ब्ल्याक पर्ल अथात् ‘कालो मोती’ अझ एक वर्ष बुढो भएका छन् । यो उनका प्रशंसकका लागि खुसी हुने एउटा बहाना भएको छ । अक्टोबर २१ मा उनी ८० वर्षका भए । उनको पूरा नाम हो, एडसन आरन्टोस डो नासिमेन्टो । उनको जन्म प्रमाणपत्रले जन्ममिति १९४० को अक्टोबर २१ भन्ने गर्छ । त्यसमा उनको पहिलो नाम एडिसन भनेर उल्लेख छ ।
पेले आफैं भने आफ्नो जन्मदिन अक्टोबर २३ मान्छन् । जन्ममितिमा फरक दाबी भए पनि उनी विश्व फुटबलका निर्विवाद सर्वकालीन महान् खेलाडी हुन्, यसमा दुईमत छैन । उनीबारे रोयटर्सले तयार पारेको समाचार ।
पेलेका अविश्वसनीय पाँच मोड
पेलेले १ हजार ३ सय ६३ खेल खेले अनि गोल गरे, १ हजार २ सय ८१ । आफ्नो देश ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरे । उनले विश्वकप तीनपल्ट जिते । यस्तो उपलब्धि आत्मसात् गर्ने उनी अहिलेसम्मकै एक्ला खेलाडी हुन् । सन् १९५८, १९६२ र १९७० मा उनले यो उपलब्धि हात पारेका हुन् । उनलाई के मात्र भनिन्न ? जादुगर, महान् हस्ती, विश्वले सबैभन्दा चिनेका अनुहारदेखि ब्राजिली नायक । तर यी सबै शब्दले उनी कप्तान खेलाडी थिए, त्यो भने ठ्याक्कै बयान गर्छ ।
व्यक्तिका रूपमा उनी कम्ती सानदार थिएनन् । फुटबललाई ‘सुन्दर खेल’ मानिन्छ । यसको कारण हो, उनी जस्ता खेलाडी हुनु नै । विश्व फुटबलले उनी जत्तिको प्रतिभाशाली र कला भएको खेलाडी छैन भनेर मान्छ । अनि उनीसँग तुलना गर्न मिल्ने खेलाडी पनि छैन भनिन्छ । उनका फुटबल साथी क्लोडोल्डो भन्छन्, ‘केही देशमा उनलाई छुनु नै ठूलो मानिन्छ । केहीले उनलाई चुम्बन गर्न चाहन्छन् । अझ केहीले त उनले खेलेको मैदानलाई पनि चुम्ने गर्छन् ।’ कम्ती सुन्दर छैन र यो तथ्य ? पेलेको खेलजीवनको पाँच निर्णायक मोड यस प्रकार छन् :
जब पेलेले युद्ध रोके
पेलेले युद्ध रोके रे ? हो, ठीकै सुन्नुभएको हो । पेलेले साँच्चै युद्ध रोकेका छन् । ब्राजिलले यी आफ्नो छोरालाई अमूल्य सम्पत्ति मान्छ र ती कतिसम्म अमूल्य थिए भनेको छ सन् १९६७ मा देखियो, जतिबेला पेले नाइजेरियाको लागोस पुगे, मैत्रीपूर्ण प्रदर्शन खेलका लागि ।
त्यतिबेला नाइजेरिया चर्को गृहयुद्धबाट गुज्रिरहेको थियो । तर गज्जब भयो, जतिबेला युद्धमा होमिएका दुई पक्षले ४८ वर्षको युद्धविराम गरे । कारण थियो, सबैले पेलेले खेलेको हेर्न पाओस् ।
सान्तोसमा डेब्यु
ब्राजिलका अर्का पूर्व खेलाडी वाल्डेमर डे ब्रिटोले सन् १९५६ मा १५ वर्षीय पेलेलाई सान्तोस पुर्याए । उनले क्लबका निर्देशकलाई भनेछन्, ‘यी किशोर खेलाडी कुनै दिन विश्वकै सबैभन्दा महान् खेलाडी हुनेछन् ।’ नभन्दै पेलेले पटक्कै समय खर्चेनन्, आफ्नो उम्दा प्रतिभा सिद्ध गर्न । सन्तोषमा उनले चाँडै खेल्न पाइहाले र सन् १९५६ को सेप्टेम्बर ७ मा गोल पनि गरे, कोरिनथियन्सविरुद्धको खेलमा । त्यसमा सान्तोस ७–१ ले विजयी भएको थियो ।
ब्राजिलको पहिलो विश्वकप
पेलेले भनेका छन्, ‘जतिबेला हामी स्विडेनमा पुगेका थियौं, ब्राजिलबारे कसैलाई थाहा थिएन । बरू अर्जेन्टिना र उरुग्वेबारे सुनेको थिएँ । म त अचम्मै परें । मलाई के लागेको थियो भने पूरा विश्वलाई ब्राजिलबारे थाहा छ । तर स्विडेनमा त्यस्तो केही छनक थिएन । जतिबेला हामीले विश्वकप जित्यौं, सबैले ब्राजिलबारे थाहा पाए । मेरो विचारमा मैले आफ्नो देशका लागि दिएको सबैभन्दा ठूलो योगदान भनेकै यही हो । आखिरमा त्यो विश्वकपछि हामीलाई सबैले चिन्यो ।’
त्यतिबेला पेले भर्खर १७ वर्ष ७ महिनाका थिए । उनकै नाममा बनेको थियो, विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान । पछि त्यसलाई सन् १९८२ मा उत्तरी आयरल्यान्डका नर्मन ह्वाइटसाइडले तोडे । पेले र त्यस विश्वकपमा ६ गोल गरे, चार खेलमा । त्यसमध्ये स्विडेनविरुद्धको फाइनलमा दुई गोल गरे । त्यो खेल ब्राजिलले ५–२ ले जित्यो । यो नै पहिलो त्यो अवसर थियो, जतिबेला पेलेबारे विश्वले साँच्चै थाहा पाए ।
सन् १९७० को विश्वकप सफलता
पेले ३० वर्ष पुग्नै लागेका थिए, सन् १९७० को त्यस मेक्सिकोको विश्वकपअगाडि संन्यास लिने सोचसमेत बनाइसकेका थिए । तर प्रतियोगिताको ठीकअगाडि उनले मन बदले । त्यस विश्वकपमा उनले चार गोल गरे र प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए ।
इटालीविरुद्धको फाइनलमा उनले कार्लोस अल्बर्टोका लागि सटिक पास उपलब्ध गराएका थिए र त्यसमै गोल पनि भयो । यसलाई विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट गोलमध्ये एक मानिन्छ ।
न्युयोर्क कसमसमा अनुबन्ध
सन् १९७४ मा पेलेले खेलबाट संन्यास लिए । त्यतिबेला उनलाई फुटबल छाडेर अन्य व्यवसायमा रूचि बढेको थियो, त्यसैले पैसाकै लागि उनलाई फेरि फुटबलमा फर्कन आवश्यक थियो । धेरै युरोपेली क्लब उनलाई अनुबन्ध गर्न चाहन्थे, तर पेलेले रोजे, न्युयोर्क कसमस । उनले त्यस क्लबसँग १९७५ मा अनुबन्ध गरे र तीन वर्षसम्म खेले । भनिन्छ, पेलेले सान्तोसका लागि खेले पूरा जीवनमा जति कमाएका थिए, त्यो भन्दा बढी कमसमका लागि खेलेर कमाए ।-रोयटर्स
Facebook Comment