अमिलो चिया

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते १७:३६
अमिलो चिया

होमनाथ पौडेल
राजनीतिमा चासो राख्ने मान्छे म। सानो उमेरमै विद्यार्थी राजनीतिमा होमिएको थिएँ। कम्युनिस्ट भनेका सर्वहारा हुन्छन्, सर्वहाराकै पक्षमा वकालत गर्छन्, कम्युनिस्ट सत्तामा पुगेको खण्डमा विपन्नमैत्री कार्यक्रम आउँछन्, त्यसपछि विपन्न सम्पन्नताको खुड्किलो उक्लिन्छन् भने पुँजिपतीहरु एक कदम तल झर्न बाध्य हुन्छन् अनि त मुलुकमा सबैको अवस्था बराबर हुन्छ र सबै जनता समान हुन्छन् भन्ने सुनेर कम्युनिस्ट राजनीतिलाई पछ्याएको थिएँ मैले।

वि.सं.२०६७ सालमा म अनेरास्ववियुको विद्यालय कमिटीको सचीव भएँ। त्यही उमेरमै छिमेकका केही साथी र दाइहरुले पोथी पार्टी भनेर जिस्काउँदा ममा एक प्रकारको तागत आएको थियो। हेपिएको महसुस गरेर हो कि के भएर हो यकिन पाउन भने सकिनँ तर मेरो दिमागमा यिनीहरुले हेप्ने रैछन्, म यिनीहरुको पार्टीको बन्दिनँ भन्ने कुराले डेरा जमायो। धेरै पछि मात्रै थाह भयो – तत्कालीन नेकपा एमालेलाई अरु पार्टीका साथीहरुले पोथी पार्टी भन्दा रैछन्। नेकपा एमालेमा पुरुष , महिलाको स्थान बराबर रहेछ। लिंगको आधारमा विभेद रहेनछ। त्यसपछी मलाई पोथी पार्टी भनेर जिस्काएका साथी र दाइहरुप्रती करुणा जाग्यो। उहाँहरुकै पार्टीमा विभेद रैछ र त त्यसो भन्न सिक्नुभएको रैछ भन्ने लाग्यो।

एकदिन मैले कम्युनिस्ट भनेका स्वार्थी हुन्छन्, कम्युनिस्टले त ६० बर्ष कटेका बुढाबुढीलाई गोलि हानेर मार्छन् भन्ने सुनेँ।यो सुन्नासाथ छाँगाबाट खसेजस्तो भएँ म। त्यतिबेला गाउँमा मैले चिनेको एकजना हजुरआमा हुनुन्थ्यो। उहाँ उमेरले ७० कटिसक्नु भएको थियो। उहाँको छोरा तत्कालीन एमालेका स्थानीय नेता थिए भने बुहारी चाहिँ प्रौढ शिक्षा पढाउथीन्। मैले हजुरआमालाई बुढाबुढीलाई त कम्युनिस्टले मार्छन् रे नि हो र हजुरआमा भनेर सोधेँ। यसरी सोध्दै गर्दा मेरो ओठ कामेका थिए भने कान जवाफ सुन्न आत्तुर थिए। हजुरआमाले तत्कालै ‘कहाँ हुनु नि नानी त्यसो ? एमालेले त झन् बुढाबुढीलाई पाल्च। मैले पैला एकल भत्ता पाउथेँ, अहिले वृद्ध भत्ता खाइछु, उनै कम्युनिस्ट नेता मनमोहनले सुरु अरेका हुन्’ भन्नुभयो।

यति सुनेपछि मेरो मन खुशीले चङ्गा भयो। यस घट्नाले पनि मलाई कम्युनिस्ट बनाउन ठूलो भुमिका खेल्यो। अरुले कम्युनिस्टको बारेमा समाजमा गलत हल्ला फैलाउने रैछन् भन्ने थाह भयो। त्यसपछिका कहानी धेरै छन्। अल्लि पछि अनेरास्ववियुको देवचुली नगर कमिटीको सचीव भएँ भने युवा उमेर समुहमा प्रवेश गरेपछि युवा संघ नेपालको वडा अध्यक्ष भएँ। हाम्रो गाउँ कम्युनिस्टको लाल किल्ला मानिन्थ्यो, चुनाव सजिलोसँग जितिन्थ्यो। त्यो साख अझैसम्म जोगाइराखेका छौँ।

हाम्रो वार्डमा हामीले जितिन्छ भनेर घमण्ड र अरुलाई हेप्ने काम कहिल्यै गरेनौँ। वनको समितिमा वडाभित्र अस्तित्वमा रहेका सबै पार्टीका प्रतिनिधि हुन्थे, खानेपानी समुहमा पनि। विद्यालय व्यवस्थापन समिति सहमतिमा गठन हुन्थ्यो भने शिक्षक अभिभावक संघ गठन गर्दा पनि सहमति हुन्थ्यो।

आजभोलि न चुनाव छ, न सभा सम्मेलन तर पनि गाउँमा झैझगडा छ। गाउँमा पनि के भन्ने फेसबुकमा भन्नुपर्छ सिधै भन्दा। त्यसपछि बल्ल गाउँ। फेसबुकमा कमेन्टमा झगडा भएपछि भेट हुँदा पनि त्यहि कुरा दोहोरिन्छ। अहिले वार्डभित्र ३/४ वटा अस्तित्वमा रहेका पार्टी र पार्टीका प्रतिनिधि छन्। सबै पार्टी बुद्धिजिवीले भरिभराउ छन्। मैले फेसबुकमा एउटा स्टाटस लेख्नुपर्छ, कता कता बाट कुन कुन पार्टीका साथीहरु आएर कमेन्टमा झगडा गर्नुहुन्छ। मलाई पनि मुछ्नुहुन्छ। जानेर वा नजानेर म पनि जवाफ दिन्छु।

हामी मात्र हैन, वडाभित्रका ४०/४५ बर्षका अरु साथीहरु पनि एकआपसमा बाँझ्नुहुन्छ। नगरपालिकास्तरमा पनि यस्तै छ अवस्था, अझै भनौँ अहिले त मुलुकभरी नै यहि प्रवृत्तिले जरा गाडेको छ। एक अर्कालाई होच्याउने, जिस्काउने, थर्काउने आदिइत्यादी लगभग सबैले गर्छन् भन्दा अतियुक्ती नहोला। यसबाट राजनीति गर्ने नेता मात्रै हैन नगर्ने जो कोहि पनि अछुतो छैन।शिक्षक, विद्यार्थी, पत्रकार, कर्मचारीलगाएत आम नागरिक नै उस्तै छौँ हामी। यस्तो देख्दा मन नै खिन्न भएर आउँछ। म स्वयं पनि त्यही समुहमा पर्छु। सायद अहिले यो कथा पढ्नुहुने पाठक पनि कहिँकतै यहि समुहमा जानेर वा नजानेर पर्नुहुन्छ कि भन्ने कुराले चिन्ताग्रस्त छु। खै त समानता हामीमा ? खै एकाअर्काप्रती सम्मान ? खै भाइचारा ? खै हाम्रो सिद्धान्त? तपाईलाई पनि मनमा चिसो पस्छ नि है ?

आज विहान मात्रै म लोकल कुखुरा लिन एक जना छिमेकी दाइकोमा गएको थिएँ। कुखुरा जोखियो। पैसा दिएँ र निस्किएँ। खासै कुरा भएन। त्यही बेलामा भाउजू ( दाइको श्रीमती)ले चिया लिएर आउनु भयो र बाटोमा पुगिसकेको मलाई बोलाउनु भयो। म भाउजुलाई नमस्कार गर्दै उहाँको निमन्त्रणालाई स्वीकारेँ। भाउजुले दाइ र मलाई एक एक कप चिया दिनुभयो। चिया पिउँदै थियौँ। दाइले हिजो फेसबुकमा भएको हामी दुई दाजुभाइको कमेन्टलाई कोट्याउदै भन्नुभयो,”राणाकै पालामा रेल आएको थियो । अहिले किन बबन्डर मच्चाको ? लाज पचेकाहरु चलाउन नसकेर त्रिपालले छोपेर राखेका छन्, जनताले तिरेको कर। कमाउनिस्टबाट पनि विकास हुन्छ ?” दाइको यो बोलीले मलाई मेरो आत्मसम्मानमा चोट लागेको महसुस भयो। मेरो आदर्शमाथी कुल्चिनुभएको महसुस गरेँ। सहनै सकिनँ। अनि भनेँ,”जसको दिमागमा कागजको रेल मात्रै थ्यो, त्यही बनाएर विरोध गरेका थियौ। अहिले किन बोल्नुपर्यो?” त्यसपछि मलाई गुलियो चिया पनि अमिलो लाग्यो। नमिठो लाग्यो। एकछिन त म चिया पिऊँ कि छोडुँ भन्नेमा दोधारिएँ। मैले चिया नपिएको देखेर भाउजुले दाइको मुखमा पुर्लुक्क हेर्नुभो। अब त दाइलाई पनि चिया नमिठो लागेछ क्यार , पिउनुभएन। भाउजू भित्र जानुभयो। मलाई अफ्ट्यारो लाग्यो। अब राम्रो कामको सुरुवात हामीबाटै गर्नुपर्छ भन्ने मैले मनमनै सोचेँ। बोल्ने हिम्मत उत्तिखेरै आयो र भनेँ,”दाइ! गुलियो चिया पनि मलाई अमिलो लाग्यो। नमिठो लाग्यो।” दाइ नाजवाफ हुनुभयो। मैले फेरि थपेँ,”दाइ! फेसबुकमा झगडा गर्दा कमेन्टमा उचाल्नेहरु र वाहिवाही गर्नेहरु थुप्रा छन्। यहाँ ज्वाईँजेठानको सम्बन्ध फेसबुकले विगार्यो। सालाभेना बोल्न छाडे।

मर्छुमार्छु भन्दैछन्। घर बाहिरकाले खुशी मनाउँदै छन्। के छ उपाय यस कोलाहलबाट निस्कने?” मैले सानो स्वरमा बोलेको थिएँ तर पनि भित्र गैसक्नु भएको भाउजुले सुन्नुभएछ र आएर भन्नुभो,”दाईको अाक्रामक स्टाटसमा यसो हैन यसो हो नि दाइ भनेर भन्दा पनि हुन्छ, भाइको स्टाटस मा यसो हो नि भाइ भन्न पनि सकिन्छ। अावेशमा अाएर तँ यस्तो, तँ उस्तो भनेर अाखिर हुन्छ चाहिँ के? उपलब्धि के हुन्छ त्यसको? अाफ्नो पार्टी र सिद्धान्त सबैलाई प्यारो लाग्छ। कसैले पनि जान अन्जानमा अाक्रामक स्टाटस लेख्छ, कमेन्ट गर्छ भने यदि सकिन्छ भने उसलाई बुझाउने हो सकिँदैन भने बहसै नगरिदिने हो भन्छु म त”। भाउजुको कुराले दाइ र म दुबैको अनुहारमा केही खुशी छायो। लगत्तै दाइले भन्नुभयो, “काका, भाइभतिज, दाइजस्ता सँग बाझियो, हिजो म पनि बाझेँ, तिमी पनि बाझ्छौ, अाखिर सँगै बस्नुपर्छ हामी सबै, एउटै समाजमा। मर्दापर्दा भेट्नु पर्छ। साथसहयोग चाहिन्छ। के थाह कोरोना लागेर भोलि नै पो मरिन्छ कि ? झगडा गरेर , बाझेर पुगियोचाहिँ कहाँ अाखिर? एक कप चिया पनि अमिलो भयो।” दाइले पनि सकारात्मक भएर यति मिठा कुरा गरेपछि मैले भनेँ,”दाइ! जसरी आज भाउजुले मध्यस्थकर्ता जसरी सम्झाउनु, बुझाउनु भयो, त्यसरी नै फरक फरक पार्टीका हजुर र म अब आ-आफ्ना सिद्धान्तलाई जोगाउने, हाम्रा मार्गदर्शक विपि कोइराला, मदन भण्डारी , गणेशमान सिंह, पुष्पलाल तथा हाम्रा वीर सहिदहरुलाई सम्मान गर्ने हो भने सामाजिक संजालमा जोसुकैलाई उचाल्ने पछार्ने, कमेन्ट गर्ने, स्टाटस लेख्नेलाई सम्झाउने , बुझाउने गरौँ। यदि कसैले नमान्ने , नसुन्ने गर्छ, अझै निहुँमात्रै खोज्छ भने ऊ सँग बहस नै नगरौँ। हामी प्रत्यक्ष भेटघाटमै तार्किक बहस गरौँ। समस्यामाथी छलफल गरौँ”। मैले यति भनिसकेपछि दाइले अझै खुलेर खुशी हुँदै भन्नुभयो,”हुन्छ। मैले भनेर हुनेलाई म भन्छु। तपाईले भनेर हुनेलाई तपाईं भन्नुहोस्। अब हामी मिलेर गाउँको विकास गर्नुभन्दा अरु विकल्प नै छैन”। हाम्रा यतिका कुरा भैसक्दा हामी दुबैको हातमा चियाका कप त्यतिकै थिए। जुन चिया केही समय अघि हामीलाई अमिलो , नमिठो लागेको थियो। त्यही चिया फेरि पियौँ। अहो! अहिले त हिँउजस्तै चिसो भैसके पनि चिया हामी दुई भाइलाई नै अती मीठो भयो किनभने सकारात्मक सोचले हामीमा छुट्टै तरङ्ग र ऊर्जा प्राप्त भैसकेको थियो। फरकफरक पार्टी र सिद्धान्त भएका हामी सकारात्मक परिवर्तनका लागि एक कदम माथी उठिसक्यौँ। अब मात्र तपाईको साथको खाँचो छ, जसले अहिले यस कथा पढ्दै हुनुन्छ। के तपाई तयार हुनुन्छ त सकारात्मक परिवर्तनका लागि ???

प्रकाशित : २०७७ असोज ८ गते १७:३६
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI