गोयलका कारण नेकपाको राजनीतिमा तरंग

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते ९:५३
गोयलका कारण नेकपाको राजनीतिमा तरंग

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलेसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसँग बालुवाटारमा भेटेपछि यसले नेपाल कम्युनिस्ट पार्टीको राजनीतिभित्र तरंग ल्याइदिएको छ । नेकपाका पहिलो पुस्ताका नेताहरु यो घटनाबारे मौन छन् । तर, ओलीविरोधी समूहका दोस्रो पुस्ताका केही नेताहरुले यसको आलोचना गरेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री ओलीले गोयलसँग भेटेको घटनाको आलोचना गरेका छन् । यसलाई कूटनीतिक मर्यादा उल्लंघन भएको टिप्प्णी गरेका छन् । पूर्व उपप्रधानमन्त्री भीम रावलले पनि यसको चर्को आलोचना गरेका छन् । पम्फा भुषाल पनि यसको विरोधमा बोल्नेमा पर्छिन् ।

प्रकाश प्रचण्ड निकट हुन् भने रावल माधवकुमार नेपालसँग नजिक छन् । तर, प्रचण्ड र माधव नेपाल दुवैले यसबारे बोलेका छैनन् । उनीहरुसँग नजिक दोस्रो पुस्ताका नेताले यसको विरोध गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेटको भोलिपल्टै यसबारे खुलाइसकेका छन् । उनले यसलाई शिष्टाचार भेट भने । तर, भारतका गुप्तचर प्रमुखलाई बालुवाटारमा भेटेको विषयले नेकपाको राजनीतिमा तरंग आएको छ ।

ओली केही समययता भारतको चर्को विरोधमा प्रस्तुत हुँदै आएकोमा एकाएक गोयलसँग बालुवाटारमा भेट भयो । यसलाई उनले भारतसँग सम्बन्ध सुधार्न खोजेको रुपमा पनि हेरिए्रको छ । ओलीले चाहेरै गोयल विशेष विमानमा काठमाडौ उत्रिएका थिए । उनले एक रात बसाईंमा महत्वपूर्ण भेटवार्ताहरु गरेको बताइन्छ ।

भारतका स्थल सेनापति एम एस नरवाणे १९ कात्तिकमा नेपाल भ्रमणमा आउने तय हुँदा गोयल काठमाडौं आएर फर्किए । यसबीच ओलीले रक्षामन्त्री आफैसँग राखे । अब नरवाणेसँग प्रधानमन्त्री र रक्षामन्त्री दुवैका रुपमा ओलीले सुरक्षा सम्बन्धी कुराकानी गर्नेछन् । यसमा पनि ओलीको रणनीति देखिन्छ ।

प्रधामन्त्री केपी शर्मा ओलीले पछिल्लो एक महिना नयाँ कदमहरु चाल्दै आएका छन् । जसमध्ये अमेरिका र बेलायतको राजदूत नियुक्तिको सिफारिश, मन्त्रिमण्डल पुर्नगठन र गुप्तचर भेट पनि पर्छन् । यी तीनवटै विषयमा ओलीप्रति नेकपाभित्र असन्तुष्टि बढेको छ । नेकपाको अबको राजनीतिमा यसले मुद्दाको रुप लिनेछ । विशेषगरी गोयलको भेट बहाना बन्न सक्छ । यसले नेकपाको आन्तरिक राजनीतिमा तरंग ल्याइसकेको छ । यसलाई ओलीले कसरी ध्यान मोड्ने हुन् हेर्न बाँकी छ ।

प्रकाशित : २०७७ कार्तिक १२ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI