एक महिने लामो मलमास आजबाट सकिदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते १८:१८
एक महिने लामो मलमास आजबाट सकिदै

३० असोज, काठमाडौं । एक महिना लामो मलमास शुक्रबार राति १ बजेर ५३ मिनेटपछि सकिँदैछ । चान्द्रमास र सौरमासको समन्वयको लागि हरेक २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ ।

मलमासकै कारण अरू वर्षभन्दा यो वर्ष दसैं समेत पछि धकेलिएको थियो । मलमास सकिएसँगै शनिबार बिहानैदेखि दसैंको सुरुवात हुने नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नेत्रप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार भोलि (शनिबार) बिहान १ बजेर ५३ मिनेटसम्म औंसी तिथि बाँकी रहेकोले त्यसपछि मात्रै विधिवत रूपमा मलमास सम्पन्न हुनेछ ।

यससँगै भोलिदेखि मलमासका कारण प्रतिबन्धित सबै कर्महरू खुला हुने भएका छन् । जस्तै, दैनिक उपभोग्य वस्तुबाहेक नयाँ सामग्री किन्नको लागि मलमासमा शास्त्रले निषेध गरेको छ । नित्य पूजाबाहेक लग्न हेरेर गर्नुपर्ने सबै किसिमका पूजामा प्रतिबन्ध लगाइएको हुन्छ । यी सबै कर्म भोलिदेखि सुरु हुने अधिकारीले जानकारी दिए ।

चान्द्रमासको यो पर्व अशुद्ध पर्व भएकोले यसलाई गणना नगरी नित्यकर्म बाहेकका शुभ कर्म गर्न नहुने विधान हिन्दु शास्त्रमा छ ।

हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ । हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

प्रकाशित : २०७७ असोज ३० गते १८:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI