बडादशैंको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १ गते ७:१४
बडादशैंको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, कार्तिक १। बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा सुनील सिटौलाले बताएका छन् । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

यो बर्ष ११ः४६ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिने भएको छ ।

सोही साइतमा हनुमान ढोका दरबारको दशैँ घरमा धार्मिक विधिअनुसार घटस्थापना गरिने भएको छ । दशैँ घरका मूल पुरोहित देवराज अर्यालले बिहानको ११ः४६ को साइतमा घटस्थापना गरिने बताए । विगत दुइ दर्शक लामो समय पुरोहितको काम गर्दै आएका अर्यालले यस बर्ष कोरोना भाईरसको जोखिम भएको कारण विधिपुर्वक मात्रै सामान्य पुजा गर्ने बताए ।

प्रकाशित : २०७७ कार्तिक १ गते ७:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI