सकारात्मक सोंचको आवश्यकता किन ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २५ गते १९:५९
सकारात्मक सोंचको आवश्यकता किन ?

तेजचन्द्र खनाल-
“Positive thinking is not a thinking it is a way of life.”
हरेक दिन १४४० मिनेट हुन्छ । यसको अर्थ सकारात्मक परिवर्तन ल्याउनको लागि हामीसँग हरेक दिन १४४० वटा अवसरहरु हुन्छन् । -ले ब्राउन
“Be positive. Your mind is more powerful than you think. What is down in the well comes up in the bucket. Fill yourself with positive things.” – Tony Dungy

सामान्यतया जुनसुकै कुराहरूलाई पनि सकारात्क नजरले हेर्नु नै सकारात्मक सोंच हो । सकारात्मक सोंचले हरेक व्यक्तिभित्र अन्तरनिहित क्षमता र ऊर्जा सिर्जना गरिदिन्छ । व्यक्तिको सोचाईले उसको जीवनस्तर निर्धारण गर्दछ । कुनै कुनै व्यक्तिमा म यो गरीछाड्छु भन्ने सोंच रहेको हुन्छ भने कोही कोही व्यक्तिहरुमा भने त्यस्तो कुनै योजना नै हुँदैन, आजको आवश्यकता कसरी पूरा गर्ने भन्नेमा मात्रै उनीहरुको ध्यान केन्द्रीत रहेको हुन्छ ।

मानव सभ्यताको विकासक्रमको ढुङ्गे युग देखि हालको २१ औ शताब्दि सम्म आइपुग्दा मानिसको विकासक्रम अनुसारनै विविध प्रकारका सोंच विचारहरु देखापर्न थाले, जसमा स्वार्थी, सहयोगी, नैतिक, पारदर्शी, आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक तथा व्यवसायिक सोंचहरु आदि । तिनै विचारहरुलाई दुई खण्डमा विभाजन गरी सकारात्मक र नकारात्मक सोंचको व्याख्या गरिएको हो । हरेक कुरामा सकारात्मक र नकारात्मक सोंच रहेको हुन्छ । हामीले कुनलाई प्राथमिकता दिने भन्ने सोंच नै प्राथमिकताको कुरा हो । सकारात्मक विचार भनेको जहिले पनि राम्रो देख्ने हुन्छ त्यो भनेको धेरैले हिलोलाई घृणा गर्दछन्, मन पराउँदैनन् तर त्यही हिलोमा फुलेको कमलको फुल सबैले मन पराउँछन् । सकारात्मक र नकारात्मक भनेको यही हो ।सकारात्मक सोंच विकासको पूर्वाधार हो भने नकारात्मक सोंचले विनाश मात्र निम्त्याउँछ र यसले आफ्नो चरित्र पनि नकारात्मक नै बनाउँछ ।

प्राणिहरूमध्ये सर्वश्रेष्ठ प्राणि मानवले सधैं सकारात्मक सोंचको अभ्यास गर्नुपर्छ । जसले हाम्रो मानसिकता लाईनै ऊर्जाशिल बनाई हाम्रो कर्म र आचरणमा सुधार ल्याई ज्ञानी बनाइदिन्छ । जो व्यक्ति जीवनप्रति सकारात्मक सोंच राख्दछ, त्यही व्यक्तिले जीवनमा सफलता पाउन सक्छ भने जुन व्यक्तिले सधैं नकारात्मक सोंच मात्र राखिरहन्छ भने उसको पतन एकदिन अवश्यनै हुन्छ । नकारात्मक सोचाई र विचारहरूलाई सकारात्मक सोंचमा परिवर्तन गर्न सके हामीले हाम्रो जीवनमा सफलता पाउन सक्छौँ । त्यसैले सकारात्मक सोंचमा ठुलो शक्ति छ । यसको ठिक विपरीत नकारात्मक सोंचले हामी भित्र रहेको अन्तरनिहित क्षमतालाई ह्रास गराइदिन्छ ।
यसै सन्दर्भमा केही रोचक कथा हरु हेरौं ।

 

प्रेरणा
एउटा परिवारका दुई दाजुभाइ थिए । एकजना लागुपदार्थ लिन्थ्यो, खराब कामहरु गर्थ्यो भने अर्को चाहिं समाजमा सम्मानित र सफल व्यक्तिको रुपमा चिनिन्थ्यो । एकै आमा बाबुले जन्माएका र हुर्काएका यी दुई दाजुभाइमा किन यति धेरै भिन्नता ? कसैले यो भिन्नताको बारेमा बुझ्ने कोसिस गर्यो ।
पहिलोलाई सोधियो, “तिमी खराबै खराब काम मात्र किन गर्छौ ?” उसले भन्यो, “मेरा बुवाले लागुपदार्थ खानुहुन्थ्यो । बुवाले गर्दा घरमा सधै झगडा र कुटाकुट हुन्थ्यो । मैले जे देखें, त्यही नै सिक्दै हुर्किएँ ।”
फेरी दोस्रो भाइलाई सोधियो, “तिमी यति असल छौ, यसको प्रेरणाको स्रोत के हो ?” उसले भन्यो, “मेरा बुवाले लागुपदार्थ खानुहुन्थ्यो र घरमा झगडा निकाल्नुहुन्थ्यो । त्यतिबेला साह्रै नराम्रो लाग्थ्यो तर नराम्रो लागेपनि सहेर बस्नुपर्ने हाम्रो बाध्यता थियो । मेरो बालमनमा यही कुराले गहिरो चोट परेछ क्यारे ! मैले, यस्तै घृणित मान्छे बन्नु हुँदैन भनेर संकल्प गरें । सायद त्यही संकल्पको प्रभाव हो यो ।”
ती दाजुभाइ दुवैको प्रेरणाको स्रोत उही थियो । फरक यत्तिमात्र हो, एउटाले सकारात्मक र अर्कोले नकारात्मक प्रेरणा लियो ।
हामीमा पनि ठ्याक्कै यही कुरा लागु हुन्छ । सकारात्मक सोंच्नेकी नकारात्मक दुवै हामीमा भर पर्दछ ।

 

दुधको पोखरी
एउटा गाउँमा दुधको पोखरी निर्माण गर्ने सल्लाह भयो । एक दिन सबै गाउँले मिलेर पोखरी बनाउनको लागि ठूलो खाडल खन्न थाले । सबैजना मिलेर खनेकोले खाडल खन्ने काम छिट्टै सकियो ।
खाडल खनेर सकेपछि गाउँका मुखियाले उद्घोष गरे, “भोली बिहान यो पोखरीमा सबै गाउँले मिलेर दुध भरिनेछ । त्यसैले भोली बिहानै उज्यालो नहुँदै सबैले एक/एक बाल्टी दुध लिएर आउनु । बिहान घाम झुल्किंदा पोखरी दुधले भरिनुपर्नेछ ।”
मुखियाको कुरामा सहमती जनाउँदै सबैजना घर फर्के । घर पुगेर चतुरनारायणले सोंच्यो, “भोली उज्यालो नहुँदै बाल्टीमा दुध लिएर गएर पोखरीमा खन्याउने भनेको छ । अँध्यारोमै लैजाँदा त, कसैले बाल्टीमा दुध ल्याएको छ की पानी भन्ने चिन्न सक्दैन । फेरी पोखरीमा खन्याउँदा सबैले दुध खनाएका हुन्छन्, मैले मात्र पानी खन्याए भने पनि त्यो दुधमा मिल्छ र पानी खन्याएको भन्ने चिनिदैन ।” यही सोंचले सुतेको उसले बिहान नहुँदै कोही पनि नउठ्दै रातीनै बाल्टीमा पानी लिएर गयो र पोखरीमा खन्यायो ।
बिहान समयमै घाम झुल्किंदा सबै जना दुधको पोखरी हेर्न भनि उपस्थित भए तर त्यहाँ त अचम्मको दृश्य देखियो । पोखरी त पानीले मात्र भरिएको रहेछ । किनकी सबैजनाले चतुरनारायणले जस्तै सोंच बनाएर बाल्टीमा पानी लिएर आएका रहेछन् ।
हामी पनि ठ्याक्कै यस्तै गरिरहेका छौं । आफूले मात्र नियम उल्लङ्घन गर्दा, आफू एकजनाले मात्र फोहोर फ्याँक्दा केही हुँदैन भन्ने मानसिकता राख्दा राख्दै, आफ्नै योजना र आफ्नै लक्ष्यको मूल्यलाई बेवास्ता गर्दै, आफ्नो सकारात्मक सोंचलाई नकारात्मक सोंचले जित्दै हामी पनि हाम्रो समाजलाई, देशलाई, सिस्टमलाई अस्तव्यस्त बनाइरहेका छौं ।अब हामीले “मैले एकजनाले दुध लगेर खन्याए र अरु सबैले पानी खन्याए भने पनि त्यो दुध पोखरी बन्नेछ” भन्ने सोंच किन नराख्ने ? सपार्नु र बिगार्नु हामी आँफैबाट सुरु हुन्छ, त्यसैले आजैबाट आँफूमा सकारात्मक सोँच राखौ ।

 

कानले सुन्न नसक्ने भ्यागुतो
भ्यागुताहरुको समूह कतै हिंडिरहेको थियो । यत्तिकैमा दुईवटा भ्यागुता गहिरो खाडलमा परे । भ्यागुताहरु बाहिर आउनको लागि प्रयास गर्न थाले, तर खाडल गहिरो थियो ।
बाहिर हिंडिरहेका भ्यागुताहरु चिच्याइरहेका थिए, “प्रयास गर्न छोड, खाडल गहिरो छ, तिमीहरु बाहिर आउन सक्दैनौ ।” ती दुई भ्यागुताहरुले प्रयास गरिरहेका थिए भने बाहिरका भ्यागुताहरुले सक्दैनौ भनिरहेका थिए । प्रयास गर्दा गर्दै एउटा भ्यागुता निराश भयो र प्रयास गर्ने छोड्यो । अर्को भ्यागुताले भने प्रयास गरि नै रह्यो । उसका साथीहरुले भने अझै पनि प्रयास नगर्न भन्दै चिच्याइरहेका थिए ।
केहीछिन पछि साँच्चै नै भ्यागुता बाहिर निस्किन सफल भयो । वास्तवमा त्यो भ्यागुतालाई साथीहरुले आफूलाई हौसला दिइरहेका छन् भन्ने लागेको थियो, किनकी ऊ बहिरो थियो ।
कसैले कुनै काम गर्दैछ भने, उसलाई सहयोग गर्न सक्नुहुन्न भने पनि हौसला दिनुहोस्, तपाईंको हौसलाले उसमा हिम्मत बढ्छ । यदि तपाईंले आफूले काम गर्दै हुनुहुन्छ भने अरुले गरेको नकारात्मक आलोचनालाई पनि आफू अगाडी बढ्नको लागि प्रेरणाको स्रोतमा लिनुहोस् ।

 

समस्याको पहाड
एउटा गाउँमा एकजना सन्त बस्थे । गाउँभरिका मानिसहरु उनी कहाँ आफ्ना समस्या लिएर जाने गर्थे । गाउँका अधिकांश मानिसहरु सधै जस्तो उस्तै समस्या लिएर पुग्थे । सन्तलाई गाउँलेहरुको बानी देखेर दिक्क लाग्यो । त्यसपछि उनले एकदिन घोषणा गरे, “अब पाँच दिनसम्म मैले चुटकिलाहरु सुनाएर तिमीहरुको तनाव कम गरिदिनेछु ।”
सन्तको कुरा सुनेपछि सबै गाउँले अर्को दिन भेला भए । सन्तले चुटकिला सुनाए । सबै गलल्ल हाँसे । अर्को दिन पनि गाउँलेहरुलाई चुटकिला सुनाए । तर चुटकिला भने हिजोको नै थियो । गाउँलेहरु कम हाँसे । सन्तले पाँच दिनसम्म हरेक दिन त्यही एउटा चुटकिला सुनाइरहे । पाँचौं दिनसम्म आइपुग्दा त गाउँलेहरु चुटकिला सुनेर हास्नै छोडे ।
गाउँलेहरु खासखुस गर्न थाले, “सँधै उही चुटकिला मात्र सुनाउने । झन् दिक्क लाग्दो पो भयो । बेक्कारमा समयको सत्यानाश !”
दिक्क लाग्दाको भावका अनुहारलाई हेरेर मुसुमुसु हाँसिरहेका सन्तले भने, “तिमीहरु सँधै उही चुटकिला सुन्दा हाँस्न सक्दैनौ भने, सँधै उही समस्या लिएर किन तनावमा रहन्छौ ? सँधै उही चुटकिला सुन्दा समय गएको महसुस गर्छौ भने, सँधै उही गुनासो गरिरहँदा समय गएको पत्तो किन पाउँदैनौ ? किन तिल जत्रो समस्यालाई पहाड बनाउँछौ र त्यसमै सँधै अड्किरहन्छौ ?

“हाम्रा वरिपरि पनि सकारात्मक आँखाले हेरे धेरै उपलब्धिमूलक उदाहरणहरूपनि रहेका छन् । जस्तै शारीरिक रूपमा अशक्त झमक कुमारी घिमिरे सकारात्मक सोंच, लगनशिल र मेहनतका कारणले नेपाली साहित्य आकाशमा चम्किन् र मदन पुरस्कार समेत प्राप्त गरिन् । यदि उनीमा आत्मबल थिएन भने उनी अहिले पनि ओछ्यानमा नै खुम्चिएकी हुन्थिन् । त्यस्तै लाखौँ मानिसलाई आँखाको ज्योति दिने डाक्टर सन्दुक रुइत, सिएनएन हिरोहरु अनुराधा कोइराला र पुस्पा बस्नेत, धुर्मुस सुन्तली फाउन्डेसन, महावीर पुन आदि जस्ता महापुरुषहरु ले एउटा सकारात्मक सोंच राखेर अगाडी नबढेको भए आज उनीहरू यो ठाउमा यस्तो प्रतिष्ठित हुने थिएनन् ।

हामीमा सकारात्मक सोंच ल्याउनका लागि यि कुराहरूमा संधै एकचित्त, लगनशिल र मेहनती भएर लागि पर्नु पर्दछ । सर्वप्रथम त म सकारात्मक छु, अथवा आजैबाट म सकारात्मक हुन्छु भन्रे कुरहरूबाट दिनको सुरुवात गरौँ । हरेक दिन बिहान उठ्ने बित्तिकै सकारात्मक सोचाइबाट दिनको सुरुवात गरौँ । अरूलाई कृतज्ञता प्रकट गर्ने, धन्यवाद व्यक्त गर्ने, साना साना खुसीहरुमा पनि रमाउन सिक्ने, सकारात्क कल्पनाहरू गर्ने र ध्यान गर्ने जस्ता केही उपायहरू सकारात्मक सोंचका आधारभूत तत्वहरु हुन् । यस्ता कुरा पढ्नेभन्दा अनुसरण गर्ने बानी गरौँ जसले हामी भित्र एक किसिमको सकारात्मक उर्जा प्रदान गर्दछ । जहिले पनि बिहान उठ्ने बितिकै जीवनमा आफूले पाएका खुशीहरुको लागि संसारप्रति आभारी हुँदै धन्यवाद व्यक्त गरौँ । आफू जन्मेको स्थान, समाज, देश, बाँचेको धर्ती र वातावरणप्रति सधैँ कृतज्ञ र खुसी व्यक्त सिकौँ ।

ध्यान सकारात्मक सोंचको सबैभन्दा उत्तम उपाय हो । ध्यान गर्दा सबैभन्दा बढी सकारात्मक विचारहरू आउने गर्छन् । ध्यान गर्दा आफूमा भएको सबै नकारात्मक विचारहरूलाई मन र दिमागबाट निकाल्दै सकारात्मक विचारहरू ल्याउन सक्छौँ । एउटा शान्त ठाउँमा बसेर आँखा चिम्म गरेर बिस्तारै बिस्तारै श्वास फेर्नुस् र मनमा भएका नराम्रा विचारहरूलाई बिस्तारै बिस्तारै श्वाससँगै बाहिर फाल्नुस् र राम्रा विचारहरूलाई श्वाससँगै भित्र हाल्नुस् । आहा ! यो नै एउटा स्वर्गिय आनन्द हो । जुन अकल्पनीय छ ।
र अन्त्यमा,
तपाईं जीवनमा केही हाँसिल गर्न चाहनुहुन्छ । तर, त्यो कुरासम्म पुग्नको लागि बाटो सहज पक्कै नहुन सक्छ । जीवनका अनेक परिस्थिति पार गर्दै गर्दा दिमागमा अनेक कुराहरु खेल्न थाल्छन् । यस्तो अवस्थामा निराशामा जाने, डिप्रेसन हुने, मानसिक सन्तुलन गुम्ने या कुनै अप्रिय घटनारु समेत हुने सम्भावना पनि बढ्छ । यसले गर्दा आफ्नो मानसिक स्वास्थ्य ख्याल राख्नु, आँफु भित्र उम्लिरहेका विविध सोंचहरुको व्यवस्थापन गर्नु अत्यन्तै आवश्यक हुन्छ ।

यसै विषयमा सकारात्मक मनोविज्ञानका पिता मानिने मार्टिन सेलिगमन का अनुसार सकारात्मक मनोविज्ञानले खुशी, आनन्द, प्रेरणा, माया, आशा, सन्तुष्टि, अनुग्रह, ममता, सम्भाब्यता तथा उच्च आत्मबल जस्ता सद्गुणहरु विजारोपण गर्छन् । हामी यसैका आधारमा आफ्ना बानीब्योहरा एवं जीवनशैली बनाउदै अघि बढ्छौं । हामीलाई यो विश्व संकटका बेलामा पनि यस्तै सकारात्मक सोंचहरू चाहिएको छ जसले हामी भित्रको नकारात्मकताको भावनालाई निर्मुल पारेर सकारात्मकताको भावनालाई बाहिर आउन मद्दत गरुन् ।

आफूले जिन्दगीमा अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरुको मूल्याङ्कन सकारात्मक दृष्टिकोणबाट गरौँ । यसो गर्दा भविष्यमा पनि त्यस्तै सफलताहरू पाउन प्रोत्साहित हुन्छौं । अनि मनमा पनि आफ्नो काम र जीवन प्रति सकरात्मक विचारहरू आउँछन् । अरूको कहिल्यै कुभलो नसोचौँ । सबैलाई सकारात्मक रूपबाट सोचौँ, आफू सकारात्मक बनौँ । जिन्दगीको सफलता यसैमा निहित रहेको हुन्छ । यो नै मानव जीवनको सार्थकता हो ।

(लेखक हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत हुन ।)

प्रकाशित : २०७७ कार्तिक २५ गते १९:५९
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI