नेपाल क्रिकेट संघ (क्यान) ले गत भदौ १८ गते दरखास्त आह्वान गरेकोमा प्रशिक्षकका लागि विभिन्न १४ देशका ७२ जनाले आवेदन दिएका हुन्।
क्यान स्रोतका अनुसार भारतबाट मात्र १५ जनाले प्रमुख प्रशिक्षक बन्न इच्छा देखाएका छन्। भारतसहित पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज लगायतका देशबाट प्रशिक्षकका लागि निवेदन परेका छन्।
नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायकेले पनि प्रशिक्षकका लागि निवेदन दर्ता गराएको क्यान स्रोतले बतायो।
प्रमुख प्रशिक्षक बन्नका लागि लेभल-३ को प्रशिक्षण कोर्स गरेको हुनुपर्ने योग्यता तोकिएको छ। यस्तै आइसिसीको स्थायी सदस्य, पहिलो श्रेणीको टिम, एसोसिएट सदस्य र अन्तर्राष्ट्रिय लिग मध्ये एकमा तीन वर्षको अनुभव हुनु पर्ने मापदण्ड तोकिएको छ। प्रमुख प्रशिक्षक ६० वर्षभन्दा कम उमेरको हुनु पर्नेछ।
यस्तै महाप्रवन्धकका ४५ जनाले निवेदन दिएका छन्। महाप्रवन्धकका लागि व्यवस्थानपनमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्नेछ भने दुई वर्षको अनुभव र क्रिकेट बुझेको हुनुपर्नेछ।
बित्त प्रवन्धकका लागि ३७ जनाको निवेदन परेको क्यानको भनाइ छ। यो पदका लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्नेछ भने पाँच वर्षको अनुभव र क्रिकेट बुझेको हुनु पर्नेछ।
क्रिकेट व्यवस्थापकमा भने चार जनाले मात्र निवेदन दर्ता गराएका छन्। व्यवस्थापकका लागि लेभल-२ को प्रशिक्षण कोर्स गरेको हुनुपर्छ। यस्तै स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्नेछ भने दुई वर्षको अनुभव र क्रिकेट बुझेको हुनु पर्नेछ।
अब क्यानको पदपूर्ति समितिले सबै आवेदनको मापदण्ड हेर्नेछ। रित पुगेकालाई ‘सर्टलिस्ट’ गर्दै अन्तर्वार्तामा बोलाइनेछ।
गत माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पद रिक्त छ। अहिले राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी छ।
यसअघि भारतका लालचन्द राजपुत नेपालको प्रशिक्षक बन्ने चर्चा चलेको थियो। तर उनी जिम्बावेकै प्रशिक्षक रहने जिम्बावे क्रिकेटले जनाएपछि उनी नेपाल आउने बाटो बन्द भएको थियो।
गत वर्ष क्यानको निर्वाचन भएर आइसिसीबाट निलम्बन फुकुवा भएपछि क्यानले व्यवस्थापनका लागि विभिन्न पदमा पदपूर्ति गरिने बताइएको थियो। तर एक वर्षपछि क्यानले पदपूर्ति गर्न लागेको हो।
Facebook Comment