‘पठान’मा दीपिकालाई १५ करोड

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २३ गते १८:३४
‘पठान’मा दीपिकालाई १५ करोड

मुम्बई :  जवाहरलाल नेहरु युनिभर्सिटीमा विद्यार्थीले गरेको प्रदर्शनमा मौन समर्थन जनाए पछि  दीपिका विवादमा परेकी थिइन् । यसले रिलिजको संघारमा रहेको ‘छपाक’लाई पनि असर गरेको थियो ।  केही अतिवादीले उनको फिल्म बहिष्कार गर्ने अभियान नै चलाएका थिए । हालसालै पनि दीपिका लागू पदार्थ सेवन गरेको अभियोगमा प्रहरीको निगरानीमा छिन् ।

उनको पूर्व म्यानेजरलाई प्रहरीले दोस्रो चोटि पक्रेर सोधपुछ गरिरहेको छ । यसको असर के छ भने केही ब्रान्ड दीपिका पादुकोन छाडेर अरु हिरोइनको पछि लागेका छन् । ब्रान्डको कुरा के कसो हो थाहा छैन तर फिल्ममा भने दीपिका आज पनि एक नम्बर हुन् । यो कुरा भर्खरै यशराज फिल्मले उनलाई फिल्म खेलाउन तिरेको रकमको हल्लाले पनि पुष्टि गर्छ ।

 

 

बलिउड हंगामाका अनुसार यशराजले बनाउन लागेको नयाँ फिल्म ‘पठान’मा दीपिकालाई महंगो रकम तिरेर अनुबन्ध गरेको छ । सो अनलाइनले फिल्मका लागि दीपिकाले १५ करोड भारु लिएको समाचार छापेको छ । शाहरुख खान र जोन अब्राहमको समेत मुख्य भूमिका रहने फिल्मका लागि जोनले यसअघि नै २० करोड लिएको समाचार बाहिरिएको थियो । दीपिकाले पनि उनकै हाराहारीमा १५ करोड लिन लागेको बताइएको छ । बलिउड हंगामाका अनुसार फिल्ममा जोनले नेगेटिभ भूमिका निर्वाह गरिरहेका छन् ।

शाहरुखले भने फिल्ममा पारिश्रमिक लिने गरेका छैनन् । उनले धेरै वर्ष अघिदेखि पारिश्रमिकवापतको पैसा शेयरको रुपमा लगाउने गरेका छन् । उनले एउटा अन्तर्वार्तामा आफूलाई दिने पैसा फिल्ममा लगाउन आग्रह गर्ने गरेको दाबी गरेका थिए । नभन्दै शाहरुखले खेल्ने फिल्ममा निर्माताको रुपमा गौरी खानको नाम रहने गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक २३ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI