बुढीगण्डकी घुसकाण्ड : नेकपाको विज्ञप्तिपछि नारायणकाजीमाथि खनिए भट्टराई

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २८ गते २१:३५
बुढीगण्डकी घुसकाण्ड : नेकपाको विज्ञप्तिपछि नारायणकाजीमाथि खनिए भट्टराई

असोज २८, काठमाण्डौ । बुढीगण्डकी परियोजनामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अर्बौं घुस लिएको भनी पूर्वप्रधानमन्त्री एवं जसपा नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको सत्तारुढ नेकपाले खण्डन गरेको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै भट्टराईको आरोप झुटो, कपोलकल्पित, आधारहीन र दुराशयपूर्ण भएको बताएका थिए ।

नेकपा प्रवक्ताले विज्ञप्ति जारी गरेलगत्तै भट्टराईले कडा जवाफ दिएका छन् । समाजवादी पार्टीका नेतासमेत रहेका भट्टराईले प्रवक्ता श्रेष्ठलाई कटाक्ष गर्दै ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक भनेका छन् ।

उनले ट्वीटरमा श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ ।’ साथै भट्टराईले सबै उच्च पदासिनहरूको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन गर्न प्रस्ताव गरेका छन्। उनले सो कार्यका लागि पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन् ।

भट्टराईले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकी परियोजनामा ओली, दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब घुस लिएको प्रमाण आफूसँग भएको दावी गरेका थिए ।

सोमबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफूले भ्रष्टचारबारे बोलेपछि ठूलो कम्पन आएको बताएका थिए ।

प्रकाशित : २०७७ असोज २८ गते २१:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI