छठ : पर्व एक सन्देश अनेक

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ५ गते १८:१६
छठ : पर्व एक सन्देश अनेक

जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने आस्थाको महापर्व छठ उल्लास छाएको छ। धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्वको रुपमा कार्तिक शुक्ल चतुर्थीेदेखि सुरु भएर सप्तमीसम्म सूर्यदेवको उपासना गरिन्छ।

हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहदै आएको मानिन्छ। गरिब, धनी, ब्राह्मण, दलित, उच-निचको ख्याल नगरी यो पर्व एकै साथ मिलेर मनाइनु छठको मुख्य विशेषता हो। समाजमा रहेका छुवाछुत-जस्ता कु-संस्कार, कुरिती र विकृति हटाउन छठ सहायक सिद्ध हुने सांस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्।

पूजाको विधि-विधान
छठको व्रत गर्ने महिला-पुरुष नुहाई धुवाई शुद्ध वस्त्र लगाएर शाकाहारी भोजन ग्रहण गर्दछ। कार्तिक शुक्ल पञ्चमी तिथिका दिन दिनभरी पर्व गर्नेहरु उपवास गरी साँझमा माटोले नयाँ चुह्लो र माटोको भाडोमै अरबा चामल र सख्खर राखेर बनाइएको प्रसादको रुपमा चढाइन्छ। खीर प्रसाद स्वरुप व्रती र घरका सदस्यले ग्रहण गर्दछ। जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ।

कार्तिक शुक्ल षष्ठीका दिन व्रतीहरु अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने गर्दछन्। पुरुषले भने सूर्यलाई अर्घ अर्पणको समयमा हाथमा नरिवल वा अन्य कुनै फलफुल लिएर उभिने गर्छन्।

साँझ र बिहान घण्टौ जलमा रही नाङलो, कनसुप्ती, ढकना, सरबा लगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ चढाउने गर्दछ। उक्त दिन छठ व्रत गर्नेहरु र घरका अन्य सदस्यहरु रातभर पोखरीको घाटमा जाग्राम बस्छन्। छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप, अरतक पात, चना आदि हुन्छ।

कार्तिक शुल्क चतुर्थीदेखि विधिवत रुपमा व्रत प्रारम्भ भई षष्ठी तिथिमा सूर्य देवतालाई पहिलो दिनको अर्घ अर्पण गरिन्छ। सूर्य देवतालाई दिइने अर्घ षष्ठी तिथिको उदयकालमा र सप्तमी तिथिमा एकै नियम निष्ठा पूर्वक दिइने गरिन्छ।

छठमा साँझको समयमा सूर्य देवतालाई जुन सामग्री प्रसादको रुपमा अर्घ अर्पण गरिन्छ सोही सामग्री नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा अर्पण गर्ने गरिन्छ। हुनत सूर्य देवतालाई अर्पण गरिएको प्रसाद षष्ठीको साँझदेखि सप्तमीको बिहानसम्म जलाशयको घाटमा नै राखिन्छ। तर यो नियम ठाउँ र परिवेश अनुसार फरक समेत हुने गर्दछ।

नदी, इनार, तलाउ, कुपा पोखरी जस्ता स्थानमा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगेर पुनः सूर्यास्त हुनु अगावै प्रसाद घाटमा ल्याई अर्पण गर्ने परम्परा रहेको गौशाला नगरपालिका-१ की रेणु महतो बताउँछिन्।

षष्ठी देवी
कार्तिक शुक्ल षष्ठीमा अस्ताउँदै गरेको सूर्यसँगै षष्ठी देवीको समेत पूजा गरिन्छ। पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ। उनलाई सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ। माता सृष्टिको सम्पूर्ण जीवको रक्षिका देवी छिन्। प्रकृतिको छैठौँ अंश भएका कारण उनको नाम समेत षष्ठी रहेको छ। षष्ठी देवीको पूजनको प्रचार-प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतक कालदेखि आरम्भ भएको मानिन्छ। यस कारण छठी माता भन्ने मिथिलाञ्चलमा परम्परा छ। केहीले भने सूर्यको माता भनेर षष्ठी देवीको पूजा गर्छन।

छठको पौराणिक महत्व

ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको पुजा लंका विजयपछि रामराज्यको स्थापनामा कार्तिक शुक्ल षष्ठीमा भगवान राम र सीताले गरेको थिए। सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरे पश्चात छठ पर्वको प्रारम्भ भएको मानिन्छ।

हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ। अर्को मान्यता अनुसार महाभारत कालमा छठ पूजा  सूर्य पुत्र कर्णले गरेको मानिन्छ। कर्ण भगवान् सूर्यको परम भक्त रहेकोमा उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ दिने गर्दथे। सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भए। महाभारतमा सूर्य पूजाको अर्को वर्णन समेत पाइन्छ।

सामाजिक-सांस्कृतिक महत्व
छठको सबैभन्दा महत्वपूर्ण पवित्रता र लोकपक्षसँग जोडिएको छ। भक्ति र अध्यात्मिकताले भरिपूर्ण यस पर्वका लागि मन्दिर वा आडम्बरको आवश्यकता हुँदैन्। यो पर्वले समाजमा सबैको आ-आफ्नो महत्व उत्तिकै हुन्छ भन्ने आभाष दिलाउँछ। मैथिली लोक गीत संगीतले जीवनको सार्थकताको उ्देश्यलाई पवित्रताका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्छ।

छठको सन्देश

छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाइन्छ। जस्तै स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङलो, कनसुप्ती, माटोद्वारा निर्मित सामाग्री ढकना, सरबा, दियो, हाथी आदि प्रयोग गरिन्छ ।

हिन्दु धर्म संस्कृतिमा छठ पर्वको विशिष्टता नै उदाउँदो सूर्यका साथै अस्ताउँदै गरेको सूर्यलाई समेत एकै प्रकारको आस्था र निष्ठाका साथ पूजिन्छ। त्यसैगरि हरेक वर्ग, जात, समुदायका मानिस एकै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन्।

जसले सृष्टि सबैको लागि समान हो यहाँ कोही उच-निच, धनी गरिब हुँदैन भन्ने भान हुन्छ। त्यसैगरी प्राकृतिक र वातावरणीय हिसाब समेत छठ पर्वको ज्यादै महत्व छ।

वर्षमा एक पटक भए पनि हामीले आफ्नो जीवनसँग जोडिएको प्रकृतिसँग जोडिएको पोखरी, तालतलैया, नदीनाला लगायत पानीको मुहान सरसफाई गरिन्छ। जसले हामीलाई जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्दै आएको पानीको मुहान संरक्षण गर्न सिकाउँछ।

प्रकाशित : २०७७ मंसिर ५ गते १८:१६
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI