बढ्न थाल्यो चिसो

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १४ गते ८:४१
बढ्न थाल्यो चिसो

काठमाडौँ, कात्तिक १४ गते । मनसुन बाहिरिएर शरद ऋतुको आगमनसँगै देशभर विस्तारै चिसो बढ्न थालेको छ । विशेष गरी रातको समयमा चिसो बढ्न थालेको अनुुभव गर्न थालिएको छ । यस वर्ष हिउँदमास सुरु नहुँदै जुम्लामा शून्यभन्दा तल न्यूनतम तापक्रम पुगेको छ । काठमाडौँसहित अन्यत्र केही जिल्लामा ११ डिग्री आसपास न्यूनतम तापक्रम रेकर्ड भएको छ ।
पोष्ट मनसुनको अवधि मानिने असोज, कात्तिक र मङ्सिरको आधाआधीको समय आकाश खुलेर सफा हुने समय हो । तथापि जाडो निम्त्याउँदै मौसमलाई चिसोतिर धकेल्ने पश्चिमी वायुको गति बढाउने समय पनि यही हो । यद्यपि अहिल्यै जाडो आइसकेको भने होइन । “अघिल्ला वर्षमा अहिलेभन्दा चिसो भइसकेको थियो, यसपाला मनसुन ढिला बाहिरिएकाले चिसो बढ्न केही ढिला भएको छ,” मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो ।
बुधबार रातिदेखि अघिल्ला दिनभन्दा बिहान, बेलुका र राति चिसो अलिक बढेको उहाँले बताउनुभयो । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको मन्द चाप बढ्दै गरेको महसुस काठमाडौँका बासिन्दाले गरेका छन् । मौसमविद् मानन्धरका अनुसार, अब दिनदिनै जसो तापक्रम घट्दै जानेछ । अधिकतम तापक्रम २० डिग्री सेन्टिग्रेटभन्दा ओरालो लाग्न थालेपछि भने हिउँदको जाडो सुरु हुने उहाँले बताउनुभयो । अधिकतम तापक्रम करिब १५ डिग्री सेन्टिग्रेट हुँदा न्यूनतम तापक्रम झन् ओर्लेर तल पुग्नेछ । गएरातिदेखि बिहान पौने ९ बजेसम्म न्यूनतम तापक्रम अरू दिनभन्दा तल झरेर ११.४ डिग्री सेन्टिग्रेट कायम रहेको थियो । अधिकतमतर्फ भने २६ डिग्री सेन्टिग्रेट रहेको थियो ।
देशका मुख्य सहरमध्ये दिपायलमा ३०.५ अधिकतम तापक्रम र ११ डिग्री न्यूनतम तापक्रम कायम थियो । त्यस्तै, डडेल्धुरामा अधिकतम २१.८ र न्यूनतम तापक्रम १०.१, धनगढीमा ३२ अधिकतम र १४ डिग्री न्यूनतम तापक्रम, वीरेन्द्रनगरका २९.३ अधिकतम, ११.७ न्यूनतम र नेपालगञ्जमा ३२.५ अधिकतम र १५.५ न्यूनतम तापक्रम थियो । जुम्लामा देशभरमै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । जसअनुसार २२ डिग्री अधिकतम र ०.५ डिग्री न्यूनतम तापक्रम पुगेको थियो । त्यस्तै, घोराहीमा २९.२ अधिकतम, १४ डिग्री न्यूनतम तापक्रम रह्यो । पोखरामा २८.५ अधिकतम र १३.६ न्यूनतम, भैरहवाको ३४.४ अधिकतम र १६.५ डिग्री न्यूनतम, सिमरामा अधिकतम ३३ र १७.४ न्यूनतम तापक्रम रहेको छ । ओखलढुङ्गामा २३.३ अधिकतम र १३.५ डिग्री न्यूनतम तापक्रम, विराटनगरमा ३३ अधिकतम र १९.२ न्यूनतम, जनकपुरमा ३३.५ अधिकतम र १३.२ न्यूनतम तापक्रम रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको केही दिन सुक्खा मौसम नै रहने र वर्षाको सम्भावना नरहेको मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा जाडो महिना सुरु हुनुअघि देशभर हल्का वर्षा हुने सम्भावना छ ।

प्रकाशित : २०७७ कार्तिक १४ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI