गैंडाकोटमा होम आईसोलेसनमा रहेका एक जना पुरुषको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ३ गते ९:२८
गैंडाकोटमा होम आईसोलेसनमा रहेका एक जना पुरुषको मृत्यु

प्रेम क्षेत्री ,कार्तिक ३, गैंडाकोट । गैंडाकोटमा होम आईसोलेसनमा रहेका एक जना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पश्चात होम आईसोलेसनमा रहेका गैंडाकोट १२ का ८५ वर्षिय वृद्धको मृत्यु भएको हो । उनको गत असोज २६ गते स्वाब लिईएको थियो । उनमा असोज ३० गते कोरोना (कोभिड १९) पुष्टि भएको थियो । उनको आईतबार राति मृत्यु भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाको उपस्थितीमा घर परिवारले नै दाहसंस्कार गरेका छन् । हिन्दु संस्कार अनुरुप जलाईएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकारले होम आईसोलेसनमा रहेका व्यक्तिको मृत्यु भएको खण्डमा अब नेपाली सेना उपस्थित हुन नपर्ने, जनप्रतिनिधी, स्थानीयको रोहोवरमा परिवारजनले चाहे अनुरुप शव व्यवस्थापन गर्न सक्ने परिपत्र गरेको समेत जनाईएको छ ।
यो सँगै गैंडाकोटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको उहाँले जानकारी दिनुभयो । यसअघि गैंडाकोट १, ५ र ९ का ३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । गैंडाकोट १६ का एक व्यक्तिको शवको स्वाब लिदाँ कोरोना पुष्टि भएको थियो । शवको स्वाब रिपोर्ट पोजेटिभ रहेपनि मृत्यु अघि लिईएको स्वाबमा नेगेटिभ देखिएकाले यसलाई मृत्युको तथ्यांकमा नराखिएको नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो ।

प्रकाशित : २०७७ कार्तिक ३ गते ९:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI