नेपाल विश्वमानचित्रमा भौगोलिक हिसाबले सानो भएपनि साँस्कृतिक, र प्राकृतिक विविधताले भरिपूर्ण छ। हिन्दु नेपालीको महान् पर्व बडा दशैँ सबैभन्दा ठूलो पर्वका रुपमा मानिन्छ। नेपालमा बिभिन्न जातधर्म तथा सो संग सम्बन्धित पर्वहरु धेरै रहे पनि यहाँका हरेक सँस्कृतिले आ-आफ्नै मौलिक विशेषताहरू बोकेको पाईन्छ। हरेक पर्वका केही न केही किंवदन्ती भनाई रहेका हुन्छन्। जसले हजारौँ वर्षको इतिहासलाई जीवन्त राखेको हुन्छ । संस्कृति जीवन्त रहे मात्र राष्ट्रको गौरव बढ्छ। हामी यिनै इतिहासलाई निरन्तरता दिने गर्छौँ र दिनुपर्छ पनि।यो जिम्मेवारी तपाईँ हामीमै थपिएको छ।
नेपालीको सबैभन्दा ठूलो पर्व बडादशैं लाई विशेष गरी भगवान् रामचन्द्रले नौ दिनसम्म रावणसँग लडाँइ पछि विजय प्राप्त गरेको उल्लासमा मनाउन सुरु गरिएको प्रचलन छ । असत्य माथि सत्यको विजय, अन्याय माथि न्यायको विजय, अधर्म माथि धर्मको विजय गर्ने भन्ने मान्यता पनि छ।
घटस्थापनाको दिन अध्याँरो कोठामा जौ, मकै, गँहु छरि उमारिएको जमरा र दहिमा मुछिएको टीका लगाउने गरिन्छ मान्यजनको हातबाट आर्शिवाद लिइन्छ। दहीमा मुछेको रातो र सेतो टीकाले शान्ति र समृद्धिको अर्थ राख्छ, ठूलोलाई आदार र सानालाई माया गर्नुपर्छ भन्ने सँस्कृतिको बिकास गराउँछ, प्राप्त आर्शिवादले सत्मार्गमा हिँड्न मार्गदर्शन गर्दछ।
पिङ्गको प्रसङ्ग नियाल्दा पनि कति स्वतन्त्रताका साथ खेलिन्छ, जति नै आधुनिकता र छुवाछुत मुक्त घोषणा गरेपनि पिङ्ग भन्दा अरु ठाँउमा कतै न कतै भेदभाव पाइन्छ नै , पिङ्गमा न कुनै जातिको भेद हुन्छ, न धर्मको, जहाँ जुन ठाँउमा जो गएर पनि खेल्न पाइन्छ। प्रकृतिले पनि साथ दिने समय जताततै हरियाली न गर्मी, न जाडो, कृषकले पनि विश्राम पाएको समय, खेतमा धानको बालि लहलह झुलेका छन् । कृषिको महत्वलाई पनि उजागर गरेको पाइन्छ।
दशैंमा, नेपाल बाहेक संसारको अरु कुनै देशमा चामलको टिका लगाउँदैनन्। त्यो पनि दही (गोरस) मा मुछेर र साथमा जौ, मकै, गँहु उमारेर बनाइएको जमरा सँगै, फेरि अर्को पाटो सोच्ने हो भने यति धेरै चामल निधारमा खेर फाल्नुको सट्टा भोक सँग भौतारिनेलाई केहि कटाएर बाड्ने हो भने उनीहरुको आत्मा, मन आनन्दित हुन्थ्यो। संस्कृति नै नजोगाउने भन्न खोजेको होइन, संस्कृति जोगाउने नाममा आवश्यक भन्दा बढी नगरौं। कस्तो हुन्थ्यो होला दशैं सबै मानिसलाई एउटै भइदिए, तर नसक्ने, नहुनेको लागि दशा बनिदिन्छ दशैं।
अर्को पक्ष समेट्न मन लाग्यो ति निरिह पशुमाथि चोट पुर्याईन्छ। उनीहरुको पनि आफ्नै अधिकार होला मानव बुद्धिमानी भएर सोच्ने हो भने बिचरा ती पशु, मानवले जे भन्यो त्यँही गर्न तयार हुन्छन्। पशु त केवल मानवको खुशीको लागि मात्र बाँचिदिने रहेछ। बलि दिने प्रथा दिनानुदिन झनै मौलाउँदै गएको देखिन्छ। देवीलाई पशुको रगत चढाए खुशी हुने भन्ने चलन छ।फेरि अर्कोपट्टि भन्ने गरिन्छ शास्त्र, पुराण कतै पनि उल्लेख छैन बली दिएर देवी खुशी हुने रे खै के हो? यस बारेमा सबैका आ-आप्ना तर्क र बिचारहरू होलान्। मैले बलि प्रथाको विरोध गर्न खोजेको होइन तर साँच्चै हामी मानव भएरै सोँच्ने हो भने मानिस जति रूप तथा धन सम्पत्तिले बुद्धिमान तथा समाजको अगुवा कहलिन्छ, त्यती उसको मन मस्तिष्क र व्यवहारमा लागू भएको पाईँदैन्। वास्तवमा मानिसमा दया माया हराईसकेको छ।
दशैँमा टिकाको महत्वलाई सम्झिँदा योग अनुसार तेश्रो चक्र खुल्ने निधारको बीच भागमा टीका लगाइन्छ, त्यसैगरी भगवानले त्रिपुणा लगाउने ठाँउमा अनि जन्मेको छैठौँ दिन विधाताले भाग्य लेख्ने ठाँउमा लगाइन्छ टीका। जोसुकैलाई पनि टिका लगाउँदा पछिको टलकले पनि बुझाउँछ यसको महत्व कति छ भन्ने कुरा, वस्तुवादीहरुले भन्ने गर्लान् परम्परावादी चलन संस्कारलाई निरन्तरता दिएको हो। सधै मनाईराखेको पर्व हो। तर के थाहा यसको विशाल महत्त्व। अचम्म छ देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीले टीका लगाउने समय कहाँ र कुन पर्व होला यस्तो जब टीकाको साइत जरूरी हुन्छ। देशका करोडौँ हातहरु एकै पटक रातो टिका सहित उठ्छन् किन नहोस् धनाढ्य वा झुपडीमा बस्ने ,चोर ,कैदी ,समाजसेवी वा सबै सबै।
दशैँको यति धेरै महत्त्व हुँदै गर्दा वर्षेनी तडकभडक बढ्दो देखिन्छ। घरमा मासु तथा बाख्रा,च्याङ्ग्रा, खसी ल्याउनै पर्ने। नयाँ नयाँ कपडा किन्न बजार जानैपर्ने। बढ्दो तडकभडक, जसले गर्दा छाँक टार्न धौँ धौँ हुने गरिबलाई झन गाह्रो भएको छ। समाजमा बसेपछि अगाडिको घरले धुमधाम दशैँ मनाउने तयारी गर्दै गर्दा अर्को नजिकको नसक्ने भएपनि मनाउन तम्तयार भइदिन्छ। तर बिडम्बना हामी कोही पनि यस किसिमको तुलना गरेर देश बनाउन भने तत्पर रहँदैनौ। बरु झन देशको ढुकुटी रित्याएर आफ्नो दुनो सोझ्याउन ठिक्क छन्। देशका कर्मठ युवाहरु यहाँ अवसर छैन भन्दै विदेश धाएका छन्। अनि समृद्ध नेपाल सुखी नेपालीको नारा, नारामै मात्रै सीमित हुने त होइन भन्ने आम जनमानसमा प्रश्नचिन्हको रूपमा खडा हुनु स्वभाविक हो।
यस वर्ष कोरोना कहरका बीच दशैं पर्व मनाउन चुनौतीको रुपमा तेर्सिएको छ। सबै महत्व, खुशीलाई भुलेर सुरक्षित हुने बेला आएको छ। पहिलेका वर्षहरुमा जस्तै धुमधामसाथ मनाउन नपाए पनि विश्वभर फैलिएको कोभिड-१९ को यो दुरावस्था चाँडै विश्वजगतबाट हटोस्। कोरोना कहरले अकालमा कसैको काख नचुँडोस्। देश समृद्ध बनोस्, सम्पुर्ण नेपाली खुशी साथ जीवनयापन गर्न पाउन्। भोकले कोही मृत्युवरण गर्न नपरोस्। सबै-सबैको रक्षा होस्। बडादशैं २०७७ को हार्दिक-हार्दिक मंगलमय शुभकामना।। शुभ दशैं, शुभ देश।
प्रकाशित : २०७७ असोज २७ गते १८:५५
Facebook Comment