विद्यालयहरु बन्द गर्न कावासोती नगरपालिकाको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते २०:०६
विद्यालयहरु बन्द गर्न कावासोती नगरपालिकाको निर्देशन

प्रेम न्यौपाने/कावासोती

नवलपुरको कावासोती नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाको बिपद ब्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले कोभिड 19 को रोकथाम तथा नियन्त्रणका लागि कार्तिक २ गतेदेखि कार्तिक १४ गतेसम्म नगरभित्रका सबै विद्यालय सन्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायमा तिब्र रुपमा फैलिइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि विद्यालय संचालनमा रोक लगाउने निर्णय भएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनुभयो ।
सरकारले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि नगरपालिका भित्रका विद्यालयहरु धमाधम खुलेका थिए । निर्देशिकाले प्रत्यक्ष सिकाइ भन्दा बैकल्पिक सिकाइका लागि जोड दिएको भएपनि सबै विद्यार्थी बैकल्पिक सिकाइको पहुँचमा आउन नसकेको भन्दै असोज पहिलो सातादेखि विद्यालय सन्चालनमा आइरहेका थिए ।
सिकाइ सहजीकरणका लागि विद्यालयहरुले प्रत्यक्ष सम्पर्क कक्षा सन्चालन गरेपछि विद्यालयमा कोभिड संक्रमणको जोखिम बढेको भन्दै सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियोे । कोरोना संक्रमणको जोखिमका बीचमा विद्यालय सन्चालनमा आएपछि विभिन्न विद्यार्थी संगठनहरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले यसै सन्दर्भमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

प्रकाशित : २०७७ असोज ३० गते २०:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI