आत्मविश्वासको आवश्यकता किन ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते १६:०८
आत्मविश्वासको आवश्यकता किन ?

तेजचन्द्र खनाल-
सबैले संसार बदल्ने बारेमात्र सोच्दछन् तर कसैले पनि आँफूलाई बदल्ने बारे सोच्दैन ।”-लेभ तोत्सतोइ
“आफ्ना चाहानालाई साधारण बनाउ जे छ त्यसैमा रमाउ विगतको चिन्ता नगर वर्तमानमा बाँच्ने गर र जीवनलाई सरल बनाउ ।”-हेनरी डेभिड थोरो
“यदि समस्या समाधान गर्न सकिन्छ भने चिन्ता गर्नु आवश्यक छैन, यदि समस्या समाधान गर्न सकिदैन भने चिन्ता गरेर हुने केही होइन ।”-दलाइ लामा
“पहिले सोच, सोच लाई सपनामा बदल, सपनामाथि विश्वास गर अनि सपना साकार पार्ने आँट गर ।”-वाल्ट डिज्नी
“जीवनमा तनाव र पिडा हुँदैन भने मानिसले केही सिक्न सक्दैन ।”-जिम क्यारी

वर्तमान समयमा मानिसहरु अनेक प्रकारका चिन्ताले ग्रस्त छन् । चिन्ताको रुप चाहे जस्तो सुकै होस् त्यसको स्वाभावनै चिन्ता गर्ने बन्न गएको हुन्छ । कुनै व्यक्तिलाई शारीरिक चिन्ता हुन्छ भने कसैलाई मानसिक चिन्ता तथा कसै कसैलाई त असम्भाव्य चिन्ताले पनि घेरिरहेको हुन्छ । चिन्ता गरेर मानिसले आफु स्वयंलाई पिडित त बनाउदै आएका छन् नै यसले मानिसक दैनिक जीवनयापनलाई नै असहज बनाइराखेको हुन्छ । परापूर्वकालदेखिनै मानिसलाई चिन्ता, भय, त्रास आदिले ग्रसित बनाउँदै आइरहेको छ । यो संसारमा एउटा न एउटा पिडा र चिन्ता नभएको मानिस सायदै भेटिएला ।

चिन्ता एकै प्रकारको हुँदैन । प्रत्येक व्यक्तिको फरक फरक किसिमको चिन्ता हुन्छ । कसैलाई आर्थीक चिन्ताले सताएको हुन्छ त कसैलाई मानसिक चिन्ताले सताएको हुन्छ । कसैलाई धेरै धन कसरी कमाउने भन्ने चिन्ताले सताएको हुन्छ त कसैलाई मेरो किन यति थोरै धन भयो भन्ने चिन्ता हुन्छ । कसैलाई ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ता हुन्छ तकसैलाई ऋण कसरी उठाउने भन्ने चिन्ता हुन्छ । कसैलाई वर्तमानको बारेमा चिन्ता हुन्छ त कसैलाई भविष्यको बारेमा चिन्ता हुन्छ । कसै कसैलाई भने त असम्भाव्य कल्पनाको चिन्ताले सताइरहन्छ । हाम्रा धेरै चिन्ताहरु निराधार र मुर्खतापूर्ण हुन्छन् । कहिले कहिले त हास्यासपद पनि हुन्छन् । धेरैजसो चिन्तामा हामी डुबिरहन्छौं, जुन यथार्थमा मेल खाँदैन ।

धेरै पहिलेको कुरा हो एउटा गरिब किसानको एउटा अत्यन्त सुन्दर कन्या रहिछन् । उनि हरेक दिन आधा घण्टाको बाटो हिडेर दुध बेच्न बजारमा जान्थिन । बजार जाँदा बाटोमा एउटा नदि पार गरेर जानु पर्दथ्यो । नदी पार गर्नको लागि नदिमा एउटा पुरानो काठको पुल रहेको थियो त्यही कच्ची पुल तरेर उनि बजार सम्म दुध बेच्न पुग्थिन । यसैप्रकार उनको दैनिक दिनचर्या चलिरहेको थियो । एक दिन जब उनि दुध बेचेर फर्किदै थिइन्, अचानक उनि जोड सित रुन थालिन् । जब उनलाई यसरी रोएको देखेर उनका बुवाले रुनुको कारण सोधे तब उनले बताइन “आज जब म नदि पार गरिरहेकी थिँए मेरो मनमा अचानक यस्तो विचार आयो कि एक दिन मेरो बिबाह हुनेछ, विवाह भएपछि मेरो बच्चापनि हुनेछ । त्यस समयमा म दुध बेच्नका लागि बजार जाँदै गर्दा मेरो बच्चा पनि मेरो पछि पछि लाग्नेछ ।त्यतिबेलासम्म यो काठको पूल अति कमजोर भइसक्नेछ अनि म र मेरो बच्चा सँगसँगै नदि पार गर्ने कोशिस गर्नेछु पुल तर्दै गर्दा बीचमा पुग्दा पुल भाँचिएर हामी दुवै जना नदिमा खस्नेछौं नदिमा खसिसकेपछि मेरो बच्चा म सित छुट्टिनेछ अनि म पौडि खेलेर निस्कन्छु तर मेरो बच्चा निस्कन सक्दैन अनि मेरो बच्चालाई नदिले बगाउने छ ।”त्यही भएर रोएकी ।

हामी तिनै कुराहरुलाई आफुतिर आकर्षित गर्दछौं, जो हाम्रो मनको भावना अनुरुप हुन्छ । यस नियम विरुद्ध हामीले आफ्नो व्यवहार गर्न सक्दैनौं । जो व्यक्ति कुनै कामलाई सन्देहको दृष्टिले हेर्छ भने त्यस कामले उसलाई फाइदा दिलाउन सक्दैन । कुनै व्यक्तिको मनोवृत्तीलाई थाहा पाएर उसको वातावरण जान्न सकिन्छ । अरुप्रति उसको व्यवहार कस्तो छ अथवा कस्तो हुनेछ यो यस कुरामाथि निर्भर गर्दछ कि यदि कुनै व्यक्तिको विचार जीवनको उत्थान तर्फ रहेको छ भने पक्कैपनि उसले उन्नति गर्नेछ तर हताश वा हीन विचार छ भने उसको एक न एक दिन पतन अवश्यनै हुनेछ ।

यस विषयमा प्रख्यात विद्वानहरुले विभिन्न धारणाहरु पनि प्रस्तुत गरेका छन् । जसमा प्रख्यात विद्वान Carlaileले भनेका छन् कि “टाढा तथा अनिश्चित कार्यहरु छाड्नुहोस् नजिकको कार्य एवं निश्चित कार्यलाई हातमा लिनुनै हाम्रो मूख्य ध्येय हुनुपर्छ ।”

त्यस्तै महान ग्रिक दार्शनिक Heraclitesले आफ्ना शिष्यहरुलाई ज्ञान दिने बेलामा भनेका छन की “सबै कुराहरु बदलिन्छ, केवल परिवर्तनको नियम बदलिदैन ।” उनले यो पनि भनेका छन मानव जीवनमा पनि लगातार परिवर्तनहरु भइरहन्छन् । त्यसैले केवल आज नै सत्य छ अनिश्चित र अन्जान “भोलि” को चिन्ता गरेर आजको शास्वत सुखलाई व्यर्थ नष्ट गर्नु उचित हुँदैन ।

उनको भनाइबाट यो प्रष्ट हुन्छ की जो व्यतित भइसक्यो त्यो मरिसकेको वस्तु हो, जसको चिन्ताले धेरै मानिसहरुको जीवन अन्धकारमय र निरस जस्तो भइसकेको हुन्छ । तपाइको आजनै सत्य हो । यद्यपि भोलि नामको कुनै कुरा नै छैन । भविष्यको चिन्ता गर्नाले व्यर्थमा शक्ति ह्रास हुन्छ । उसलाई विभिन्न मानसिक द्वन्द ले पिडित बनाउँछ । यसकारण हामी सबैले आजको कुरालाई मात्र आत्मसात गरौं आजको परिधि भित्र रहने बानी बसालौं ।

केही व्यक्तिहरुले भन्दछन् की भविष्यको चिन्ता त गर्नै पर्छ । आफ्नो वृद्ध अवस्थाको निमित्त र भावि सन्तानको निमित्त त केहि बचत त गर्नैपर्छ । कुरा सहि हो भविष्यको लागि योजना बनाउनुहोस् तर त्यसको निमित्त चिन्ता नगर्नुहोस् ।

हामी धेरै भन्दा धेरै समय भूत र भविष्यको संगमस्थलमा उभिएका छौं । भूत कहिल्यै फर्केर आउँदैन भने भविष्य तेज पूर्वक दौडदै आइरहेको छ । यस्तो स्थितिमा वर्तमानलाई भूलेर हामी ति दुइ युग मध्ये कुनै एकको भएर पनि जीवित रहन सक्दैनौं । यसको कोशिसमा हाम्रो शारीरिक तथा मानसिक शक्ति नष्ट हुन जान्छ । त्यसैले हामी जुन कालमा रहिरहेका छौं त्यसैमा रहिरहनु, र त्यसैमा रमाउनु नै हाम्रो हितमा हुनेछ ।

मानविय स्वभाव पनि बडो अचम्मको छ हामीहरु यथार्थबाट टाढा जानको लागि आफ्नो घर बाहिर सौन्दर्यले भरिपूर्ण सृष्टिको अनुपम पुष्पबाटिकाको सुगन्धको सट्टा उच्च आकाशको काल्पनिक उद्यानको सुगन्धको कल्पनामा हराउँछौं । आखिर हामी यस प्रकारको मूर्खता किन गर्दछौं ?

John Roskinले आफ्नो टेबलमा एउटा साधारण ढुङ्गाको टुक्रा राख्दथे, जसमा “आज” शब्द अंकित थियो । यसकारणकी तिमि आजलाई स्वागत गर कहिल्यै नआउने भोलिको चिन्ता छाडेर आजको परिधिभित्ररहि सुखले जीवनको आनन्द लेउ ।

यदि हामी चिन्ता बाट मुक्ति चाहान्छौं भने यि तलका सामान्य तीन अवस्थाको प्रयोग गरि चिन्ताबाट मुक्ति पाउन सकिन्छ । यि तीन अवस्थाहरु निम्नलिखित रहेका छन् ।

पहिलो अवस्था, सर्वप्रथम स्वयंलाई निडर भएर संयमतापूर्वक आंकलन गर्नु पर्दछ । “यदि हामी असफल भैहाल्यौं भने हाम्रो जीवनमा केके घटनाहरु घट्न सक्छन्?” भन्ने कुरा जान्नु अति आवश्यक हुन्छ ।
दोस्रो अवस्था, हामी बीच घट्ने घटनाहरु जानिसके पश्चात त्यस्ता घटनाहरुलाई स्वीकार गर्नका लागि स्वयंलाई तयार रहने शक्ति प्राप्त गर्नु जरुरी हुन्छ । यसको परिणाम स्वरुप तपाई हामीमा एक महत्वपुर्ण परिवर्तन आउनेछ र तुरुन्तै एक प्रकारको शान्तिको अनुभव प्राप्त हुनेछ जुन हामीले पहिलेनै गुमाइसकेका थियौं ।
तेस्रो अवस्था, अब शान्त मनले हामी आफ्नो शक्ति र समयको प्रयोग गरि स्वीकार गरिएका उतारचढावहरु वा व्यतित घटनाहरू लाई सुधार्ने प्रयत्न गरौं ।

यसरी जब हामी चिन्ता ग्रस्त रहन्छौं तब हामी कुनै निर्णय गर्न असमर्थ हुन्छौं । चिन्तामा डुबिरहनाले हामी कुनै काम गर्न सक्दैनौं किनकि चिन्ताले हामीमा कार्यक्षमताको ह्रास ल्याउँदछ । तर परिस्थिति जस्तो सुकै होस् जब हामी स्वयंलाई जीवनका उतार चढाव युक्त परिस्थितिहरुको लागि तयार बनाउँछौं तब निरर्थक कल्पनाबाट मुक्ति हुन्छौं र आफ्नो समस्याको समाधान गर्नमा हामी स्वयं लाग्दछौं ।

हामी जिवनमा कुनै न कुनै रुपमा आफ्नो विश्वासलाई शक्ति दिइरहन्छौं । यदि हामी अरुभन्दा हीन छौं अथवा योग्यतामा अरु भन्दा कम छौं भन्ने सम्झिन्छौं भने विस्तारै यो विचार विश्वासमा बदलिन्छ । हाम्रो यही विचारले हामी डराउन थाल्छौं परिणाम स्वरुप भय हाम्रो मनमा प्रवेश गर्दछ र हामी बिरामी पर्दछौं । तर यदि हामी आफ्नो मनमा सकारत्मक विचार लिन्छौं, निडरता देखाउँछौं र रचनात्मक रीतिले विचार गर्दछौं भने निश्चय नै हामी सफल हुन्छौं, सुखी र स्वस्थ रहन्छौं ।

तपाईको मनमा आएका प्रत्येक विचारहरुलाई व्यक्त गर्नाले तपाईको मनमा एक किसिमको तरंग उत्पन्न हुन्छ । जब तपाई कूनै कुराको भय, निराशा वा आशंकाको कुरा सुन्नुहुन्छ, तब ती विचार तपाईको मनमा पनि भय, निराशा वा आशंकाको भावना तरंगद्वारा स्थापित हुन जान्छ त्यसैले यो तपाईको आफ्नो दृढ इच्छाशक्ति माथि निर्भर गर्दछ कि तपाई आफ्नो निर्भिकता, आशा र उमंगको बलले त्यसको कमजोर तरंगको प्रभावलाई नष्ट गरिदिनुहोस् र आफुमा ती हीन विचारहरुको प्रभाव पर्न नदिनुहोस् ।

अमेरिकामा एक पटक एउटा कैदिलाई अदालतबाट मृत्युदण्डको फैसला सुनाइयो जसमा तपाइलाई सर्पको टोकाइबाट मारिनेछ भनि जानकारी गराइयो तब त्यस कैदिको मनमा यो सोंच परिसक्यो की म अब सर्पले टोकेर मर्नेछु । त्यसपछि उक्त कैदिलाई मृत्युदण्ड दिने समय आयो उसलाई एउटा बन्द कोठाभित्र लगियो र उससको आँखामा पट्टि बाँधेर एउटा कुर्चीमा बसाइयो अनि नक्कली सर्पले उसको शरिरको विभिन्न भागमा टोकाइयो तब त्यस कैदिको मनमा पर्यो की मलाई साँच्चिनै सर्पले टोक्यो त्यही सोंचाइको कारण उसको शरिरमा बिस्तारै सर्पले टोक्दा फैलने बिस फैलन थाल्यो र साँच्चिनै उसको मृत्युनै भयो । यसबाट के प्रष्ट हुन्छ भने हाम्रो सोँच जे छ शरिरमा पनि त्यही अनुसारको तरंग फैलन थाल्दछ । त्यसैले हाम्रो सोँच जहिले पनि सकारात्मक हुनु जरुरी छ । यदि सोँच नकारात्मक छ भने तरंगपनि नकारात्मक हुन्छ यदि सकारात्मक सोँच र विचार बारम्बार गरियो भने हाम्रो मनमा तरंग पनि सकारात्मक हुन्छ जसले हामीलाई सफलताको बाटो तिर डोर्याउँदछ ।

यस विषयमा Dr. William S. Adlarभन्दछन् यद्यपि हाम्रो मनको शरीरमा पर्ने प्रभावको विचार अहिले सम्म अस्पष्ट रुपले नै हाम्रा सामु आउँथ्यो, तर अब वैज्ञानिकहरुले यो सिद्ध गरिदिएका छन् की हाम्रो मनको दशाले शरीरलाई कति प्रभाव पार्दछ । अब यो प्रमाणित भइसकेको छ की मनको प्रवृत्तीले शरीरको अणु र अंग अंगलाई अत्याधिक प्रभावित गर्दछ । मनको दशा जब व्यक्तिको मनमा मेडिटेसनको रुपमा रहन्छ तब एक पूर्ण रुपले स्वस्थ व्यक्ति पनि बिरामी पर्न सक्छ । एक निरोगी मानिसले पनि त्यस बिरामीबाट हुने पीडाको अनुभव गर्न सक्दछ । त्यस्तै यदि एक रोगि व्यक्तिले आफ्नो आत्मबल दरो बनाएर रोग संग डटेर लड्यो भने अवश्यपनि उसले रोगलाई जितेरै छाड्दछ । यो संसारमा असम्भव भन्ने कुरा केहिपनि हुँदैन ।

अन्त्यमा, तपाई आफ्नो मनलाई जतिपटक नकारात्मक बनाउनुहुन्छ, त्यसको प्रत्यक्ष असर तपाईलाई शारीरिक एवं मानसिक रुपमा पर्दछ । तपाई जुन कुराले डराउनुहुन्छ, तपाईलाई जुन कुराले कमजोर बनाउँछ, त्यही कुरा तपाईको मनमा बारम्बार आइरहन्छ । तपाई आफ्नो मनलाई नकारात्मक बनाएर भय, त्रास र चिन्ताको आक्रमणको लागि खुल्ला छोडिदिनुहुन्छ भने यसले तपाईको जीवनमा पक्कैपनि निराशाको बादल छाउँदछ । यसको विपरित जब तपाई आफ्नो मनमा सकारात्मक विचारहरु जस्तै म यो कार्य अवश्य पूरा गर्नेछु, म यो कार्य जसरी पनि गर्नेछु, म बाहेक अरु कसैले यो कार्य गर्न सक्दैन, म मेहनत र लगनशिल भएर आफ्नो कर्तव्य पथमा लागि रहनेछु, म अवश्य सफल हुनेछु आदि विचारहरु बारम्बार मनन गरेको खण्डमा सोही अनुसार तपाईको क्रियाकलाप हुनेछ र तपाईभित्र बिस्तारै आत्मबल दृढ बन्दै जान्छ जसले एकप्रकारको पोजिटिभ भाइब्रेशन हाम्रो मनमा ल्याउँदछ । परिणाम स्वरुप, तपाईको लागि कुनै कार्यपनि कठिन र असम्भव भन्ने हुँदैन ।
सन्दर्भ सामग्रीहरू
SwetMardan, a popular book “Wealth of Self-Confidence”.
Pritam Paudyal, A motivational speaker of “Power of Positive Vibration”.

(लेखक हुप्सेकोट गाँउपालिकाका शिक्षा अधिकृत हुन ।)

प्रकाशित : २०७७ असोज ३० गते १६:०८
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI