काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । हिजो बेलुकी शाक्यले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसहितको पत्र बुझेका छन् ।
कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि शाक्यलाई ल्याउने तयारी छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याइएको थियो ।
शाक्यले आफू वरिष्ठताको आधारमा कार्यकारी दिर्नेशक बन्नुपर्नेमा अझै हुन नसकेको बताए। कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद्ले गर्छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई फेरि नियुक्तिका लागि कानुनले नदिने भनेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो ।
निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यले आजैदेखि सम्हाल्ने मन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित : २०७७ कार्तिक २४ गते १५:१९
Facebook Comment