मुकेश चौरसिया हत्या प्रकरणः छैठौ दिन पनि प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते १९:४१
मुकेश चौरसिया हत्या प्रकरणः छैठौ दिन पनि प्रदर्शन

वीरगंज, १२ कात्तिक । मुकेश चौरसियाको हत्यारालाई कारबाईको माग गर्दै आज छैठौं दिन पनि प्रदर्शन भएको छ । नेकपा विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष विक्रम चौरसियाको नेतृत्वमा निस्किएको प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी आसमान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रदर्शनकारीहरुले प्रदर्शनको क्रममा प्रहरी उपरीक्षक गंगा पन्तको पुतला पनि दहन गर्दै नगरपरिक्रमा गरेका थिए । नगरपरिक्रमापछि जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

नेकपा नगरअध्यक्ष रहवर अन्सारीले ज्ञापनपत्र बुझाउँदै उजुरी दर्ता गरी अपराधीमाथि कारबाई, स्व चौरसियालाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार गर्न माग गरिएको छ ।

चौरसियाको शव ६ दिनदेखि नारायणी अस्पतालको शवगृहमा थन्किएको छ भने शव कुहिंदै गएको छ । यता प्रहरी उपरीक्षक पन्तले केही व्यक्तिको नाम हटाएर उजुरी सच्याएर ल्याउन भनेपछि उजूरी दर्ता नभएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रदर्शनमा जिल्ला इन्चार्ज रामचन्द्र साह, विचारी यादव, शम्भु गुप्ता, बालगोपाल थापालगायतको उपस्थिति थियो ।

प्रकाशित : २०७७ कार्तिक १२ गते १९:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI