तेजचन्द्र खनाल –
बालबालिका सम्बन्धि ऐन, २०४८ ले ‘बालबालिका’ भन्नाले सोह्र वर्ष उमेर पूरा नगरेको बालबालिका सम्झनु पर्दछ । त्यस्तै नेपालको संविधान को मौलिक हक अन्तरगत बालबालिकाको हकमा प्रत्येक बालबालिकालाई बालअनुकुल न्यायको हक हुनेछ भनि ब्याख्या गरिएको छ जसबाट के प्रष्ट हुन्छ भने हरेक बालबालिकालाई आफु अनुकुल बाँच्ने, खेल्ने, शिक्षा प्राप्त गर्ने, विभिन्न मनोरञ्जनात्मक कार्यहरुमा सहभागि हुने लगायत बालसुलभ कार्यहरुमा पहुँचको हक संविधानमानै सुनिश्चित गरिएको छ । आजका बालबालिका भोलिका कर्णधार हुन् । आजका बालबालिकानै भोलिका देश विकासको आधारपनि हुन् । त्यसैले यि साना बालबालिकाहरुलाई स्वतन्त्र रुपले जिउन दिनु पर्दछ । यिनका कलिला मन मस्तिष्कमा सधै सकारात्मक उर्जा मात्र भरिदिनु पर्दछ । तब मात्र हामीले सोंचे अनुरुपका बालबालिका तयार गर्न सक्दछौं ।
हामी बालबालिकाका कुरा के कति हदसम्म ध्यान दिएर सुन्छौं भन्ने कुरा हामीले उनिहरुका निम्ति कति समय दिन्छौं भन्ने कुरामा निर्भर गर्दछ । आजका बहुसङ्ख्यक अभिभावकले बालबालिकालार्इ उनिहरुका जिज्ञासा अभिव्यक्त गर्नकालागि उत्साहित गर्नुको सट्टा हतोत्साहित गर्ने गरेको अवस्था छ । यसो गर, उसो गर भन्दापनि यसो नगर, उसो नगर बढि भन्ने गरेको अवस्था छ । कतिपयले खाना खुवाउने क्रममा “खाउ बाबु खाउ नत्र भूत आउछ, जोगिले खाइदिन्छ, धेरै चक चक नगर है अहिले बहुलाले लैजान्छ” आदि जस्ता कुराहरु भनेर हप्काउदा रहेछौं । साना बालबालिकाको कोमल मन मस्तिष्कमा असल भावना र सकारात्मक विचारको खेती गर्ने समयमा हामीले भूत, बहुला, जोगि आदि जस्ता नकारात्मक कुराहरुको बिउ रोपिदिंदा रहेछौं । यसको नकारात्मक प्रभाव दीर्घकालिनरुपमा बालकको सर्वाङ्गिण विकासमा समेत पर्दछ र हामीले गर्ने त्यस्तो व्यवहार पनि दुर्व्यवहार अन्तरगतनै पर्दोरहेछ । त्यसैले अभिभावकले बालबालिकासँग गर्ने व्यवहार पनि सकारात्मक हुनु अत्यन्त आवश्यक छ ।
बालबालिकाले अभिभावकबाट समय नपाउँदा टेलिभिजन, कम्प्युटर र मोबाइलका पर्दामा बढि समय बिताउने गर्दछन् । टेलिभिजनले बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकासमा नकारात्मक असर त पर्छनै यसका साथै उनिहरुमा विभिन्न हिंसाजन्य क्रियाकलापहरु समेत स्वभाविकरुपमा बढेको देखिन्छ ।
विश्व अहिले कोभिड-१९ (कोरोना भाइरस) को महामारी चपेटामा परिरहेको छ । जसले गर्दा विश्व आज पुर्णरुपमा ठप्प छ । विश्वका करिब ८० प्रतिशत मानिसहरु आज घरभित्र बसिरहेका छन् । जसमा बालबालिकाहरुपनि रहेका छन् । ति कलिला बालबालिकाहरुका कलिला मनमस्तिष्कमा समेत कोरोनाको असर परेको देखिन्छ । बालबालिकाहरुमा विभिन्न किसिमका मनोवैज्ञानिक समस्याहरुपनि देखिन थालेका छन् । विद्यालयहरुपनि पुर्णरुपमा बन्द छन् । पठनपाठनपनि ठप्प प्राय नै छ जसले गर्दा आज बालबालिका र अभिभावकहरुमा पनि एक किसिमको अन्यौलता छाएको छ ।
बालबालिकाका आदर्श व्यक्ति भनेका उनिहरुका बाबु र आमा हुन् । साथै तेस्रो आदर्शकारुपमा उनिहरुलाई शिक्षा दिने गुरुलाई लिन सकिन्छ । यिनले गरेका कामलाई बालबालिकाले आदर्शकारुपमा लिने गर्दछन् । बालबालिकाको पहिलो पाठशालाकोरुपमा उनिहरुको घर र गुरुकारुपमा बाबु र आमालाई लिने गरिन्छ साथै दोस्रो पाठशालाकोरुपमा विद्यालयलाई लिइन्छ । त्यसैले बाबु, आमा र गुरुले ति कलिला बालबालिकाका अगाडि गर्ने काम र व्यवहारहरु आदर्श भन्न र बन्न लायक हुनुपर्दछ । तथापि धेरै हदसम्म त्यस्तो हुन सकेको छैन ।
त्यसैले आजको यो विषम परिस्थितिलाई कसरी सामना गर्न सकिन्छ ? कलिला बालबालिकाका मस्तिस्कमा यो मनोवैज्ञानिक असरलाई कसरी कम गर्न सकिन्छ ? यो महामारीबाट कसरी उम्कन सकिन्छ ? कसरी अनुशासित र सुरक्षित तरिकाले यस्तो विषम परिस्थितिको सामना गर्न सकिन्छ ? आदि जस्ता प्रश्नहरुमा अभिभावक अत्यन्त सचेत भएर आफ्ना बालबालिकालाई त्यसबारेमा धेरै भन्दा धेरै जानकारी गराउनुनै आजको प्रमुख आवश्यकता हो । घरमै बसेरपनि आफ्ना बालबालिकाहरुलाई धेरै भन्दा धेरै सिर्जनात्मक काममा लगाउन सकिन्छ । उनिहरुलाई टाइमटेबल बनाइदिएर कुन समयमा के काम गर्ने ? कतिखेर पढ्ने ? कतिखेर टेलिभिजन हेर्ने ? कतिखेर मोबाइल कम्प्युटर चलाउने ? कतिखेर मनोरञ्जनात्मक खेलहरु खेल्ने ? आदि जस्ता कार्यमा सहयोग गर्न सकिन्छ ।
अभिभावकहरुले आफ्ना बालबालिकाहरुका लागि विभिन्न खालका सन्देशमूलक किताबहरु उपलब्ध गराइदिने, उनिहरुसँग सँगै बसेर विभिन्न कथा, कविताहरु, लेख रचनाहरु वाचन गर्ने र गर्न लागाउने साथै लेख्नमा पनि उत्प्रेरित गर्ने, स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिने जस्ता क्रियाकलापहरु गर्न सकियो भने उनिहरुलाई केही हदसम्म रचनात्मक बनाउन सकिन्छ की ? टेलिभिजन र मोबाइलमा पनि विभिन्न सन्देशमूलक कार्यक्रमहरु हेर्न प्रोत्साहन गर्ने र सकेसम्म यो विषम परिस्थितिमा धेरै भन्दा धेरै समय आफ्ना छोराछोरीलाई दिनु उत्तम विकल्प हुनेछ ।
अन्त्यमा,
यो विषम परिस्थितिलाई सहजरुपमा आत्मसात् गर्नुको विकल्प नरहेको वर्तमान अवस्थामा सम्पुर्ण अभिभावकहरुलाई मरो अनुरोध यो छ कि आफ्ना बाबु नानिहरुलाई घरभित्रै सुरक्षित राखौं र घर भित्रै रहेर पनि गर्न सकिने विविध रचनात्मक क्रियाकलापमा बढि भन्दा बढि सक्रिय बनाऔं । मनोवैज्ञानिकरुपमा उनिहरुलाई सिर्जनात्मकता तिर उन्मुख गराऔं । बालमनोविज्ञानलाई धेरै भन्दा धेरै ख्याल गरौं किनकी बालमनोविज्ञानमा नकारात्मक असर पर्यो भने अकल्पनिय घटनाहरुपनि घट्न सक्छन् त्यसैले यो विषम परिस्थितिमा सम्पूर्ण अभिभावकहरु आफ्ना बाबुनानीसँगै बसौं । यो विषम परिस्थितिलाई सहज बनाउने प्रयत्न गरौं र धेरै भन्दा धेरै समय आफ्ना बाबू नानीलाई दिऔं ।
(लेेेखक हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत हुन )
प्रकाशित : २०७७ असोज ९ गते १९:४१
Facebook Comment