संसदको विशेष अधिवेशन बोलाउन काँग्रेसकाे माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते २१:०८
संसदको विशेष अधिवेशन बोलाउन काँग्रेसकाे माग

काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड-१९) संक्रमण काबुबाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्‍घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ।

 

काँग्रेसको कोभिड-१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिंदै गएको र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउन माग गरेको जनाएको छ।

समितिले अहिलेसम्म गरेका गतिविधि र अनुगमनका निष्कर्ष तथा सुझाव पार्टी सभापति शेरबहादुर देउवामार्फत केन्द्रीय कार्यसमितिलाई अवगत गराउन आज सभापति देउवालाई अनुगमन प्रतिवेदन हस्तान्तरण गरेको छ।

सो अवसरमा सभापति देउवाले सरकार जनताको पिरमर्का प्रति बेखबर रहेको बताउनुभएको पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

 

सभापति देउवाले कोरोना महामारी फैलिरहेको भए पनि सरकारले भेन्टिलेटर, आइसोलेसन र औषधिको पर्याप्त व्यवस्था गर्न नसकेको टिप्पणी गर्दै विशेष संसद बोलाएर उक्त विषयमा छलफल गराउनुपर्ने र कोरोना संक्रमण रोक्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

 

समितिले कोरोना संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यक औषधिको आपूर्ति सहज गर्न तथा आवश्यक स्वास्थ्यकर्मीको अबिलम्व व्यवस्था गर्नसमेत माग गरेको छ।

 

आइसोलेसनमा बस्ने व्यवस्था नभएका संक्रमित नागरिकका लागि आवश्यक आइसोलेसनको व्यवस्था र अस्पतालको उपचार चाहिने संक्रमितको तत्काल सस्तो र सुलभ अस्पतालको व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको समितिद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

कोरोनाबाट अति प्रभावित गरीब परिवारलाई चाडपर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गरेको सहमहामन्त्री डा. महतले जानकारी दिए। रासस

प्रकाशित : २०७७ असोज ३० गते २१:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI