No ads found for this position

लोकप्रियतासँगै बलिया देशको चेपुवामा टिकटक

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते २१:३५
No ads found for this position
लोकप्रियतासँगै बलिया देशको चेपुवामा टिकटक
No ads found for this position

प्रयोगकर्तालाई आफ्नै छोटो भिडियो बनाएर अपलोड गर्न र अरूले बनाएका भिडियो हेर्ने सुविधा दिएको टिकटकले कोरोना महामारीका बेला ठूलो संकट व्यहोर्नुपरेको छ । टिकटक सञ्चालक कम्पनी ‘बाइटडान्स’लाई सुरुवातमा अन्य कम्पनीलाई जस्तै कोरोना भाइरस नफापेको भने होइन । सुरुवातमै धेरैको रोजाइमा परेको टिकटक कोरोना भाइरस सुरु भएपछिको केही समय अझ बढी चल्यो । भाइरस संक्रमण रोक्ने प्रयासस्वरूप विभिन्न देशमा घोषणा गरिएको ‘लकडाउन’मा मानिसले आफ्नो फुर्सदको समय टिकटकसँगै बिताए । कतिले टिकटकलाई आफ्नो क्षमता र सिर्जना प्रस्तुत गर्ने माध्यम बनाए । कतिले त्यही भिडियो हेरेर समय बिताए । तर, टिकटकको यो लोकप्रियता धेरै समय भने टिकेन ।

टिकटकको सबैभन्दा ठूलो बजार भारत थियो । भारतमा मात्रै टिकटकको एक सय २० मिलियन प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ । तर, भारतले टिकटकसँगै धेरै चिनियाँ ‘एप्स’ एकैपटक बन्द गरिदियो । कोरोना संक्रमण तीव्र बनिरहेकै बेला भारतले टिकटक बन्द गर्ने निर्णय ग¥यो । त्यसपछि लोकप्रियता हासिल गरिरहेको अमेरिकामा पनि टिकटकले सरकारको ठूलो अवरोधको सामना गर्न‘ परिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा देखिएको भन्दै ‘बाइटडान्स’लाई अमेरिकामा टिकटक बन्द गर्न वा यसको स्वामित्व अमेरिकी नागरिक वा कम्पनीलाई बेच्न १५ सेप्टेम्बरसम्मको चेतावनी दिएका थिए । ट्रम्प प्रशासनको चेतावनीकै कारण टिकटकले अमेरिकामा आफ्नो स्वामित्व गुमाउने अवस्था देखिएको छ ।

चार वर्षमै टिकटक विश्वभर दुई अर्बपटक ‘डाउनलोड’ भएको एप्स हो । प्रयोगकर्ताले आफ्नो १५ सेकेन्डको भिडियो अपलोड गर्न सक्ने यो चर्चित ‘भिडियो सेयरिङ’ एप्स र यसको सञ्चालक कम्पनीमाथि भारत र अमेरिकाले चीनसँगको आफ्नो तिक्ततापूर्ण सम्बन्धको रिसइबी पोखेको देखिन्छ । गत जुनमा चीनसँगको सीमावर्ती क्षेत्रमा समस्या भएपछि भारतले टिकटकसहित ५९ चिनियाँ एप्स बन्द गरेको थियो ।

त्यस बेला भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच भएको गोली हानाहानमा २० भारतीय सैनिकको ज्यान गएको थियो । अमेरिकाले पनि चीनसँगको खराब सम्बन्धका कारण आफ्नो देशमा रहेका चिनियाँ कम्पनीमाथि कडाइ गरिरहेको देखिएको छ । राष्ट्रपति ट्रम्पले चीनलाई कोरोना भाइरस संक्रमण फैलाएको आरोप लगाउँदै आएका छन् । अमेरिकामा सरकारको अवरोधको सामना गर्ने टिकटक पहिलो कम्पनी भने होइन । हुवाबे, टेन्सेन्टजस्ता कम्पनीले पनि अमेरिकी प्रशासनको ठूलो अवरोधको सामना गरिरहेका छन् ।

प्रकाशित : २०७७ असोज २ गते २१:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI