मेरो प्रेम , फेसबुक र सेक्स

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ७ गते २१:४७
मेरो प्रेम , फेसबुक र सेक्स

हामीबीच अटुट सम्बन्ध थियो । मेरो नजरमा उनी संसारकै सबैभन्दा आकर्षक महिला थिइन् । कहिलेकाहीँ म उनलाई मेरी आमासँग तुलना गर्थेँ । लाग्थ्यो, संसारमा मेरा यी दुई महिला मात्र छन्, एकले मलाई जन्म दिइन् र अर्कीले जीवन दिइन् । प्रेमको सुरुवातदेखि नै उनी मलाई भन्थिन्, ‘तिमी धेरै रिसाहा छौ । सानो कुरामा धेरै रिसाउँछौ ।

यस्तो रिसको सुरमा कुनै दिन मलाई छोड्छौ कि झैं लाग्छ ! म चाहिँ भन्ने गर्थेँ, ‘तिमी धेरै जिद्दी छौ । आफूले भनेको कुरा हुनैपर्छ भन्ने ठान्छौ । कुनै दिन तिमीले भनेको कुरा मैले पूरा गर्न सकिनँ भने तिमीले ब्रेकअप गर्छौ कि झैं लाग्छ ।’ हाम्रो धेरै डिस्कस हुने विषय यिनै थिए ।

तर, हामीबीच प्रेम भने औधि थियो । म छिटो रिसाउँछु भन्ने मलाई थाहा थियो । तर, म रिसाउँदा उनी फकाउन सक्दिनथिन् । उनी जिद्दी थिइन् भनेर उनलाई थाहा थियो । तर, उनले भनेका धेरै कुरा मैले पुर्‍याउन सकेको थिएँ । एकदिन उनले म सँग मेरो फेसबुकको पासवर्ड मागेकी थिइन् ।

म यो कुरामा प्रतिबद्ध थिएँ, प्रेममा सबैभन्दा महत्वपूर्ण आधार नै विश्वास हो । प्रेम विश्वासमै टिकेको हुन्छ । उनले फेसबुकको पासवर्ड माग्नुलाई मैले मप्रतिको अविश्वास झैं लाग्यो । मलाई धेरै रिस उठ्यो । मैले भनेँ, ‘विश्वास छैन भने नबोल, तर म पासवर्ड दिन्नँ । कति साथी र आफन्तसँग पर्सनल कुरा हुन्छ, जुन तिमीलाई म देखाउन सक्दिनँ ।’

उनको जिद्दी गर्ने बानी थियो । जेसुकै होस्, पासवर्ड दिनैपर्छ भन्न लागिन् । पासवर्ड नदिए ब्रेकअपसम्म हुन सक्ने कुरा उनले गरिन् । पूरै जीवन बिताउने भनेर सोचेको प्रेम नै धरापमा परेपछि पासवर्ड दिएको थिएँ । तर, पासवर्ड दिनुपरेकोमा चित्त बुझिरहेको थिएन । भित्रभित्रै रिस भरिएको थियो ।

उनले धेरै जिद्दी गरेकाले मात्र मैले पासवर्ड दिएको अनि पासवर्ड दिएकै कारण म रिसाएको उनले बुझिछिन् । केही दिनपछि पासवर्ड चेन्ज गर भनिन् । मैले चेन्ज गरें त्यसपछि उनको जिद्दीपन मरेको थियो र मेरो रिस पनि । हामीलाई एक–अर्काको कमजोरी थाहा थियो र पनि हामीले त्यसलाई स्विकारेका थियौं । लाग्थ्यो, हामी एक–अर्का कै लागि बनेका हौं ।

बिस्तारै मलाई उनको जिद्दी गर्ने बानी अनि उनलाई म रिसाउने बानी मन पर्न थालेको थियो । समय बित्दै गयो, हामी झन् नजिक हुँदै गयौं । हामीबीच धेरै स–साना कुरा पनि सेयर हुन थाले ।

पुरुष र महिला धेरै नजिक भएपछि सेक्सको रहर आउँदो रहेछ । एकदिन मैले उनलाई सेक्सको प्रस्ताव राखेँ । मलाई सेक्सले प्रेमलाई अझ गाढा बनाउँछ जस्तो लाग्थ्यो । तर, उनी मानिनन् । रिसाइन् ।

‘तिमीले यत्तिको लागि प्रेम गरेको हो ?’ उनले प्रश्न गरिन् ।

‘हो, मैले सेक्सको लागि प्रेम गरेको हो । तर, सेक्सको लागि मात्रै चाहिँ होइन’, मैले जवाफ दिएँ ।

म सेक्सलाई बाइलोजीसँग जोड्थेँ, उनी भने इज्जतसँग जोड्थिन् । म सेक्सलाई आवश्यकता भन्थेँ, उनी रहर मात्रै हो भन्थिन् ।

म जिद्दी गर्न लागेँ, प्रेममा सेक्स हुनैपर्छ भनेर । उनी रिसाउन लागिन् । धेरै समय हाम्रो यसै विषयमा झगडा भइरह्यो ।

पछि मैले भनेकै कुरामा जित भयो, हामीबीच सेक्स भयो । तर, सँगसँगै हाम्रो प्रेमको भने अन्त्य भयो । सेक्स गरेपछि उनी यति धेरै रिसाइन्, कहिल्यै मसँग बोलिनन् ।

‘तिमी धेरै जिद्दी भएछौ !’ उनले मलाई अन्तिम पटक गरेको म्यासेज यही थियो ।

तर, मलाई पनि एउटा कुरा भन्न मन थियो, तिमी पनि धेरै रिसाहा भएछौ ।

अन्त्यमा हाम्रो प्रेमले मलाई उनी जस्तै जिद्दी बनाएछ, उनलाई म जस्तै रिसाहा बनाएछ । मैले उनको बानी लिएछु, उनले मेरो ।

बिचरो प्रेम चाहिँ बीचमा रह्यो । न उनले लगिन्, न मैले ।(लेखक: अज्ञात )

प्रकाशित : २०७७ असोज ७ गते २१:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI