अनुकूल वातावरणको अभाव भएपछि लोप हुँदै घैया धान

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १५ गते १८:०५
अनुकूल वातावरणको अभाव भएपछि लोप हुँदै घैया धान

गलेश्वर, कातिक १५ गते। अनुकूल वातावरणको अभाव भएपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् । सिँचाइको सुविधा नपुगेका भिरालो पाखामा खेती गर्न सकिने घैया धान कृषकले लगाउन छाडेपछि लोप हुने अवस्थामा पुगेको हो । अनुकूल वातावरणको अभावमा कृषकले सो जातको धानखेती गर्न छाडेको जिल्लाको वातावरण तथा जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आउनुभएका चन्द्रमणि सापकोटाले बताउनुभयो ।
विशेषगरी मकै बालीभित्र वैशाख÷जेठमा घैया धान छर्ने र त्यसैबाट वर्षदिनको धान उत्पादन गरी जीविका चलाउने यहाँका कृषकले घैया धान लगाउनै छाडेपछि अहिले जिल्लाबाटै हराउँदै गएको छ । जिल्लाको गुर्जा, मुना, लुलाङ, मुदी, मराङ, कुईने, पाखापानी, दाना, चिमखोलालगायत क्षेत्रमा घैया धानखेती हुन छाडेको हो ।

पहिले घैया धानखेती हुने उच्च पहाडी क्षेत्रका सयाँै रोपनी खेतबारी अहिले बाँझै भएको दानाका कृषक बेलबहादुर पुर्जाले बताउनुभयो । “विगत तीन वर्षयता घैया धान उत्पादन नै हुन छाडेको छ”, उहाँले भन्नुभयो, “कसैले कोदो त कसैले मकै खेती गरेका छन् भने अधिकांश जमीन गौचरनमा परिणत भएको छ ।”

कृषि प्राविधिकहरूका अनुसार समयमै वर्षा नहुने र बढ्दो तापक्रमका कारण अनुकूल वातावरणको अभावमा स्थानीय जातका खेतीबाली उत्पादनमा असर परेको हो । घैया धान वैशाख जेठमा रोपेर कात्तिक, मङ्सिरमा भित्र््याउने गरिन्छ ।

पौष्टिक तत्वको मात्रा अधिक हुने घैया धानलाई स्थानीयवासीले औषधिको रूपमा पनि प्रयोग गर्छन् । घैया धानको चामल खाँदा बास्ना आउने र स्वादिलो हुने भए पनि गाउँघरबाट लोप हुँदै गएपछि पछिल्लो पुस्ता यस खेतीप्रति अनभिज्ञ छन् ।-रासस

प्रकाशित : २०७७ कार्तिक १५ गते १८:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI