No ads found for this position

नारायणी नदी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ९ गते ८:३०
No ads found for this position
नारायणी नदी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
No ads found for this position

चितवन, ९ असोज । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं। २६ मा नारायणी नदी पसेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले बिहीबार दिउँसोबाट नारायणी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिनुभयो । ‘नदीले खतराको तह पार गरेको छ त्यसको असर नदीको तटीय क्षेत्रमा परेको छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराइले भन्नुभयो । त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नं। २८ मेघौली क्षेत्र, वडा नं। १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्तीलाई स्थानान्तरण गरेको भट्टराइले जानकारी दिनुभयो ।

जिल्ला भएर बग्ने नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ । बिहीबार साँझसम्म मानवीय क्षति नभए पनि घर डुबानमा परेको र भौतिक क्षति भने भएको उहाँले जानकारी दिनुभयो । भौतिक क्षतिको विषयमा विवरण संकलन कार्य जारी रहेको उहाँले बताउनुभयो । यसैगरी, राप्ती नदीमा बाढी आएपछि पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । नदीको किनार क्षेत्रमा बाढी पसेर होटलहरु डुबानमा परेको उहाँले जानकारी दिनुभयो । सरकारले असोज महिना लागेपछि पर्यटकीय क्षेत्र खोल्न अनुमति दिए पनि पर्यटक नआउँदा चिन्तित बनेको सौराहामा बाढी पसेपछि थप चिन्ता छाएको छ । काठ र कच्ची घरहरुमा डुबानले क्षति पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई। रामविकेश रायले विहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन विहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगरका प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिनुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रकाशित : २०७७ असोज ९ गते ८:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI