पतीले यसलाई एउटा सम्बन्धको रुपमा मात्र हेर्छन् । श्रीमान्–श्रीमतीले एक-आपसमा कुराकानी गर्नुको अर्थ उनीहरुका लागि समय खेर फाल्नु हुन्छ । यदि कुनै काम संगै गर्दाको उदेश्य पनि काम कति बेला सकिन्छ भन्ने हुन्छ । उनीहरु कर्ममा आनन्दको अनुभव नै गर्दैनन् ।

आफ्ना श्रीमान् अथवा श्रीमतीलाई आनन्दको स्रोतको रुपमा हेर्नुपर्छ । दाम्पत्य जीवनमा प्रेम र रमाइलो जागृत भए पछि वृद्धावस्थासम्म पनि यहि क्रम जारी रहन्छ । तपाईं आफ्नो  श्रीमान्–श्रीमतीप्रति सधैं आकर्षणको स्रोत बनिरहन सक्नु हुन्छ । यसको ठिक विपरित दुःखी दम्पतीहरु वैवाहिक जीवनको शुरुआतदेखि नै विवाहलाई बोझको रुपमा लिन्छन् र सधै आफु बोझ लिएर बाँचेको अनुभव गर्छन् ।

सुखी दम्पतीले जीवनमा अन्य कुराहरु जस्तै आर्थिक, सामाजिक, धार्मिक, नाता–सम्बन्धहरुलाई दोस्रो स्थानमा राख्छन् भने दुःखी दम्पतीहरुले यस्ता कुरालाई अति महत्वका साथ अग्र स्थानमा राख्ने गर्छन् । जुन श्रीमान्–श्रीमती समाजसेवा र साथीभाईसँग रमाउँछन् र बढि समय बिताउँछन्, उनीहरुकोे दाम्पत्य जीवन निराश हुन्छ । त्यसैले आफ्नो जीवनसाथीलाई आफ्नो प्रिय मित्र बनाउनुहोस् र जीवन भर खुसी र सुखी रहनुहोस् ।

सुखी दम्पतीले यौन सम्बन्धलाई अति नै महत्व दिन्छन् भने दुःखी दम्पतीले त्यसलाई शारीरिक मिलन मात्र ठान्छन् । सुखी दम्पती यौन सम्बन्धबाट चरम सुख प्राप्ति गर्छन् भने दुःखी दम्पतीले यसलाई केवल एउटा जैविक प्रक्रियाको रुपमा लिन्छन् र यसबाट भाग्ने प्रयास गर्छन् । सुखी दम्पती आफ्नो नीजि सम्बन्धका लागि सधै एकान्त क्षणको खोजीमा हुन्छन् भने दुःखी दम्पती यस्ता क्षणहरुबाट टाढा हुन खोज्छन् ।

तर्क–वितर्क त सुखी र दुःखी दुवै दम्पतीमा हुने गर्छ, तर सुखी दम्पतीले तर्कको हल तर्कबाट नै निकाल्छ भने दुःखी दम्पतीले तर्कमा कुतर्क ल्याएर झगडाको स्थिती उत्पन्न गर्छन् ।

सुखी जीवनका लागि तर्क पनि आवश्यक छ, त्यसैले तर्क गर्नुहोस तर संयम पनि राख्नुहोस् । के को लागि तर्क भएको भन्दा पनि तर्क कसरी भयो भन्ने कुरा महत्वपुर्ण हुन्छ ।  कहिलेकाहिं आफुले बोलेको बोलीले आफैलाई पोल्न पनि सक्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

दुबै पक्षको नाता सम्बन्धलाई सम्मान दिनुपर्छ । श्रीमान्–श्रीमतीले एक–अर्काको साथीको बारेमा आफ्नो राय एक–अर्कामा थोप्ने कार्य गर्नु हुँदैन । यसलाई नितान्त निजी मामला सम्झेर चुप लाग्नु बुद्धिमानी हुन्छ । दुःखी दम्पती आधा भन्दा बढि समय एक–अर्काको साथीको बारेमा आफ्नो राय दिएर झगडा गर्न थाल्छन् ।

सुखी दम्पती बारम्बार आफ्नो प्रेम दर्शाइ रहन्छन् । मायाले भरिएको बोलि बोल्छन् । एक–अर्काको इच्छा, चाहाना आदिलाई ध्यान दिन्छन् । त्यस्तै एक–अर्काको जन्मदिन, वैवाहिक वार्षिकोत्सवको अवसरलाई उत्साहपूर्वक मनाउने र गिफ्टहरु दिने गर्छन् । यसो गर्दा दाम्पत्य जीवनमा प्रेम अझ बढि प्रगाढ हुँदै जान्छ ।

दुःखी दम्पतीका लागि यी सबै कुराहरुको कुनै महत्व हुँदैन  । उनीहरु यी सबै कुरा देखावटी हो भन्ने सोच्दछन् ।  श्रीमान्–श्रीमतीले एक–अर्कालाई बारम्बार म तिमीलाई माया गर्छु भन्नाले पनि प्रेम बढ्छ । त्यस्तै कहिलेकाहिं उपहार दिने र नयाँ खानेकुरा ल्याएर सँगै खानाले पनि भिन्दै आनन्दको अुनभव हुन्छ । त्यसैले सुखी दम्पती सदैव एक–अर्काप्रति सजग र समर्पित हुन्छन् ।

प्रकाशित : २०७७ मंसिर ५ गते २३:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI