No ads found for this position

कोभिड संक्रमण र प्राप्त अनुभवः आशावादी बनौं

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ३ गते १८:३३
No ads found for this position
कोभिड संक्रमण र प्राप्त अनुभवः आशावादी बनौं
No ads found for this position

तेजचन्द्र खनाल-   

“Optimism is the faith that leads to achievement. Nothing can be done without hope and confidence.” -Helen Keller

“निराशावादीहरू हरेक अवसरमा समस्या देख्छन् भने आशावादीहरू हरेक समस्यामा अवसर देख्छन् ।” -विन्सटन चर्चिल

चिनको दक्षिणपूर्विय ठुलो आर्थिक, सामाजिक, राजनीतिक र पर्यटकिय लगायत सम्पूर्ण तवरले विकसित वुहान शहरबाट सन् २०१९ को अन्त्यतिरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीले गर्दा विश्व नै लथालिङ्ग भएको बेला सबैको मनमा आउने एउटै प्रश्न हो, कोरोना कहर कहिले सकिएर संसार फेरि आफ्नै पुरानै लयमा फर्किन्छ होला ? आजको दिनसम्म संसारका कुनैपनि वैज्ञानिक र डाक्टरले दिन नसकेको सबैभन्दा कठिन प्रश्न बनेको छ यो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको असर दिनानुदिन फैलिरहेको छ । यस रोग बाट लाखौं मानिसको ज्यान समेत गइसकेको छ भने त्यसको अनुपातमा निको हुनेको संख्या अत्याधिक बढि छ ।

यो लेख तयार पार्दा सम्मको Worldometer को ताजा तथ्याङ्क अनुसार विश्वमा 5,44,09,770 (पाँच करोड चौवालिस लाख नौ हजार सात सय सत्तरी) व्यक्ति संक्रमित भएका छन् । जसका कारण 13,19,423 (तेह्रलाख उन्नाइस हजार चार सय तेइस) जनाको यही कोभिड-१९ का कारण मृत्यू भइ सकेको छ भने हालसम्म 3,79,38,724 (तीन करोड उनासी लाख अड्तिस हजार सात सय चौबिस) जनाले यस रोगलाई परास्त गरिसकेका छन् । WHO का अनुसार विश्वमा यस रोगको अनुमानित मृत्यूदर जम्मा 3.4% रहेको छ । यो दर अत्यन्त न्यून हो त्यसैले पनि हामी कोरोना संक्रमणबाट त्यति अत्तालिनुपर्ने म देख्दिन । यो 3.4% मा पनि धेरै जसो अन्य दीर्घ रोगीहरु रहेका छन् जसमा कोभिड एउटा कारकमात्र भएको छ । नेपालमा समेत संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख भन्दा माथि पुगिसकेको छ र यो अझ तिब्र गतिमा फैलिरहेको छ । जसमा मृत्युदर भने अत्यन्त न्यून छ । नेपालमा अनुमानित प्रति १००० जनामा ६ जनाको मात्र मृत्यु भएको तथ्याङ्क पाइएको छ ।

अब यो महामारी कहिलेसम्म रहन्छ ? कहिले सकिन्छ होला ? भन्ने जस्ता प्रश्नहरु अनुत्तरित भएका छन् । विश्व सँगसँगै नेपाल पनि अहिले कोरोना महामारीका कारण आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक संकटहरुबाट क्षतविक्षत भएको छ । जसले गर्दा देश गरिबी, बेरोजगारी र भोकमरी जस्ता विषम परिस्थितिहरुबाट पनि गुज्रीन थालिसकेको छ । यसले देश विभिन्न संकटहरु (जस्तै राजनीतिक, सामाजिक, आर्थिक) आदि बाट प्रताडित भएको छ । धेरैको रोजगारीका साथसाथै गरिब, निमूखा र सर्वहारा बर्गको त रोजीरोटीनै गुमेको छ ।

यति हुँदा हुँदै पनि कोरोना भाइरसको महामारीसंगै अहिले यसको बारेमा विभिन्न अफवाहहरु फैलिइरहेका छन्, जुन गलत छ । कोभिड को माहामारी सँगसँगै अधिकांश मिडियाहरुले यसबारेमा नकारात्मक समाचार मात्र प्रशारण गरेको हामीले पाउँछौ । कोभिडका बिरामीहरुलाई घरपरिवार देखि लिएर समाज र रोगीका भगवान भनेर चिनिने डाक्टरहरुले पनि छि छि र दुर दुर गरेका प्रशस्त उदाहरणहरु हामी पाउँछौं । मलाइ लाग्छकी मृत्यु भएका लगभग ६० प्रतिशत मानिसहरु त कमजोर मनोबलकै कारण रोगसँग लड्न नसकी मृत्युको मूखमा पुगेका छन् । कोभिड भन्दा पहिलापनि त विभिन्न रोगका कारण दैनिक हजारौं मानिसले ज्यान गुमाएका थिए तर तिनलाई अहिलेको जस्तो अफवाहको रुपमा फैलाइएको थिएन । होला कोभिडले हामीलाई नकारात्मक कुरामात्र धेरै दिएको छ तर पनि त्यसका सकारात्मक पक्षहरूलाई भने हामीले कहिले पनि भुल्नुहुन्न । यसले हामीलाई एउटा दर्‍हो शिक्षा दिदैछ हामी एउटा अग्नि परीक्षामा छौं जुन परीक्षा हामीले विशिष्ट श्रेणी सहित पास हुनेछौं यसमा दुइ मतनै छैन ।

सकारात्क सोंच नै मानिसको जीवनको उर्जा हो । सकारात्मक सोंच र उच्च आत्मविश्वासले यस कोभिड १९ लाई सजिलै परास्त गर्न सकिन्छ । सकारात्मक सोंचले नै हामीले कोरोना भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता हाँसिल गर्न सकिन्छ । अहिलेको कोरोना भाइरसको महामारी र संक्रमणलाई यसरी बुझ्यौं भने हामी धेरै हद सम्म रोगलाई पराजित गर्न सकिन्छ । यही आत्मविश्वास र दैनिक सरसफाई का साथसाथै सन्तुलित आहार सेवन गर्यौं भने कोरोना हामी भन्दा कयौं कोश पर भाग्छ ।

अहिले कोरोना महामारी फैलिएकोपनि करिब एक वर्ष हुन लागिसक्यो यस बीचमा कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ । विभिन्र निकायहरूबाट नयाँ नयाँ औषधि र खोपहरुको पनि परिक्षण भैरहेको छ । के थाहा भोलि नै यसको वास्तविक औषधि पत्ता लाग्न सक्छ की ? के थाहा यसको निदानकालागि परीक्षण गरिएका खोप हरूले काम गर्न पो थाल्छन् की ? आशावादी किन नहुने ?

अहिले केही समयको लागि भए पनि प्रकृतिले आराम पाएको छ । हाल विश्वभरि नै प्रदूषणमा कमी आएको छ । केही तरलताहरू भएपनि यस भाइरसले हामी लाई आत्मविश्वास र आत्मबलको महत्व बुझाएको छ, आफ्नो जन्म ठाउँको महत्व दर्शाएको छ, पारिवारिक वातावरण सुदृढ बनाएको छ, मानिसलाई आफ्नो औकात बताइदिएको छ र धनि गरिब दुबै मानिसलाई एउटै तुलामा राखेर जोखेको छ । वातावरण र परिस्थिति अनुसार संयमता, लचकता र परिवर्तनलाई आत्मसात गर्दै फैलनु मानव जातिको गुण हो । मानव जातीले यो भन्दा धेरै ठुलाठुला महामारी र संकटहरु लाई पार लगाउँदै विजय हाँसिल गर्दै यो अवस्थासम्म आइपुगेको छ । यसै गरि यो कोरोना भाइरस (कोभिड-१९) माथि पनि मान्छे अवश्य विजयी भएरै छाड्छ । यो रोगबाट निको भइन्छ । तथ्याङ्क हेर्दा यो रोगबाट मर्नेको होइन निको हुनेको संख्या धेरै छ । बेलायतकी १०६ वर्षकी, इटालीकी १०२ वर्षकी तथा चीनमा १०३ वर्षका बिरामीहरुले त कोभिड १९ लाई परास्त गर्दै पूर्णरुपमा निको भइसकेका छन् । हामी ले किन नसक्ने ?

यस बीचमा विश्वमा कोभिड१९ का लागि भएका केही विश्वव्यापी प्रयासहरू हेरौ ।

१. कोरोना भाइरसको मूख्य उद्गम थलो चीनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आइसकेको छ । चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किटहरू निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ । कमजोर राष्ट्रहरुलाई छाति ठुलो पारेर सहयोग पनि गरिरहेको छ विभिन्न किटहरु, औषधीहरु र आवश्यक समानहरु समेत अनुदान दिँदै छ साथै उपचारका लागि थुप्रै प्राबिधिक टोलीहरु पनि पठाइरहेको छ ।

२.भारत पनि कोभिडको अध्ययन र अनुसन्धानको क्षेत्रमा अगाडि रहेको छ । भारतले पनि कोरोना परीक्षण किटको सफल प्रयोग र निर्माणपनि गरिरहेको छ । धेरैजसो बिरामीहरु अस्पतालमा उपचार पछि निको भएर घर फर्किरहेका छन् । भारतमा ८६ बर्षका बिरामीपनि जो सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी पनि निको भएर खुशी मन लिएर आफ्नो घर फर्किएका छन् ।

३. इजरायलका बैज्ञानिकहरुले पनि कोरोना विरुद्धको खोपको अध्ययन अनुसन्धानमा पनि ठूलो प्रगति गरेका छन् ।

४.अमेरिकामा भने कोरोना भाइरसको खोपको परिक्षण समेत गरिएको छ । नतिजा चाडै आउछ भन्ने आशामा विश्व रहेको छ ।

५.त्यस्तै अष्ट्रेलियाका बैज्ञानिकले पनि ४८ घण्टामा कोरोना भाइरस मार्ने एन्टि प्यारासाइटिक ड्रग पत्ता लगाएको दावी गरेका छ्न् ।

६. त्यस्तै विभिन्न देशहरूले लामखुट्टेको टोकाइबाट लाग्ने मलेरीया रोगमा प्रयोग हुने औषधि कोरोना भाइरसको बिरुद्ध प्रयोगको अनुसन्धानपनि शुरु गरेका छन् । जसलाइ विभिन्न डाक्टरहरूले राम्रो काम गरेको भन्दै आएका छ्न् ।

आदि थुप्रै खोज, अनुसन्धान र उपलब्धिहरु हाम्रो सामु आइसकेका छन् ।

बालबालिकामा कोरोना संक्रमणको डर एकदम नगन्य छ । उनिहरुमा रोगसँग लडने क्षमता उच्च देखिन्छ । अझ भनौं बालबालिकाहरुमा कुनैपनि किसिमको मानसिक तनाव र न्युन मनोबल नभएकै कारण उनिहरुले कोभिड लागिहालेपनि चाँडो निको हुन्छन् भन्ने अध्ययन र अनुसन्धानले बताइरहेका छन् ।

त्यसैले गलत समाचार र गलत सूचनाको पछाडि नलागौं । २ महिनाको नवजात शिशु देखि लिएर १०३ बर्षसम्मका कोभिडका बिरामीहरू पनि ठिक भएर डिस्चार्ज भएका अनुभवहरु हामीमाझ ताजै छ्न् भने यहाँ हामी किन डराउने ? उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता ९५ प्रतिशत बिरामी निको भएर फर्किएका प्रमाणहरु पनि छ्न् । यसो भएपछि के को डर ?

कोरोना भाइरसको संक्रमण समुदायमा फैलियो भने हाम्रो शरीरले त्यो भाइरस बिरुद्ध लड्ने प्रतिरक्षा प्रणालीको विकास गर्छ । जसले हाम्रो शरिरमा एन्टिवडि उत्पादन गरि भाइरसलाई कमजोर र निष्क्रिय पार्न सहयोग गर्दछ । घरमै विभिन्न औषधी हरू सेवन गर्दै, संतुलित आहार र विभिन्न भिटामिनयुक्त खानेकुराहरू खाएर पनि यसको सफल निदान गर्न सकिन्छ । तसर्थ यस रोगको सफल उपचारका लागि धैर्यता, उच्च मनोबल र रोग प्रतिरोधात्मक क्षमता बढाए भैहाल्छ । आँफू सकारात्मक भैदिए पुग्छ । त्यसो भए यस्तो रोगसँग हामी किन डराउने ?

हालसम्म मृत्यु भएका जतिपनि अधिकांश व्यक्तिहरू छ्न् ती विभिन्न दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुनै छ्न् । यदि कोरोना संक्रमण नफैलिएको भएपनि उनीहरुमध्ये ७५ प्रतिशत बिरामीको मृत्यु नाजुक स्वास्थ्य अवस्थाको कारणले नै हुने थियो । उसो त हामी हिमाल, पहाड र तराइका चिसोमा अति चिसो अनि तातोमा अति तातो खप्न सक्ने ज्यान हाम्रो इम्युनिटी पावर त्यसैपनि राम्रो छ । अनि हजारौं थरिका जडिबुटी पाइने हाम्रो देश यिनै जडिबुटी सेवन गरेर नै हामी कोरोनालाई पराजित गरिरहेका छौं । आहा ! कति भाग्यमानि हामी ।

बिल गेट्स भन्छ्न्- ‘प्रत्येक सङ्कटमा अवसर हुन्छ भनेर मैले मात्र भनेको होइन ।’ यो कुरा सत्य हो, तर हेर्ने आँखा र सोच्ने दिमाग चाहिन्छ । त्यो सकारात्मक दृष्टिकोणबाट प्राप्त हुन्छ । त्यो हामीमै मौजुदा छ । प्रयोग गर्नु पर्छ ।

श्रीमदभागवत गितामा भगवान श्री कृष्णले अर्जुनलाई उपदेश दिने क्रममा बताउनुभएको छ की मनुष्य चोलाको रुपमा जन्म लिइसकेपछि एक दिन अवश्यनै यो चोला छाडि जानुपर्दछ । उहाँले भन्नुभएको छ ‘अन्तिम सत्यनै मृत्यु हो । अनि भय किन ? अहिले तिम्रो विपक्षमा उभिएका यि तिम्रा सबै गुरु, पितामह, भाइभारदारहरु लगायत सबै ले यो संसार छाडेर जाने हो हाम्रो शरिर नाशवान छ कुनैपनि कुरा हाम्रो वशमा छैन सबै प्रभुको लिला हो जन्म उहाँले नै दिनुभयो, कर्म पनि उहाँलेनै गराउनु हुन्छ अनि दिन आइसकेपछि उहाँले नै लैजानु हुन्छ । यो तेरो यो मेरो भन्नु सबै झुटा हुन् । अन्तिम सत्य यो मात्र हो की मानिस जन्मेपछि एक दिन अवश्य मर्नु पर्छ । वास्तवमा कोरोनाले पनि हामीलाई यही कुरा राम्रोसँग सिकाएको छ । वास्तवमा, हामीहरूबीच मृत्युप्रति कुनै स्पष्ट दृष्टिकोण नभएका कारणले नै आज हामी कोरोनाबाट यति भयभीत छौँ ।’ त्यसैले मृत्यु सम्बन्धि एक ठोस र स्पष्ट दृष्टिकोण बनाउनु पर्ने देखिन्छ । कोरोना भाइरसले पहिलो पटक मानिसलाई यस विषयमा सोच्न बाध्य बनाएको छ । मानिसलाई परिवार भनेको दुःख पर्दा मन बिसाउने चौतारी रहेछ भन्ने कुरा सिकायो, आत्मीयता साटासाट गर्ने अवसर दियो । यस्तो अवसर सिर्जना गर्यो कि देश भनेको केही होइन् । विश्व एक हुनुको विकल्प छैन् र मानवता सबैभन्दा माथी छ भने सन्देश दियो । यो भन्दा सकारात्मक कुरा के हुन सक्छ ?

जटिल भन्दा जटिल प्राणघातक रोगलाई त आत्मबलले जित्न सकिन्छ भने यो त केवल रुघा खोकी हो । तसर्थ डरभन्दा बढी सतर्कता अपनाऔँ, आत्मबल बलियो पारौं, भ्रम र डरलाई तोडौं, सन्तुलित र रोग प्रतिरोधात्मक खानाहरू खाऔं यति गरियो भने कोरोनालाई सजिलै जितिन्छ । अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने ८० प्रतिशतभन्दा बढी कोरोना सङ्क्रमित व्यक्तिहरू आँफै निको हुने गरेका छन् । यो तथ्यलाई पनि हामी नभुलौ, यसैलाई आत्मसात गरौं र आत्मबल बलियो पारौं । हाम्रो जित अवश्य हुन्छ ।

सन्दर्भ सामग्रीहरू
आत्मविश्वासको भण्डार, स्वेट मार्डन ।
पावर अफ पोजिटिभ भाइब्रेशन, Pritam Paudyal, A motivational Speaker and trainer.
श्रीमद्भगवत गिता यथारुप ।
विभिन्न अनलाइन पत्रपत्रिकाहरु ।

(लेखक हुप्सेकोट गाँउपालिकाका शिक्षा अधिकृत हुन । )

प्रकाशित : २०७७ मंसिर ३ गते १८:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI