कोरोनासगँको जम्काभेट !!!!!

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ५ गते ८:२९
कोरोनासगँको जम्काभेट !!!!!

जित्न दिदैन म हार्न जान्दिन!!सापटी लिएका यी भनाइ,
 

कोभिड – १९ अर्थात कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको छ । यसबाट हामीपनी अछुतो हुन सकेनौ । करिब एक वर्ष हुन लाग्दा पनि कोरोना भाइरसको औषधी पत्ता लाग्न नसकिरहेको यस विषम परिस्थितीमा हामी बेसार पानी, गुर्जो, तुलसी पानी लगाएत घरायसी औषधीको भरमा बस्दै आएका छौ ।

 

कोरोना भाइरस सामान्य रुपमा लिनुपर्छ रुघाखोकी त होनी भन्नेहरुको जमात ठूलै छ  भने सामान्य होइन विषम परिस्थिती निम्तिन सक्छ भन्ने अर्को कोरोना रोगलाई जित्नेहरुको जमात पनि उत्तीकै भेटिन्छ । पछिल्लो तथ्याङ अनुसार २ लाख १२ हजार संक्रमित भएकोमा १ लाख ८२ हजार ७४० जना संक्रमण मुक्त भएका छन ।

 

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले २०७६ चैत ११ देखि लकडाउन गरेसंगै लकडाउन खुकुलो नहुदा सम्म घरमै थन्कीएर बसेका थियौ । साउन महिना देखि सावधानी अपनाउदै जीवन पुरानो लयमा फर्काउदै कामलाई अगाडि बढाउदै लागेको थिए । मनमा भने एक प्रकारको डरले डेरा छोडेको भने थिएन । घरमा सानी छोरी भएको हुनाले मनमा डर हराउने छाट नै थिएन,कतै मेरो कारण छोरी र परिवारमा असर पर्छ की भन्ने लागिरहेको थियो । अतिआवश्यक बाहेक बाहिर काममा निस्कन बन्द गरेको थिए ।

 

निस्कनु नै परेमा मास्क र सेनेटाइजरको प्रयोगलाई सहि तरिकाले प्रयोग गर्दै भौतिक दुरीलाई  ध्यान दिदै आएको थिए । परिवारमा सबैको चिन्ता सानी भएकी छोरी र औषधी सेवन गर्दै आएको म स्वयम थिए ।   त्यसैले गर्दा सुरक्षित सावधानीलाई राम्रोसंग नै पालना गर्दै सामान्य तरिकाले जीवन अगाडि बढ्दै थियो । चाडपर्वहरु नजिकिदै थिए । लकडाउनको प्रत्यक्ष असर रेडियोमा परेको थियो । आमाको वार्षिकी तिथीमा माइत जानुपर्ने थियो यता रेडियोमा पनि २ जना मात्र भएर करिब ४ महिना रेडियो संचालन गरेका थियौ । सुरक्षित र सावधानी अपनाउदै लकडाउन खुकुलो भएपछि समाचार र प्राविधिक शाखाका सहकर्मीहरु दैनिक कार्यमा र्फकन थाल्नुभयो । बजार शाखा भने चैत महिनादेखि नै सामान्यतया बन्द नै थियो ।

 

लामो समय देखिको बन्द व्यापारव्यवसायले गर्दा रेडियोमा बज्दै आएका विज्ञापन र सुचनाहरुमा कटौती हुदै जाने अवस्थाको सिर्जना भएको थियो भने नयाँ थपिने संभावना निकै कम थियो । जसले गर्दा रेडियो संचालनमा निकै समस्या र चुनौतीहरु थपिदै आएको थियो । केहि समय पहिले नै प्रदेश जानुपर्ने कामलाई पछि सार्दै गरेको थिए एकदिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्पर्क गर्दा उहाँले समय मिल्छ आउनु भन्नुभएपछि अकस्मात गण्डकी प्रदेशको राजधानी पोखराको यात्रा तय भयो । दिनको करिब २ बजेतिर रेडियोका स्टेशन कोडिनेटर राज र म भएर पोखराको बस चढ्यौ ।

 

पोखरा पुग्दा करिब ८ बजेको थियो । राज जीलाई होटलमा छोडेर म दाईको घरमा गए । भोलिपल्ट विहानको खाना खाएर मुख्यमन्त्रीको कार्यालय तिर लागे । समय ब्यस्तताका कारण उहाँसंग समय मिल्न केहि समय लाग्ने भएपछि हामी उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल फोन गरेर उहालाई भेट्न पगे अघिल्लो दिन नै पोखरा आएको जानकारी उहालाई दिएको थिए । त्यहा पुग्दा १ घण्टापछि समय दिने बताएपछि मैले फेरि भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई फोन सम्पर्क गरे समय छ आउनुस भनेपछि हामी मन्त्रालय पुग्यौ । करिब एक घण्टाको कुराकानी पछि हामी फेरि उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साललाई भेट्न गयौ । उहाँसग करिब ४५ मिनेटको कुराकानी पछि पनी मुख्यमन्त्रीको समय मिलेन । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलाई भेट्न हामी उहाँको मन्त्रालय पुग्यौ । भेट्ने जानकारी विहान दिएका थियो ।

 

करिब दुई घण्टापछि पनि मुख्यमन्त्रीको समय मिलेन भोली भेट्ने भनेर फर्किन लाग्दा मुख्यमन्त्रीका प्रेस सल्लाहाकार विक्रम न्यौपानेले फोन गरेर मुख्यमन्त्रीको मिटिङ सकिएको भन्दै अन्तरवार्ता लिन समय मिल्ने बारे जानकारी गराउनुभयो । हामी गेट बाहिर मात्रै पुगेका थियो फेरि फर्किएर गयौ । करिब डेढ घण्टा समयसम्म मुख्यमन्त्री कार्यलयमै रहेर गुरुङको अन्तरवार्ता लिएर हामी फकियौ ।

 

भोलीको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, र सामाजिक विकास मन्त्रीसंग भेट्नको लागि समय लिएको थियो । साझ राज जी होटल जानुभयो र मलाई भिनाजु लिन आउनुभयो अनि म साथिकोमा गए । पोखराको दोस्रो दिनको बसाईको विहानको खाना खाएर हामी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापालाई भेट्न गयौ ।

 

उहाले अन्तरवार्ताको लागि केहि समय लाग्ने बताएपछि हामी सामाजिक विकास मन्त्री नरदेवि पुनलाई भेट्न मन्त्री ज्यूको कार्यकक्ष तर्फ लाग्यौ । उहाँसंग अन्तरवार्ता संगै समयसामयीक विषयमा कुराकानी गर्दागर्दै खाजा संगै खाएर हामी सामाजिक विकास मन्त्री पुन संग विदा भएर हामी फर्कियौ । त्यसपछि हामी कृषि मन्त्रालयमा गयौ त्यहॉ हामी नवलपुर जिल्लाबाट आएको भनेर छुट्टै राखियो । सचिव आएर परैबाट भेटेर फर्किनु भयो । मन्त्रालयका सबै काम सकेर हामी त्यहि दिन फर्किने सोच बनाएका थियौ । फर्किने समयमा वानकी सचिव दुर्गा अधिकारी जीलाई भेट्यौ । उहाँसंग केहि समय कफि पिउदै रेडियो संचालनको समस्या र चुनौतीका विषयमा सामान्य गफ गर्यौ र हामी छुटियौ । पोखरा छोड्दा राती करिब साढे आठ बजिसकेको थियो ।

 

लामो समय पछि सार्वजनिक सवारी साधनको प्रयोग गर्दा कता कता कोरोनाको डरले भने मन झस्काईरहेको थियो । बसमा पनि एक सिटमा एक जना यात्रुलाई मात्रै राखेको थियो भने हातमा सेनेटाईजर र मास्क को सहि तरिकाले प्रयोग गर्न भने छोडेको थिएन । रातको करिब एक बज्न लाग्दा हामी खरकट्टा जंगलमा आईपुग्दा सवारी जाम थियो । दुम्किबासमा सवारी दुर्घटना भएर केहि समय देखि सडक अवरुद्ध भएको रहेछ । ट्राफिक प्रमुखलाई फोन गर्दा सडक संचालनमा आउन केहि समय लाग्ने भनेपछि हामी हिड्दै घर आइपुग्यौ ।

 

 

जिल्ला बाहिरको यात्रा गरेको हुनाले असोज ३० गतेदेखि नै म छुट्टै बस्न थालेको थिए । घरमा सानी छोरी भएको कारण घरको तल्लो तलाको कोठामा एक्लै बस्न थालेको थिए । आमावुवा, बहिनीहरु र छोरी माथिल्लो तलामा बस्नुहुन्थ्यो । चार, पाच दिन सम्म लक्षण नदेखिए केहि हुन्न भन्ने सोचमा थिए । ६ दिन भएको थियो एक्लै बस्न थालेको अब चाहि केहि हुन्न भोली देखि सबै परिवार संग माथि तलामा बस्न जान्छु भन्ने सोच्दै मात्र के थिए त्यहि दिनको सॉझ ज्वरो आयो,रुघा संगै टाउको पनि दुख्न थाल्यो । सिटामोल खाएर सुते विहान उठ्दा ज्वरो त थिएन तर टाउको निकै नै धेरै दुखिरहेको थियो । सामान्य खोकी लाग्ने घाटी दुख्ने पनि भएपछि परिवार संग संगै बस्न माथि तलामा उक्लिने आट आएन तल्लै तलाको कोठामा एक्लै बसे । विहान गएर रेडियोमा समाचार पढ्थे त्यसपछि कोठामै आएर बस्थे । एउटा सिटामोल खाएपछि ज्वरो त आएको थिएन तर ज्यान धेरै दुख्न थाल्यो ।

 

लामो समयपछिको गाडिको यात्रा अनि चिसो हावाले होला भन्ने लाग्यो । महिनावारी हुने समय आएको थिएन तर सोहि समयमा जस्तै सहनै नसक्नेगरी ढाड दुख्न शुरु भयो । बिहान बेलुका बाफ लिने र तातो पानी पिइरहेको थिए । घरिघरि दुखाई कम हुदा सामाजिक सञ्जालमा आखा डुलाउदै गर्दा आफुले चिनेका र भेटेका साथिहरुलाई कोरोना पुष्टि भएका समाचार र स्वास्थ्य लाभको कामना फेसबुक भरी असरल्ल भएको देखे । शरिरको दुखाई संगै मनमा भने कोरोनाको डर बढ्दै गयो । स्वाद र गन्ध भने अलिकति पनि कमी महसुस भएको थिएन । यसले गर्दा घरिघरि मन ढुक्क पनि हुने गथ्र्यो । दशैको समय शरिर आलस्य खानामा रुचि हराएको थियो ।

 

चाडपर्वको समय खान्न भन्न पनि भएन भनेर बहिनीहरुले ल्याइदिनुभएको खाना धेरै जसो प्लाष्टिकमा पोको पार्थे । खानामा रुचि हराउनु र शरिर दुखाईले झन शिथिल बन्दै गए । ज्वरो नआएपनि टाउको दुख्न कम नभएपछि पिनास भयो कि भनेर आयुर्वेदिक औषधी ल्याएर नाकमा हाल्न थाले कुनै असर देखिएन । दशैले गर्दा पिसिआर टेष्ट बन्द भएको थियो । दशैको टिकाको अघिल्लो दिनदेखि अलि गाह्रो महसुस हुन थाल्यो । समाचार पढ्न निकै असहज भयो, लामा श्वास फेर्ने अप्ठयारो हुन थालेपछि समाचार पढ्न छोडे । टाउको दुख्न कम भएको थिएन । असोज १० गते दशैको टिकाको दिन राती फेरि अकस्मात ज्वरो आयो । शरिर लगलग काम्न थाल्यो । सधै ओढ्ने कपडाले शरिर काम्न नरोकिएपछि अर्को ब्याल्ङकेट ल्याउन लगाएर ओढे । ज्वरो नापे १०१ डिग्री रहेछ फेरि सिटामोल आएर सुते । भोलि पल्ट जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई फोन गरेर कोभिड परिक्षण गर्नुपर्याे भने उहाले हुप्सेकोट जान भन्नुभयो । हुप्सेकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई नाम टिपाए तर साझ ५ बजे आउन भन्नुभयो ।

 

कावासोतीबाट अलि टाढा पर्ने हुर्ने साझको ५ बजे हुप्सेकोट पुग्न कसरी जाने भन्ने अर्को समस्या भयो । अंकलको छोरा बावुलाई फोन गरे उहाले चिसोले ज्वरो आएको होला चिन्ता नलिनु हस्पिटल जाउँ भन्नुभयो र म चेकजाचको लागि नवलपुर अस्पताल गए । रगत चेकगर्दा केहि देखिएन तर छातीमा समस्या छ भनेर डाक्टरले कोभिडको शंका गरेपछि भने मुटु ढक्क फुल्यो । औषधी शुरु गर्ने निधो भयो । औषधी खादा ढिलो हुने भन्दै सुइको माध्यमबाट औषधी चढाउन शुरु भयो त्यहिदिन साझदेखि । भोलिपल्ट पत्रकार बहिनी राधाको निधनले मन पिरोलिएको थियो भने टाउँको संगै शरिरको एकैनासको दुखाइ अनि डाक्टरको कोभिडको शंकाले मन झनै आत्तिएको थियो । हुप्सेकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखले कोभिड परिक्षण गर्न किन नआउनु भएको भनेर फोन गर्दा टाढा भएर भनेको थिए । यता कावासोतीमा स्वाब संकलन १६ गते मात्रै थियो ।

 

होमआइसुलेसनमा बस्दा अनि आफुमा केहि लक्षणहरु देखिदा कोभिडका समाचारलाई हेर्न र सुन्न केहि कम गर्दै सकारात्क र उत्प्रेरणा दिने समाचार भिडियोहरुलाई हेर्न थालेको थिए । जब अस्पताल गए अनि डाक्टरले कोभिड शकां गर्दै नआत्तिन आग्रह त गर्नुभयो तर त्यसपछिका रात भने मलाई कटाउन निकै मुस्किल पर्न थाल्यो । श्वास नै रोकिएला जस्तो हुने, सुतेपछि झन गाह्रो हुन थाल्यो अनि आधा भन्दा धेरै रात बसेर कटाए । शरिरको दुखाई संगै मन अनि मस्तिष्क पनि भारी भएको थियो । मन बलियो बनाउछु भन्दा भन्दै पनि नहुदो रहेछ । आजको रात मर्छु कि झै लाग्यो । घरी उठ्ने घरी बस्ने गर्दा गर्दै कतिवेला निदाएछु थाहा नै भएन । विहान उठ्दा टाउको उस्तै रन्किरहेको थियो । छाती नि दुखे जस्तो लाग्न थाल्यो । पिडा झन बढ्दै गयो । दिनभर फेसबुक र युटुब हेर्ने काम भाको थियो । टाउको भने निरन्तर दुखिरहेका कारण धेरै जसो समय सुत्थे ।

 

कोभिडको डर मनबाट हटाउन र शरिरको दुखाई कम गर्न जति उपाए अपनाए पनि सकेको थिएन । मन धेरै नै आत्तियो अनि मध्यविन्दु जिल्ला अस्पतालका डा.सुनिलराज गौतमलाई फोन गरेर सबै समस्याको बारेमा जानकारी गराए । डा.सुनिलले म आत्तिएको भाव बुझेर राम्रोसंग काउन्सिल गर्नुभयो । कोरोना नै भए पनि केहि हुन्न आत्तिन नहुने भन्दै सम्झाएर अस्पताल नै आउन आग्रह गर्नुभयो । त्यसपछि म मध्यविन्दु जिल्ला अस्पताल गए डा.सुनिलले आफैले चेकजाच गर्नुभयो । छातीको एक्सरे गरेर हेर्दा छातीमा समस्या देखा पर्यो । रिपोट हेर्दै गर्नुभएका डा. सुनिलको अनुहारबाट नै प्रष्ट हुन्थ्यो कि कोरोनाको लक्षण हो । छातीको समस्याको खादै आएको औषधीलाई पुरै डोज खान र नआत्तिन आग्रह गर्दै केहि हुन्न म्याम हजुरलाई गाह्रो भए हामी डाक्टरहरु छौ नि भन्नुभयो ।

 

 

उहाँको भनाईले डराएको मनलाई केहि राहत हुदै थियो  । डा. सुनिलको सल्लाह सुझाव लिएर म फर्किए । भोलिपल्ट कावासोती नगरपालिकाले स्वाब संकलन गर्दै थियो । म पनि स्बाव दिनको लागि जान तयार भए । घरमा सबैजनाले डराउने भए नगर पर्दैन भन्दै हुनुन्थ्यो । डर त मनमा कति थियो कति तर त्यो डरलाई परै राखेर चेक गर्न जाने निधो भयो । कोरोना परीक्षणको लागि स्बाव दिन छिमेकी कुमार अंकलले लिएर जानुभयो । मैले अंकललाई मेरो रिपोट पोजेटिभ आउछ म आफै जान्छु भनेको थिए तर उहाले केहि हुन्न भन्दै मलाई लिएर जानु भयो । अब पर्खाइ रिपोटको थियो ।

 

 

त्यसो त कोरोना पोजेटिभ आउछ भन्ने ढुक्क नै भएको थियो । नवलपुर अस्पतालका डा. ओम र मध्यविन्दु जिल्ला अस्पतालका डा. सुनिलको कुराले र छातिमा देखिएको समस्याले गर्दा रिपोट पोजेटिभ आउनेमा शंका थिएन । तर पनि मनै त हो रिपोट नेगेटिभ आएनी हुन्थ्यो नि भन्ने लागिरहयो । खाने अनि सुइबाट चढाउने औषधी चलिरहेको थियो । भौतीक दुरी भने पहिलेदेखि नै कायम गर्दै आएको थियो । छोरी नजिक नगएको धेरै भएको थियो । छोरी आएर परैबाट मामु भन्थीन अनि माया गरेर जान्थीन । सबैलाई बाहिर निस्किदा मास्क लगाउन भन्थिन आफु भने बिर्सिन्थीन । कहिलेकाही नानी भन्ने बित्तिक्कै हत्तेरी सरी मामु भन्दै मास्क लगाएर आउथिन । दिनभरका थकान अनि दुख सबै छोरीलाई अङगाल्दा भुल्ने मान्छे म आज टाढा बसेर उसलाई नियाल्नु परेको थियो । अरु भन्दा पनि छोरी संगको दुरीले मन पिरोलिएको थियो । आखाले देखेपनि छुन नपाउदा मन कुडिएर आउथ्यो ।

 

 

रिपोटको प्रतिक्षा थियो अब पोजेटिभ नै आए नि मनबाटै म त्यसको लागि तयार भइसकेको थिए । घरपरिवार नजिकका साथीसग सबै कुरा जानकारीमा गराएको थिए  । सबैले केहि हुन्न भन्दै हौसला दिदै आउनुभएको थियो । बिहान वेलुका बाफ लिने तातो पानी मात्रै खाने पहिले देखि नै गदै आएको थिए । खानालाई पनि सन्तुलन मिलाएर समय तालिका बनाएर खादै खाएको थिए । रिपोट पोजेटिभ आएपनि घर मै बस्ने कुरा भएको थिए । सबैको हौसलाले मन बलियो बन्दै गएको थियो । मानसिक रुपमा दह्रो भएपनि शारीरिक रुपमा कमजोर थिए जसले गर्दा घरपरिवारमा सबैलाई मेरो अलिक धेरै चिन्ता थियो । सधै औषधी खाइरहने मलाई थाइराइडसगै युरिक एसिड पनि केही समय अघि देखा परेको थियो । क्लाल्सियमको कमी हुने हुनाले  म सधै औषधी खादै थिए । जसले गर्दा प्रेत्यक ३ महिनामा काठमाडौ गएर डा रागेश कर्णसगको परामर्शमा रहिरहेको धेरै बर्ष भएको थियो ।

 

आफ्नो मानसिक तनाबले शरिर गलाएको त छदै थियो यो गलाएको शरिरलाई कोभिडले अप्ठयारो अवस्था सिर्जना हुने हो क भनेर घरपरिवारको चिन्ता ज्यादै थियो । त्यही नि म कमजोर हुनु हुन्न भनेर आफैलाई आफैले सम्झाउने गर्दथे । एक जना साथीले जीवनका यति धेरै अप्ठयारो पार गर्नुभएको छ अब यो कोरोनाले हजुरलाई केहि गर्ने सक्दैन आए पनि डराउछ भनेर सधै हौसला दिने गर्नु हुन्थ्यो ।

 

३ दिन पछि रिपोट पोजेटिभ भनेर आयो । मन मष्तिष्क बलियो बनाइसकेको थिए । पोजेटिभ रिपोट आउछ भन्ने ढुक्क थिए अनि अब केही हुन्न भन्न्ोमा पनि ढुक्क थिए । मैले हासेर पोजेटिभ आयो भनेर भन्दा कसैले पत्याउनु भएन । नगरपालिकाको स्वास्थ्य शाखाबाट फोन गरेर रिपोट पोजेटिभ आएको जानकारी दिदै १४ दिन छुट्टै बस्नु केहि हुदैन छिट्टै ठिक हुन्छ भनेर सल्लाह दिनुभयो । म गएको अस्पतालमा जानकारी गराए । मलाई पोजेटिभ आएको डां सुनिललाई म्यासेज गरे उहाले म पो डेन्जर जोनमा परे भन्नु भयो ।

 

तर उहाहरुको परामर्श घरपरिवार साथीहरुको हौसलाबाट आज कोरोना मुक्त भएको छु । यस समयमा हौसला दिने घरपरिवार ,रेडियाका सहकर्मी ,स्वास्थ्यकर्मी, अन्य सहकर्मीका साथै साथीहरुको हौसलाले आज जीवन जीउन आधार बलियो बनाएको छ । हौसला र हिम्मत जीवनको महत्वपूर्ण आधार हुन जीवन डोर्याउने भन्ने प्रमाणित भएको छ । कोरोनालाई सामान्य लिन नहुने भन्ने बुझेपनि आत्तिन पनि नहुने रहेछ ।

 

हौसला र आत्मबलले पनि कोरोनालाई परास्त गर्ने सहयोग पुग्ने रहेछ । कोभिड १९ पोजेटिभ आएको १४ औ दिनमा कोरोना लाई परास्त गरेको नेगेटिभ रिपोट आएको छ । मनभरी छोरीलाई अंगालो हालेर काखमा राख्न हतारो भएको छ । करिब एक महिना धेरै भयो उसलाई छुन नपाएको , मन भरुन्जेल माया गरेर अंगालो होलेर छोरीसंग गफ गर्न नपाएको ।

प्रकाशित : २०७७ मंसिर ५ गते ८:२९
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI