अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २ गते १७:५९

काठमाडौं। अबदेखि कोभिड-१९ बाट संक्रमित भएका बिरामीले आफ्नै खर्चमा उपचार गराउनुपर्ने भएको छ। अहिलेसम्म पीसीआर परीक्षण र उपचार सरकारले बेहाेर्दै आएको थियो।

 

सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्‍गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

 

“विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, ज्येष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइका कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गरिने छ,” प्रवक्ता गौतमले भने, “तर उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिने छ।’

 

सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा आजैदेखि यो निर्णय लागू भइसकेको प्रवक्ता गौतमले बताए।

कोरोनाको उपचारका लागि रेम्डिसिभिर औषधि मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए।

 

तीन दिन लक्षण नदेखिए १० दिनमै डिस्चार्ज

 

अबदेखि अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई तीन दिनसम्म लक्षण नदेखिएमा १० दिनमै डिस्चार्ज गरिनेछ।

 

अस्पतालमा भर्ना भई तीन दिनसम्म लक्षण नदेखिएमा १० दिनमै डिस्चार्ज गरिने प्रवक्ता गौतमले बताए। यसअघि तीन दिनसम्म लक्षण नदेखिएमा १४ दिनपछि मात्रै डिस्चार्ज गरिँदै आएको थियो।

त्यसरी डिस्चार्ज भएका व्यक्ति कम्तीमा सात दिन होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने उनको भनाइ छ।

प्रकाशित : २०७७ कार्तिक २ गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI