बैठक रोक्न महासचिव पौडेलको दौड, सचिवालय सदस्य भन्छन्– बैठक कुनै हालतमा रोकिँदैन

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २ गते १२:४४
बैठक रोक्न महासचिव पौडेलको दौड, सचिवालय सदस्य भन्छन्– बैठक कुनै हालतमा रोकिँदैन

काठमाडौं । नेकपा सचिवालयको बैठक सचिवालयका बहुमत सदस्यले नरोक्ने बताएका छन् । भोलिका लागि बोलाइएको सचिवालय बैठक रोक्न महासचिव विष्णु पौडेलले दौडधुप गरे पनि बहुमत सदस्य भने बैठक नरोक्ने पक्षमा छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने, “बैठक भोलि कुनै पनि हालतमा बस्छ । जे निर्णय लिनुपर्ने हो सचिवालय बैठकले नै लिन्छ ।”

महासचिव पौडेल आज बिहान नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) निवास खुमलटार पुगेर बैठक केही दिन सार्न आग्रह गरेका थिए । उनले भोलिका लागि बोलाइएको बैठक सारेर दुई अध्यक्ष भेटेर समस्याको समाधान खोज्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले भोलिको बैठक जसरी पनि बस्ने र आवश्यक छलफल बैठकमै हुनुपर्ने अडान राखेका थिए ।

“बैठक रोकिँदैन । पूर्व निर्धारित मिति अनुसार भोलि नै बस्छ,” नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने ।

नौं सदस्यीय नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् भने प्रचण्डको पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामवदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाट बढाएका छन् । बरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतमलगायत नेतालाई भेटेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटिसकेका छन् ।

पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्ष/विपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

फाइल तस्बिर

प्रकाशित : २०७७ मंसिर २ गते १२:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI