किन भइरहेछ गैंडाको मृत्यु ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २६ गते १८:२३
किन भइरहेछ गैंडाको मृत्यु ?

विश्वमा एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छ । परापूर्वकालमा भारतको आसाम ब्रह्मपुत्र नदीदेखि गंगानदीको नदीतटीय सम्पूर्ण भूभाग (नेपालको तराई क्षेत्रसमेत) हुँदै उत्तराखण्डसम्म गैंडाको ऐतिहासिक उपस्थित थियो । हाल आएर भारतको काजिरंगा राष्ट्रिय निकुञ्जलगायत केही संरक्षित क्षेत्रहरू र नेपालका चितवन राष्ट्रिय निकुञ्जलगायत केही संरक्षित क्षेत्रहरूमा मात्र खुम्चिन पुगेका छन् । सन् १९५० अवधिमा चितवनदेखि सर्लाहीसम्म गैंडा पाइएको र चितवन भ्यालीमा मात्र ८०० को हाराहारीमा गैंडा रहेको तथ्यांक भेटिन्छ । सन् १९३२ मा जुद्धशमशेरको शासनकालमा चितवन उपत्यकामा भएको एउटा सिकार कार्यक्रममा ३८ वटा गैंडा मारिएको थियो । कुनै समयमा नेपालको तराईका र भित्री मधेसका जंगलमा पाइने एकसिंगे गैंडा वनजंगल, घाँसे मैदान, तालतलैया विनाश र अतिक्रमित भई हाल चितवन राष्ट्रिय निकुञ्ज र वरपर मात्र खुम्चिन पुगेको छ ।

चितवन उपत्यकामा वन्यजन्तुको वासस्थान विनाश र गैंडाको अत्यधिक चोरी–सिकारका कारण सन् १९७० को दशकसम्म आइपुग्दा सयवटाको हाराहारीमा गैंडा रहेको तथ्यलाई मनन गरी तत्कालीन नेपाल सरकारले वि.सं. ०३० (सन् १९७३) असोज ४ मा विधिवत् रूपमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरी गैंडा संरक्षणमा अग्रसरता लिएको थियो । सन् २००० मा चितवनमा ५४४ वटा र बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा समेत गैंडा स्थानान्तरण गरी देशभरि कुल ६१२ वटा गैँडा गणना गरिएको थियो ।

 

देशमा भएको राजनीतिक संकट र अस्थिरताको कारण निकुञ्जभित्रको सुरक्षा पोस्टहरू केन्द्रीकृत र संकुचन भएको अवस्थाको फाइदा उठाएर २०५८ सालपछि चोरी–सिकारको क्रम ह्वात्तै बढ्यो । आ.व. ०५७÷५८ मा मात्र ३७ वटा गैंडा चोरी–सिकारीले मारेका दृष्टान्त जीवित नै छन् । ५४४ को संख्यामा रहेका गैंडाहरू २००५ को गणनामा जम्मा ३७२ अर्थात् ३१.६१ प्रतिशतले गैंडाको संख्यामा गिरावट आयो । तर, देशमा बृहत् शान्ति–सम्झौता भएसँगै निकुञ्जको पोस्टहरू विस्तारित र पुनस्र्थापना भयो र सन् २००६ मा जरो गाडिसकेको चोरी–सिकारको जालोलाई कानुनी उपचार विधिबाट भत्काउने, ध्वस्त पार्ने काम तदारुकतासाथ भएबाट गैंडाको चोरी–सिकार शून्यमा झारेकोमा २०७० सालपछि तीनवटा गैंडाको मात्र चोरी–सिकार भएको छ । सन् २०१५ को गणनाअनुसार हाल देशभर ६४५ र यस निकुञ्जमा ६०५ गैंडा रहेका छन् ।

गैंडाको मृत्युलाई लिएर चिन्ता

हिजोआज दिनहुँ एकपछि अर्को गैंडा मरेको खबर सञ्चारमाध्यमबाट आइरहेका छन् । चितवनमा गैंडाहरू किन बढी मर्न थाले भनी सर्वसाधारण, सञ्चार माध्यम, विज्ञ, नीतिनिर्माता तहमा रहेकाहरूबीच पनि चिन्ता र चासोको विषय बन्न थालेको छ । चिन्तित बन्नु स्वाभाविक नै हुन आउँछ, जसले गर्दा भविष्यमा संरक्षणका मार्गनिर्देशनहरू खारिएर आउँछन् । जुधेर मरेका अधिकांश गैंडाहरू पानीका स्रोतनजिकका स्थानहरूमा भेटिएका छन् । यसले के देखाउँछ भने सुक्खा ठाउँमा पनि पानीका स्रोतहरू विस्तार गरी गैंडाको वासस्थान सुनिश्चित गरिनुपर्छ । जति धेरै तालतलैयाहरूको सिर्जना ग¥यौ भने त्यति नै गैंडा फिजारिएर बस्ने भएकाले जुधेर मर्नेको संख्यामा न्यूनीकरण गर्न सकिन्छ ।

प्रायः वयस्क÷बुढा गैंडाहरूको ठूलै खाग हुन्छ । चोरी–सिकारको रोजाइमा यस्तै खालका गैंडा पर्ने गर्छन् र ठुला खाग भएकालाई छानी–छानी मार्ने गर्छन् । चोरी–सिकार भएका वर्षहरूमा कालगतिले वा प्राकृतिक मृत्युवाट मर्न सक्ने ठूला खाग भएका गैंडाहरूलाई चोरी–सिकारले मारेकाले प्रकृतिक मृत्यु कम देखिएको र चोरी–सिकार रोकिएका वा चोरी–सिकार कम भएको वर्षहरूमा प्राकृतिक मृत्यदर ज्यादा भएको विगतका तथ्यांकहरूले पुष्टि गर्छन् । सक्रिय गस्तीको क्रियाकलापले गर्दा करिब–करिब गैंडाको चोरी–सिकार रोकिएको अवस्थाले गर्दा आगामी दिनमा अझै पनि गैंडाको प्राकृतिक मृत्युदर बढ्न सक्ने सम्भावना भने जीवित नै छ ।

गैंडा मृत्युका कारणहरू

चोरी–सिकारीले गोली हानी गैंडा मारी खाग काटेर तस्करी गरी लगेकोमा बाहेक अन्य तरिकाले के कसरी के कस्तो अवस्थामा गैंडाको मृत्यु हुन्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । ठूला गैंडाहरूलाई बाघले मारी खाएको पाइँदैन तर भर्खर जन्मेका बच्चाहरूलाई बाघले मारी खाएको पाइन्छ । गैंडाको बच्चालाई देख्नासाथ बाघ पछि लाग्न थाल्छ र बच्चो लुटुपुटु गर्दै चर्दै गरेको अवस्थामा अप्ठ्यारो ठाउँ फेला पार्नासाथ माउलाई छक्याएर बाघले बच्चोलाई झम्टन्छ, सके मारेर खान्छ, नसके घाइते बनाएर छोडिदिन्छ । पछि घाउ संक्रमण भएर बच्चोे मर्ने गरेको पाइएको छ । पछिल्लो समयमा बाघको आक्रमणमा परी बच्चाको मृत्यु हुने क्रम बढ्दो छ । त्यसैगरी गैंडाको भालेले पनि बच्चालाई देखी सहँदैन किनभने बच्चो माउसँग नछुट्टिउन्जेल सहवासका लागि पोथी तयार नहुने, बच्चो माउसँग छुट्टिन्न पनि साधारणतया ३–४ वर्ष लाग्ने भएकाले चाँडै बच्चोलाई मारेपछि सहवासका लागि पोथी तयार हुन्छे भनेर नै भालेले बच्चोलाई दाह्राले टोकी घाइते बनाई छाडिदिने र पछी गएर घाउ संक्रमण भई बच्चो मर्ने गरेको छ । भाले–भाले जुधेर, कहिलेकाहीँ सहवासमा पोथीले इन्कार गरेको अवस्थामा पनि भालेले पोथीलाई लखेटेर दाह्राले चिरेर मारिदिन्छ या मरणासन्न अवस्थामा पु¥याई छाडिदिन्छ र पछि घाउको संक्रमण भई मरेको अवस्थामा भेटिन्छ । २०५५ सालदेखि ०७७ असोज २२ सम्म प्राकृतिक कारणबाट ३४८, चोरीसिकारबाट १७४ र अप्राकृतिक तबरबाट १३ वटा गैंडाको मृत्यु भएको छ ।

प्राकृतिक मृत्यु

गैंडा बुढो भएर मर्नु, बच्चै वा जवान भए पनि प्राकृतिक घट्नाक्रमले मर्नुलाई जीव वैज्ञानिक, संरक्षणविद् र व्यवस्थापकहरूसमेतले प्राकृतिक मृत्यु मान्दै आएका छन् । दलदलमा फसेर, बाढीले बगाएर, एक–आपसमा जुधेर, अन्धाधुन्ध दौडाइले भिरबाट वा खाल्टोमा लडी मर्नु, बच्चा जन्माउन नसकेर मर्नु, बाघ तथा मगर गोहीको आक्रमणमा परी बच्चा गैंडा मर्नु, माउसँग साथै भएको बच्चोेलाई भाले गैंडाले हानेर मार्नु, प्रायः उमेर नपुगेको पोथी सम्भोगका लागि तयार नहुँदा भालेले हानेर घाइते बनाई मार्ने तथा हावाहुरी चलेको अवस्थामा रूखले किचेर मर्नुजस्ता घटनाक्रमबाट मृत्यु भएकालाई प्राकृतिक मृत्युमा सामवेश गरिएको छ ।

अप्राकृतिक मृत्यु

मानवीय लापर्बाहीका कारणले गैंडा म¥यो तर खाग खुर घटनास्थबाट हराएको छैन भने त्यस्तो घटनालाई अप्राकृतिक मृत्युको सुचीमा राख्ने गरिन्छ । जसअन्तर्गत खेतीपाती जोगाउनका लागि अवैध रूपमा लगाइएको विद्युतीय धराप र सेप्टीटंैकको खाडलमा पर्री मरेका गैंडा तथा रातमा निकुञ्जबाट बाहिर निस्की किसानको खेतमा विषादी प्रयोग भएको बालीनाली चर्न पुग्ने गैंडाको यदाकदा हुने मृत्युबारे परीक्षणको अभावमा यकिन भन्न नसकिने घटनाहरूसमेत अप्राकृतिक मृत्युभित्र पर्छन् । अप्राकृतिक कारणले मरेका गैंडाहरू न्यून छन् ।

चोरी–सिकारबाट भएको मृत्यु

गैंडालाई तत्काल ठाउँको ठाउँ गोली हानी खाग काटी चोरी लगेको अलावा पनि कहिलेकाहीँ सिकारीले गोली हानेको तर गैंडा ठाउँको ठाउँ नमरी घाइते भई भागेको, चोरले खाग लान नसकेको अवस्था हुन्छ र पछि सोही कारणले मर्न गएको तर खाग घटनास्थलबाट निकुञ्जले भेट्टाएको छ । यस्तो अवस्थामा मृतक गैंडाको शरीर सडी गली गए पनि घटनास्थलमा पुरानो सडेगलेको हाडखोर, करङ, खप्पर छरिएर रहेकोउपर गहन अध्ययन गर्दा गोलीको प्रेसरले फुटाएको हड्डीको चिह्नहरू प्रस्टसँग चिनिन्छ । यस्तो अवस्थामा खाग बरामद भए पनि यस्ता प्रकारबाट मृत्यु भएका गैंडालाई पनि चोरी–सिकारको रूप दिइन्छ ।

संरक्षणका प्रयासहरू

निकुञ्ज स्थापनाका सुरुवाती दिनभन्दा अगाडि गैंडा संरक्षण गर्नका लागि गैंडा गस्ती टोलीबाट संरक्षण भएको थियो । हाल निकुञ्जले चोरी–सिकारबाट यसलाई बचाउन ५० भन्दा बढी पोस्ट निकुञ्जमा तैनाथ छन् । निकुञ्जमा कार्यरतहरू साँझ परेपछि पोस्ट छाडेर रातभरि गैंडाको बाहुल्य रहेको आसपास क्षेत्रमा गस्ती गर्नुपरेकाले अहोरात्र झरी–वर्षा–बाढी नभनी खटिएको अवस्था छ भने स्थानीय जनताको सहयोग पनि उल्लेखनीय छ । संरक्षण अझ प्रभावकारी बनाउन ०५४ सालदेखि हालसम्म निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशतले हुन आउने एक अर्बभन्दा बढी रकम निकुञ्जबाट प्रभावित क्षेत्रमा बसोवास गर्ने समुदायको विकास र संरक्षण कार्यमा खर्च भएको अवस्था छ । उक्त रकमको करिब ९० प्रतिशत हिस्सा पर्यटक आम्दानीबाट रहेको छ । पर्यापर्यटनका माध्यमबाट स्थानीय समुदाय र सामुदायिक वनले पनि मनग्य आम्दानी गरेका छन् । गैंडा संरक्षणमा सरकारले आप्mनो केन्द्रीय बजेटबाट पनि बर्सेनि करोडांै रकम खर्च गर्दै आएको छ । त्यसैगरी सहयोगी संघसंस्थाहरू, जस्तै– राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ, र जेडएसएल नेपालले गरेको योगदान उल्लेख्य छ, जसको खर्चको हिसाबकिताब यसमा समावेश छैन ।

समस्या र समाधानका उपायहरू 

विगत वर्षहरूको तथ्यांक हेर्दा गैंडाको प्राकृतिक मृत्युदरभन्दा चोरी–सिकारीबाट हुने मृत्युदर ज्यादा थियो । तर, हाल आएर चोरी सिकारीबाट गैंडा मारिने क्रम न्यून छ, जस्तै– ०७० सालपछि हालसम्म ३ वटा गैंडाको चोरी–सिकारीका कारणले मृत्यु हुन गएको छ । चोरी–सिकार नियन्त्रणमा रहेकाले प्राकृतिक मृत्युदर बढ्नु स्वाभाविक नै हो । तर, प्राकृतिक मृत्युदर बढी भयो कि भन्ने चिन्ता बढ्न गएको छ । के तिनीहरूका लागि वासस्थान अपर्याप्त भएको हो ? हालको वासस्थानले के–कति गैंडालाई प्राकृतिक रूपमा थेग्न सक्छ ? वर्तमान अवस्थामा भइरहेको घाँसे मैदान, घाँसे प्रजाति तथा तालतलैयाको अवस्थाबारे गहन अध्ययन अनुसन्धान गरी वैज्ञानिक तथ्यका आधारमा थप व्यवस्थित गर्न आवश्यक छ । त्यसबाट निस्केको परिणामअनुसार निकुञ्जभित्र रहेका घाँसे मैदान एवं तालतलैयालगायत यस्तै अन्य सिम क्षेत्रहरूको वैज्ञानिक तवरले उचित सूक्ष्म ढंगले व्यवस्थापन गर्न सके गैंडालगायत अन्य वन्यजन्तु संरक्षण क्षेत्रमा ठूलै फड्को मार्ने र यसले मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नमा पनि ठूलै सहयोग पुग्ने देखिन्छ ।

हाल गैंडा मारी खाग बिक्री व्यवसाय गरेको कसुरमा बन्दी जीवन बिताइरहेकाहरू पनि कैद भुक्तान गरी छुट्ने क्रम बढ्दो छ । ०७७ भदौ महिनामा चोरी–सिकारीका कारण एउटा गैंडाको मृत्यु भएकाले चोरी–सिकारीहरू पुनः सलबलाउन थालेको भान हुन्छ । विगतका अनुभव सँगाल्दा जेल भुक्तान गरेर आएका केही कैदीहरूबाटै पुनः गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न भएको देखिएका उदाहरण निकुञ्जमा प्रशस्तै छन् । के यो बाघ कराउनु र बाख्रो हराउनुजस्तै संयोग हो त ? त्यसैले जेलबाट छुटेका गैंडा केसका कैदीहरूलाई गैंडा संरक्षणमा प्रत्यक्ष रूपमा सहभागी गराउन सके भविष्यमा गैंडा संरक्षणले कोल्टे फेर्ने कुरामा सायद दुई मत नहोला ।

०५५ सालदेखि ०७७ असोजसम्म आइपुग्दा ५३५ गैंडाको मृत्यु भएको कार्यालयको रेकर्डमा देखिन्छ, जसमध्ये १७४ चोरी–सिकारबाट र बाँकी प्राकृतिक तथा  अप्राकृतिक कारणले मरेका छन् । चोरी–सिकारीले मारेका, बाढीले बगाएर एवं दलदलमा फसेर, जुधेर मरेका, वाघले खाएकाहरू एवं बुढो भएर कालगतिले मरेकाकोे हकमा गैंडाको मृत्युको कारण यकिनसाथ प्रस्ट नै खुल्छ । यसका अलावा कतिपय अवस्थामा बुढो हुन् या तन्नेरी गंैडा, कुनै न कुनै रोग लागेर मर्छन् र त्यसको यकिनका लागि भरपर्दो ल्याब परीक्षण गर्ने सुविधा नभएर मृत्युको कारण खुलाउन नसकिएको अवस्था छ । मृत्यु भएका सवै गैंडाहरूको भरपर्दो संस्थामा ल्याब परीक्षण गरीे रिपोर्ट चुस्त–दुरुस्त राख्नुपर्ने आजको टड्कारो आवश्यकता हो । यसले भविष्यमा गैंडा संरक्षणको रणनीति तय गर्न बाटो खुल्छ र सम्भावित दुर्घटनाबाट हुने क्षतिलाई वेलैमा बचाउन सकिन्छ ।

निकुञ्जको पश्चिम क्षेत्रको निकुञ्जभित्र नारायणीले ठाउँ–ठाउँमा बर्सैनि बाढीले प्राकृतिक रूपमा नयाँ–नयाँ टापु बनाएर गैंडाका लागि राम्रो वासस्थान व्यवस्थापन गरिदिएको छ भने अर्कोतर्फ गाउँतिरको खेतबारीमा सहजतापूर्वक गैंडा निकुञ्जबाट रातको समयमा निस्किन्छन्, बिहान भएपछि निकुञ्जतर्फ छिर्छन् । त्यस क्षेत्रमा स्थानीयले खेतबालीमा जान गैंडालाई रोक्न कुनै प्रकारको छेकबार लगाएका छैनन् । स्थानीय आफैँले खेतबालीको संरक्षण टौवा बनाई परम्परागत ढंगले त्यहीँबाट खेती रुङ्ने काम गर्छन् । पूर्वी क्षेत्रमा यो किसिमको सुविधा गैंडाहरूले कमै पाएको महसुस हुन्छ किनभने निकुञ्जको पूर्वी भागमा गाउँबस्तीमा गैंडा ननिस्कून् भनेर विभिन्न प्रकारका छेकबार लगाइएका छन् । ०६० सालभन्दा अगाडि सौराहादेखि पूर्वको निकुञ्ज क्षेत्रमा गैंडाको प्रचुरता राम्रै थियो । त्यसपछिका दिनमा गैंडा गाउँतिर ननिस्कून् भनेर ड्याक निर्माण कार्य भयो र राप्तीनदी ढेपिएर ड्याकको छेवैछेउ बग्न लाग्यो र त्यसको विपरीततर्फको निकुञ्जको भाग उच्च हुन गई सुक्खा क्षेत्रमा परिणत हुन गयो । फलस्वरूप गैंडा पश्चिमी क्षेत्रतर्फ आकर्षित हुन थाले । त्यसै भएर बाढीमा नारायणीका टापुहरू जलमग्न हुँदा गैंडा बाढीमा बगेका हुन् । नारायणीको बाढीले बगाएर नेपालमा मात्र होइन, भारतमा पनि नेपालका गैंडा मृत फेला परेका छन् । पत्रपत्रिकाबाट जानकारी भएअनुसार २०७४ को बाढीले बगाएको एक मृत गैंडा भारतको विहार र उत्तर प्रदेशको सिमानामा पर्ने भेडियारी भन्ने ठाउँमा र अर्को हालै आएको नारायणीको बाढीले मिति ०७७÷६÷१९ गते नेपाल–भारत सिमाना, त्रिवेणी ब्यारेजनजिक वाल्मीकि नगर भारतीय भूमिमा मृतगैंडा फेला परेको थियो ।

सुनिँदै छ, निकुञ्जबाट गैंडाबाहिर गाउँबस्तीमा जानबाट रोक्नका लागि निकुञ्जको सिमाना राप्तीमा कंक्रिट ड्याक बनाउने रे ! गाउँबस्तीनजिक मध्यवर्ती सामुदायिक वनहरू पनि छन्, जहाँ गैंडाले आप्mनो वासस्थान पनि बनाएको अवस्था छ र त्यहाँ पनि गैंडा जान बन्देज हुने भयो । यदि त्यो कुरा सत्य हो भने आगामी दिनमा स्थानीयवासीले केही राहत महसुस त पक्कै गर्लान्, तर त्योभन्दा ठूलो क्षति दुवैतर्फले व्यहोर्नुपर्ने प्रायः निश्चित छ । किनभने कुनै माध्यमबाट कथंकदाचित गाउँबस्तीमा गैंडा निस्क्यो भने निकुञ्जभित्र छिर्ने बाटो नदेखेर गाउँघरमा नसोचेको धनजनको क्षति पु¥याउने सम्भावन रहन्छ भने निकुञ्जभित्र मात्र गैंडाहरूको विचरण गर्ने क्षेत्र संकुचन हुँदा एकआपसमा गैंडा जुधेर मर्ने सम्भावना त्यत्तिकै रहन्छ । प्रकृतिलाई असुरक्षित बनाएर हामी कसरी सुरक्षित हुन्छौँ ?

गैंडाले नदीतटीय क्षेत्रमा भएको काँसयुक्त वासस्थान र नदीतटीय वन क्षेत्रलाई प्रमुख वासस्थानको रूपमा प्रयोग गर्ने गर्छ । पूर्वी राप्तीमा ड्याक निर्माणको कारणले राप्तीनदीको बहाव उत्तरी किनारातर्फ सीमित हुन गई नदीको पुरानो बहाव क्षेत्र परिवर्तन भएको छ, जसले गर्दा पूर्वी क्षेत्रका गैंडा सौराहा पश्चिम मात्र केन्द्रित हुन पुगेका छन् । आगामी दिनमा पूर्वी सेक्टर सुनाचुरीदेखि सौराहासम्म गैंडा पुनस्र्थापनका लागि स्थानीय जनताले नियमित रूपमा प्रयोग गर्दै आएको सिञ्चाइ सुविधालाई निरन्तरता दिँदै राप्तीनदीलाई दक्षिणतर्फ फर्काई प्राकृतिक रूपमा नदीतटीय घाँसे मैदान र सिमसार क्षेत्र व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

यही ०७७ साल असोजमा आएको बाढीले बगाएर ३ वटा गैंडाको मृत्यु भएको छ । बाढीले बगाउँदैमा सितिमिती गैंडा मर्दैन, तर बाढीमा बग्दै जाँदा गैंडाले आफूलाई उपयुक्त ठाउँमा पानीबाट बाहिर उक्लिने÷निस्किने प्रयास गरेको स्थान दलदल परेन भने गैंडा पाखातिर निस्किन्छ, यदि दलदल प¥यो भने त्यहीँ फसेर मर्ने सम्भावना रहन्छ वा अताल्लिएर पानी खाई डुब्ने गरेको पाइएको छ । यस्ता घटनाक्रमबाट गैंडालाई बचाउन बाढी मत्थर हुनेबित्तिकै मौसम सफा भएको मौका छोपी ठाउँ–ठाउँबाट नदीमा ड्रोन उडाई पूरै नदीको सर्वेक्षण गर्ने र प्राप्त रिपोर्टका आधारमा कहीँकतै गैंडा दलदलमा फसेको वा कुनै अकडो काठका मुढाहरूमा अड्केको पाइएमा तुरुन्त उद्धार सामग्रीसहितको टिम घटनास्थलतर्फ परिचालित गर्दा गैंडा बचाउन सकिन्छ । विगतका वर्षमा दलदलमा फसेका गैंडालाई बचाएका उदाहरण निकुञ्जमा अझै पनि जीवित नै छन् ।

विश्वबाटै हराउन लागेको महत्वपूर्ण अति संकटापन्न दुर्लभ वन्यजन्तुहरूको वासस्थानबाट स्काभेटर लगाई निकुञ्जबाट गिट्टी बालुवा निकाल्ने परिपाटीले नदीका बगर जताततै खाल्टाखुल्टी देखिनाले यसको सौन्दर्यमा ह्रास आएको महसुस गएिको छ । गैंडा एकआपसमा जुधेका बखत अन्धाधुन्ध पाराले भाग्ने र भगाउने क्रममा स्काभेटरले बनाएको खाल्टोमा परी गैंडा मरेको र गोहीका गुँडसमेत स्काभेटरको उत्खननमा परेकोे दृष्टान्त निकुञ्जमा ताजै नै छ । चितवन राष्ट्रिय निकुञ्ज विश्वसामु चिरपरिचित भएको महत्वपूर्ण विश्व सम्पदामा सुचीमा परेको पार्कमा स्काभेटर चलाउँदा जथाभावी नदीका बालुवाका ढिस्काहरू भत्कन गई वन्यजन्तुको वासस्थानमा खलल पुग्न गएकाले स्काभेटरबाट हुने उत्खनन कार्य बन्द गरी केवल मानिसबाट बेल्चाले मात्र प्रयोग गरी बालुवा उत्खनन गर्न दिँदा उपयुक्त हुने देखिन्छ ।

विगत दुई दशकदेखि नै माइकेनियाजस्ता विदेशी मिचाहा वनस्पति निकुञ्जमा फैलिएको छ । सुरुवाती दिनमा वन्यजन्तुले यसलाई आहाराको रूपमा त्यति ग्रहण गरेको देखिएको थिएन, तर हाल आएर गैंडाले समेत केही हदसम्म यसलाई रुचाएको अवस्था छ । माइकेनियामा के–के तत्व पाइन्छन् र त्यो तत्वले वन्यजन्तुको स्वास्थ्यमा सकारात्मक वा नकारात्मक के–कस्तो असर पु¥याउँछ भन्ने विषयमा समेत गहन अध्ययन अनुसन्धान हुन जरुरी छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको वातावरण विभागबाट ०७५ साल फागुन महिनामा यस निकुञ्जको नदीमा भएको जल प्रदूषणसम्बन्धी भएको अध्ययन प्रतिवेदनअनुसार गोर्खा ब्रुअरी र चौधरी औद्योगिक ग्राम उद्योगबाट निस्किने अप्रशोधित फोहर पानी नेपाल सरकारको मापदण्डविपरीत नारायणी नदीमा मिसाइएको छ । दुवै उद्योगमा फोहोर पानी प्रशोधन गर्ने केन्द्र रहे पनि फोहोर पानीलाई प्रशोधन केन्द्रमा नपठाई बाईपास गरी बलमिच्याइँ पाराले नदीमा पठाउने गरेको र चौधरी औद्योगिक ग्रामको फोहोर पानी नारायणी नदी मिसिने ठाउँवरपर गैंडाको बाक्लै उपस्थित रहेको छ । उद्योगबाट निस्किने अप्रशोधित फोहरलाई उद्योगपतिहरूले प्रशोधित गरेर मात्र नदीमा छोड्नुपर्ने, सोको अनुगमन सम्बन्धित निकायबाट हुनुपर्ने । साथै स्थानीय सरकारको पनि नदी प्रदूषण रोक्नमा अहं भूमिका हुनुपर्नेमा सो नभएको पाइयो । पानी प्रदूषणले गैंडा, दुर्लभ घडियाल, गोहीलगायत अन्य जलचरहरूको स्वास्थ्यमा असर पर्ने भएकाले उद्योगपतिहरूले कमाइको केही प्रतिशत रकम गैंडालगायत जलचर संरक्षणका लागि खर्च गर्नुपर्ने देखिन्छ । प्रकृतिलाई अस्वस्थ्य बनाएर हामी स्वस्थ्य कसरी वन्न सक्छाँै ? बरु प्रकृतिलाई स्वस्थ राख्यौँ भने हामी पनि स्वस्थ रहन्छौँ ।

गंैडाले सबै महिनामा बच्चा जन्माए पनि अधिकतम बच्चा जन्माउने महिना भनेको कात्तिक–पुस महिना हो । हामीले सञ्चार माध्यमबाट केवल गैंडा म¥यो भन्ने नकारात्मक खबर मात्र सुन्छौँ, तर गैंडाको बच्चा जन्मियो भन्ने सकारात्मक खबर कहिल्यै सुन्दैनौैँ । त्यसैले निकुञ्ज भएका सवै पोस्टहरूले गस्ती जाँदा वा हात्ती चराउन जाँदा भर्खरै जन्मेका बच्चाको लगत राखी मासिक रूपमा निकुञ्जमा के–कति गैंडाका बच्चाहरू जन्मे भन्ने विवरण एकत्रित गरी सञ्चार माध्यमलाई उपलब्ध गराउँदा समाचारले पनि राम्रो स्थान पाउँछ र जनमानसमा पनि निकुञ्जले गरेको कामको सकारात्मक सन्देश जान्छ । यसले निकुञ्ज व्यवस्थापनलाई थप सहयोग पुग्ने देखिन्छ । साथै ठूला खाग भएका वयस्क बुढा गैंडाहरू चोरी–सिकारीको गिद्धे नजरमा पर्ने हुँदा गस्तीको क्रममा प्रत्येक गैंडाको पहिचानमा आधारित अनुगमन गरी नामकरण गर्ने, जस्तै– कान चिरुवा गैंडो, ठुटे गैंडो, भुन्टे पोथी आदि तथ्यांक प्रत्येक पोस्टहरूले राख्ने र आउँदा वर्षमा बुढो भएर कालगतिले मर्ने गैंडाको मोटामोटी संख्या निकुञ्ज व्यवस्थापनलाई अग्रिम नै थाहा हुने हुँदा भविष्यमा संरक्षणका रणनीतिहरू बनाउन सजिलो हुने देखिन्छ । गैंडाको चोरी–सिकारलाई शून्यमा झार्न सकिन्छ, तर प्राकृतिक मृत्युलाई भने रोक्न सकिँदैन, वरु न्यूनीकरण गर्न सकिन्छ । प्रायः वर्षायाममा डुंगाका अलवा टायरको ट्युब र केराको थम्बा प्रयोग गरी नारायणी नदी तरेर गैंडा मारी खाग चोरी लगेका उदाहरण पनि निकुञ्जसँग छन् । यस्तो अवस्थामा चोरी–सिकार नियन्त्रणका लागि नदी फिँजारिएको ठाउँ वा यस्तै नदी वारपार गर्ने स्थानमा विशेष गस्ती, आकस्मिक गस्ती र नाका–नाकामा गौंडा कुर्ने ९ब्mदगकष्लन० । गैंडाको बाहुल्य रहेको अति संवेदनशील क्षेत्रमा जल एवं स्थल दुवैबाट सक्रिय गस्ती परिचालन पनि र राउटे पारको घुम्ती सेवा सञ्चालन गर्ने, मध्यवर्ती सामुदायिक वनहरू नजिक रहेको गाउँबस्तीमा समेत वेलाबखतमा गस्ती टोलीको भौतिक उपस्थित देखाउने, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, वन हेरालु, समुदायमा आधारित चोरी–सिकार समूहहरूलाई समेत सक्रिय रूपमा सञ्चालन गर्ने । त्यसैगरी जान अनजानमा किसानहरूले आप्mनो वन्यजन्तुबाट कृषिबाली जोगाउन लगाइएको बिजुलीको तारमा परी गैंडा मर्नु र सेफ्टी टैंकको ढकन कमजोर अवस्थामा रहेकाले त्यसमा परी गैंडा मरेका विगतका उदाहरण रहेकाले व्यापक रूपमा जनचेतनका कार्यक्रहरू समुदायस्तरमा सञ्चालन गर्नुपर्ने अति जरुरी रहेको महशुस गरिएको छ ।

अतः गैंडाको दीर्घकालीन संरक्षण गर्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वासस्थान व्यवस्थापन, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूसँग समन्वय र वन्यजन्तुको स्वास्थ्य सेवालाई थप सशक्त बनाउन आवश्यक देखिन्छ ।

(खड्का चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा सहायक संरक्षण अधिकृत पदमा कार्यरत छन्/ नया पत्रीकाको डिजिटल संस्करण बाट साभार।)

प्रकाशित : २०७७ असोज २६ गते १८:२३
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI