डडेलधुराका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपिएल’

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ५ गते १५:११
डडेलधुराका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपिएल’

धनगढी: शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि  नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स (युएई) का तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुँदैछ। त्यहि आइपिएलका लागि युएइ पुगिसकेका छन् हर्कबहादुर कैनी(हरी)।

सुदूरपश्चिमको डडेल्धुरा जन्मेका हरी कैनीले हामीले टेलिभिजनमा हेर्ने खेललाई आकर्षक बनाएर देखाउँछन्। हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शकसामु पुर्याउने प्राविधिक टोलीमा कार्यरत उनी एक भिजन इन्जिनियर हुन। उनले कक्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन्।

यस वर्षको आइपिएलमा उनी त्यहि काम गर्दैछन्। उनले युएईबाट आइपिएलको प्रत्यक्ष प्रसारण गरिरहेका छन्। उनले आइतबार आइपिएलको दोस्रो खेल क्यापिटल्स र किंग्स ११ पन्जाबबीचको प्रत्यक्ष प्रसारण गरेका थिए। त्यसो त उनले यसरी काम गरेको पहिलो पटक हैन। उनीसँग विगतमा विश्वकप क्रिकेट, आइपिएल, विश्वकप कवड्डि, बहुचर्चित आइफा एवार्ड लगायतका विभिन्न इभेन्टस्को प्रत्यक्ष प्रसारण गरेको अनुभव छ।

त्यहि अनुभवका कारण यसपटक पनि डडेल्धुराबाट उनलाई दुबई बोलाइएको थियो। आइपिएलका लागि भनेर १ सेप्टेम्भरमा उनी डडेल्धुराबाट दिल्ली गएका थिए। त्यसपछि दिल्लीबाट ७ सेप्टेम्भर उनी दुबई गएका थिए। ताज होटेलमा केहि दिन क्वारेन्टिन बसेपछि उनको काम सुरु भयो जसअनुसार १५ सेप्टेम्भर देखि १९ सेप्टेम्भरसम्म उनले सेटअपको काम सकेका थिए। सेटअपको काम सकेर आइतबारबाट युएईको अन्तर्राष्ट्रिय मैदानको पर्दा पछाडी बसेर उनले काम गरिरहेका छन्।

केहि समयअघि मात्रै भारतको रन्जित ट्रफि र जनवरीमा फिलिपिन्समा भएको ‘सिगेम’मा समेत हरी पुगेका थिए।

बिहेको ऋण तिर्न भारत गएका बेला पाएको सफलता
डडेल्धुराको अमरगढी नगरपालिका –७ मा २०३३ सालमा जन्मेका उनले स्थानीय उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। त्यपछि २०५६ मा उनी भारतको मुम्बई तर्फ हानिएका थिए।

मध्यम वर्गिय परिवारमा जन्मिएका हरीको उच्च शिक्षा अध्ययन पश्चात विवाह गर्ने योजना भएपनि बुवाले २०५३ मंसिर १० गते विवाह गरिदिएका थिए। अभावै अभावमा बाचेका उनी विवाह गर्दा लागेको ऋण तिर्न सपनाको शहर मुम्बइतिर गएका थिए। ‘बुवाले रहर गरेर मेरो विवाह गरिदिए तर त्यही महिना बुवाको अचानक निधन भयो’ उनले भने, ‘अनि घरमा लागेको ऋण तिर्न भारत गएको थिए।’

मुम्बई अर्थात् सपनाको शहरमा उनले सोचे जस्तो सहज थिए काम पाउन। तर कामलाई सम्मान गर्ने हरीले मुम्बइको एक निजी कार्यालयमा काम पाए। काम थियो चिया पकाउने र क्याबिनसम्म पुर्याउने। ‘पकाएको भाडा र गिलासहरु सफा पनि गर्थे’ उनले भने।

त्यसपछि उनले स–साना सुटिंग गर्ने कम्पनीसँग जोडिने अवसर पाए। अनि चिया पकाउने काम छोडेर नयाँ काम तिर लागे तर बिना तलब काम सिक्न पाउने सर्तमा। ‘त्यतिबेला जब ५ महिनासम्म राम्रो काम सिकेँ त्यसपछि बल्ल कम्पनीको तलब सुरु भयो’ उनले भने, ‘काम चाहिँ प्राविधिक रुपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरु मिलाउने।’ सोही समयअवधिमा अडियो–भिडियोको दुई वर्षीय अफलाइन कोर्ष उत्तिर्ण गरेको हरीले सुनाए।

त्यसपछि सुरु भयो उनका राम्रा दिन। सन २००३ पछि भारतभित्र मात्र हैन विदेशका जाने अवसर समेत हरीले त्यतिबेला देखि नै पाएका थिए।  उनले भने, ‘विभिन्न इभेन्टहरुलाई प्रत्यक्ष प्रसारण गर्ने क्रममा इंगल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देश पुगिसकेको छु।’ उनी २०१८ र २०१९ को आइपिएलको प्रत्यक्ष प्रसारणको टोलीमा सदस्य थिए ।

अहिले विश्वभरका करोडौं क्रिकेटप्रेमीहरु आइपिएलमा खेल हेरिरहेका छन्। खेल खेल्ने खेलाडीलाई त सबैले चिन्छन् तर त्यही खेल टेलिभिजनको पर्दासम्म पुर्याउने टिममा सुदूरका छोरा हरीसँग धेरै कम परिचित छन्। नेप ब्रोडकाष्ट सिंगापुर नामक कम्पनीमा रहेर काम गरिरहेका उनी आफ्नो कामबाट सन्तुष्ट भएको बताउँछन्।

तर सधैजसो इभेन्टस् नहुँने हुँदा खाली समेत बस्नुपर्ने उनले बताए। ‘काम भए ठिकै हो नत्र खाली समयमा केहि पाइदैन खाली घरमा बस्नुपर्छ’ उनी भन्छन, ‘तर ६ महिना काम पाए सालभरीलाई खान लाउन पुग्छ।’ आइपिएल सकिएलगत्तै फेरि डडेल्धुरा आउने योजना रहेको हरी कैनीले बताए । -दिनेश खबर बाट

प्रकाशित : २०७७ असोज ५ गते १५:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI