कोभिड महामारी: नर्सको डायरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २३ गते २२:१३
कोभिड महामारी: नर्सको डायरी

भावना पाण्डे

पेशाले म नर्स। कतिपयले भन्ने गर्छन नर्स पढेर के गर्छौ? हरेक जस्तो व्यक्तिका भिन्न भिन्न प्रश्नहरूको म बारम्बार सिकार भईनैरहन्थेँ। हुन त के गर्दै छौ नानी? भनेर सोध्नेहरुको भिडमा नर्सिङ गरिरहेको छू भन्दा राम्रो गरेकी छौ, समाजसेवा गर्नु त धर्म हो पनि नभनेका होइनन्।त्यही धर्म र समाजसेवालाई अंगाल्दै यही क्षेत्रमा अहोरात्र खटिरहेछु।

नर्स प्रति हेर्ने दृष्टिकोण हरेक व्यक्तिमा फरक-फरक छ। भन्छन् नर्स त त्यही डाक्टरको पछिपछि ब्लड प्रेसर, कफ  र थर्मोमिटर बोकेर हिड्यो, औषधि दियो अनि केहि कुरा सोध्यो भने झर्कियो। यस्ता क्रुर शब्दहरूले मेरो कोमल मानसपटलमा हर समय प्रश्न सोधिरहन्थ्यो। झकझक्याई रहन्थ्यो। म संम्झिन्छु ति दिनहरु जो बेला रात दिन मिहेनत गरेर पढेको एनाटोमि, साईकोलोजि, बायोक्यामेष्ट्री, माईक्रोबायोलोजि अनि अन्य नर्सिङ बिषयको ज्ञानबाट म फेरी उही बिरामीको सेबा गर्न पुग्छु। आम मानिसको सोँच यसमै सीमित छ। सबै नर्सहरू त्यस्ता सोचका हुँदैनन्। केही अपवादको रूपमा पनि रहेका हुन सक्छन्। तर हरेकलाई एउटै काँटामा तौलिनु भने पक्कै न्यायसंगत देखिँदैन्।

हरेक नर्सले बिरामीको हेरबिचारमा ध्यान दिईरहेका हुन्छन्।नर्सलाई मेडिकल डाईग्नोसिस गरेर औषधी चलाउने हक छैन। सायद उनीहरुलाई थाहा छैन होला आधी भन्दा बढि रोगहरू बिरामीलाई ‌औषधी भन्दा पनि राम्रो स्याहार सुसार गरेरै निको हुन्छन् भन्ने। औषधी भन्दा ठूलो माया ममता र हेरबिचार नै प्रमुख हो। केही रोगहरू औषधीले काम नगर्ने र स्याहार सुसारको तारतम्य मिलेकै अवस्थामा बिरामीलाई हल्का भैसकेको हुन्छ। बिरामीहरूका लागि नर्सहरूको असल व्यवहारले नै बिरामीलाई आधा सन्चो भैसकेको हुन्छ। हरेक बिरामी नर्सहरूका लागि आमा हुन। बाबा हुन। दाजुभाई हुन। सबै परिवार जस्तै।

कोभिड महामारीका बिच हप्तौँ, महिनौ दिन सम्म बिरामीहरूको सेवामै लागिरहँदा परिवारबाट टाढा रहनुपर्ने बाध्यता छ। स्वास्थ्यकर्मी हिँड्ने बाटोहरूमै डोरी तथा ब्यानर टाँगेरै समाजका भद्र भलाद्मीहरू स्वास्थ्यकर्मीहरूको तगारो बनिरहेका छन्। के उनीहरू बिरामी पर्दा, कोरोना संक्रमण बाहेक अन्य शारीरिक असहजताको बावजुद अस्पताल जानु पर्देन? के स्वास्थ्यकर्मीले उपचार गर्नु पर्देन? के स्वास्थ्यकर्मीको सल्लाह आवश्यक पर्देन? किन समाजका भद्र भन्नेहरूनै यि र यस्तै प्रश्नहरूप्रति मुकदर्शक बनिरहेछन्! के समाजलाई स्वास्थ्यकर्मीको आवश्यक नपरेको हो वा उनीहरूलाई पेशा प्रतिको बितृष्णा!

हामी एउटै बिरामी लाई दुई पटक व्यक्तिगत विवरण लिन जाँदै गर्दा भन्ने गर्छन् की कति सोधेको? सबै कुरा भनिसकेका छौँ। तपाईँहरुलाई दुई पटक सोध्दा त झर्किनुहुन्छ, हामीलाई त एउटै बिरामीको पाँच पाँच जना सोधिरहनुहुन्छ। के छ। कस्तो छ। त्सैमा २० भन्दा बढी बिरामीको कुरुवाले सोधिराख्दा कस्तो हुन्छ? यसको मतलब नसोध्नुस् भनेको होइन, कुरुवाहरुले पनि के भयो भनेर ह्यान्डओभर दिँदै गए त हुन्छ नि। अनि फेरी एउटै काम मात्र पनि त हुँदैन केयर, मेडिसिन, डकुमेन्टेशन वार्ड व्यवस्थापन लगायतका धेरै काम हुन्छन्। एक/दुई जना स्टाफले सबै कामको तारतम्य मिलाउनु छँदैछ।खाजा खाने सम्म त परको कुरा कैयन दिन शौचालय जाने समयको प्रवाह नगरी बिरामीकै निम्ती समय छुट्याउनु पर्छ।धन्य होस्।स्वास फेर्नलाई समय छुट्याउनु पर्दैन र मात्रै सबैचिज चलेकै छ।

म त भन्छु नर्स हुन हिम्मत, आँट र साहस चाहिन्छ। दुखाईमा छटपटाईरहेका बिरामीको कुरा बुझिदिने ममतामयी माता समान एउटै परिवारको सदस्यको रूपमा उभिनसक्नुपर्छ। टिलपिल आँशुले छचल्किएका आँखाको भावहरू बुझ्न सक्ने अक्षम्य साहस हुनुपर्छ। आँशु रोकेर मुहारमा खुशी ल्याउनसक्ने हिम्मत राख्नुपर्दछ।उपचारकै शिलशिलामा हुने अन्तिम बिदाईले कति दिनसम्म आफैलाई दुखी बनाईरहन्छ। मुटु निचोरिरहन्छ। आँखा अगाडि ह्रदयबिदारक कारूणिक क्षणहरू घुमिरहन्छ। अरुको दु:खाइले आफ्नै मुटु घोचिरहन्छ। कैयन नर्सहरू घरमा आफ्नो तीन महlने दुधे बच्चा काखमा च्याँपेर उनको स्याहार सुसारमा बिताउनुपर्ने समय अस्पतालमा एउटा आमालाई Exclusive Breast Feeding को बारेमा सिकाईरहँदा पनि खुशी सम्झेर आँशुका ढिक्काहरू खसाल्ने मेरा कैयन मित्रहरूका पनि भोगाईहरू नदेखेको होईन। आखिर बुझ्ने कस्ले? बुझिदिने कस्ले? परिवारकै मातृत्व भावबाट बिमुख भएर बिरामीकै सेवामा अहोरात्र खटिँदै गर्दा हाम्रा दु:ख र भावहरू के पैसाले मात्रै साटिएलान? पैसाले मात्रै किन्न सकिएला?

 कहिलेकसो लाग्छ, यो सबै केका लागी? मेरो आफ्नो जिन्दगी खोई त? मैले मेरो परिवारलाई किन समय दिन सकिन? यस्ता अनगिन्ति प्रश्नहरु छन् जस्को म जबाफ दिन चाहन्न वा जबाफ खोज्ने प्रयत्न नै गरिन।
अझ पिडा त त्यतिखेर हुन्छ जब अस्पतालले भन्छ की अहिले बिरामीको चाप घट्यो अस्पताल घाटामा गको छ, बेतलबी बिदा बस्नुस्, अनि बिरामीको चाप बढ़यो भने दोब्बर डउटी  राख्यो। बिदा दिने त कुरै छैन।आखिर यस्तो कामको पेलाई कहिलेसम्म?

हरेक नर्स तथा स्वास्थ्यकर्मीलाई मेसिनसंग दाँजिएको छ। उनीहरूको कामको मूल्याङ्कन छैन्। काम अनुसारको सेवा सुबिधाको यथोचित व्यवस्था छैन्। समयमा तलब छैन्। अस्पतालको फाईदाकै लागि, अस्पतालकै साख बृद्धिका लागि आखिर रोबोट जस्तै एउटा मानव शरिरलाई कतिन्जेल उभ्याईरहने? तर यस्तो अबस्थामा पनि हामीले आफ्नो ड्यूटी भुलेका छैनौ। आफ्नो जिम्मेवारीबाट पञ्छिएका छैनौँ। किनकी यो हाम्रो जिम्मेवारी हो। संस्थाप्रतिको बफादारी हो।

हामी जस्तै जीउ ज्यानको प्रवाह नगरी कोरोना महामारीका बिच पनि अग्रपंक्तिमा रहेर अहोरात्र खटिईरहनु भएका निर्दोष स्वास्थ्यकर्मी माथी गरिएका अभद्र, अपमानजनक व्यवहार र आक्रमण अक्षम्य अपराधहरू हुन्। मानव बाटै भैरहेका यस्तै असभ्य र अक्षम्य अपराधजन्य कृयाकलापहरूले हरेक स्वास्थ्यकर्मीहरूको मनोबलमा हरेक प्रहर चोटहरू पुर्‍याएको सहजै आंकलन गर्न सकिन्छ।भर्खर भर्खर लाखौँ खर्चेर उच्च भविष्यको सपना देखेका कैयन स्वास्थ्यकर्मीहरूको कोमल मनमा कति यस्तै अपत्यारिला चोटहरूहरूले बारम्वार स्वास्थ्यकर्मी हुनुमै वा यस पेशामा लाग्नुनै गल्ती हो कि भन्ने भान पैदा गरिरहन्छ।

कोरोना महामारीका बिच कैयन स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित व्यक्तिको उपचारमा खटिरहेकै अवस्थामा संक्रमित हुन पुगेका छन्। संक्रमित व्यक्तिको उपचारमा खटिरहँदा अहोरात्र ग्लोब्स, माक्स, फेस सिल्ड, पिपीई, डाईपर तथा बुट र स्यानिटाईजको प्रयोग गरिरहनुपर्ने बाध्यता छ। यो पक्कै सहज छैन्।असहजताको बिच पनि समयलाई सहर्ष स्वीकार्दै सेवामा हरप्रहर समर्पित हुनु परिरहेको छ।

कोरोना महामारीका बिच अग्रपंक्तिमा खटिईरहेका स्वास्थ्यकर्मीलाई सुरक्षा, उच्च मनोवल, हौसला तथा असल नेतृत्व चाहिरहेको बेला समाजबाटै बिभेदजन्य कृयाकलाप र स्वास्थ्यकर्मी प्रति गरिएको बितृष्णा र पेशा प्रतिको बिभेदकारी व्यवहारले हरेक स्वास्थ्यकर्मीको मनोवलमा ह्रास सृजना गरिरहेको छ।

स्वास्थ्यकर्मीबाटै कोरोना संक्रमण फैलिन्छ भन्ने अपवाह फैलाउँदै कैयन स्वास्थ्यकर्मीहरू आफ्नै घरबाटै आवतजावत गर्न पाईरहेका छैनन्।परिवारकासाथ खुशी साट्न पाईरहेका छैनन्। समाजबाट बहिष्कार गरिरहेछन्। वासस्थानबाट लखेटिरहेका छन्। कतिपय ठाउँहरूमा अराजक हुलदङ्गाका बिच घेराउमा परेका छन्। मिठो मसिनो खाँदै परिवारका साथ समय व्यतित गर्न पाईरहेका छैनन्। हप्तौँ, महिनौ दिन सम्म बिरामीहरूको सेवामै लागिरहँदा परिवारबाट टाढा रहनुपर्ने बाध्यता छ।उनीहरू हिँड्ने बाटोहरूमै डोरी तथा ब्यानर टाँगेरै समाजमा भद्र भलाद्मीहरू स्वास्थ्यकर्मीहरूको तगारो बनिरहेका छन्। के उनीहरू बिरामी पर्दा, कोरोना संक्रमण बाहेक अन्य शारीरिक असहजताको बावजुद अस्पताल जानु पर्देन? के स्वास्थ्यकर्मीले उपचार गर्नु पर्देन? के स्वास्थ्यकर्मीको सल्लाह आवश्यक पर्देन? किन समाजका भद्र भन्नेहरूनै यि र यस्तै प्रश्नहरूप्रति मुकदर्शक बनिरहेछन्! के समाजलाई स्वास्थ्यकर्मीको आवश्यक नपरेको हो वा उनीहरूलाई पेशा प्रतिको बितृष्णा! यस्तै संकट र महामारीमा स्वास्थ्यकर्मीले हात उठाउँदा देश र जनताको हविगत के होला? यसको जवाफ कस्ले दिने? जिम्मेवारी कसले लिने? तपाईँहरूले नसोँचे कस्ले सोँच्ने? त्यसैले स्वास्थ्यकर्मीप्रति तपाईँहरू जस्तै व्यक्तित्वले सोँच बदल्नु छ। संसार बदल्नु छ।

बि. एन. एस. प्रथम बर्ष, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान

ललितपुर

प्रकाशित : २०७७ कार्तिक २३ गते २२:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI