जोखिम न्यूनिकरणमा प्रशासन र स्थानीय तह मिलेर काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते १७:५९
जोखिम न्यूनिकरणमा प्रशासन र स्थानीय तह मिलेर काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

नारायण शर्मा/पूर्वी नवलपरासी                       परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य जोखिम न्यूनिकरणका लागि प्रशासन र स्थानीय तह मिलेर काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय आइपुगेका मन्त्री ज्ञवालीले सरकारले बिहीबारदेखि निषेधाज्ञा खुकुलो पारेकोले स्वास्थ्य जोखिम बढ्ने भन्दै त्यसविरुद्ध मिलेर काम गर्न निर्देशन दिएका हुन् ।

‘यातायात, होटल व्यवसाय सञ्‍चालन गर्दा स्वास्थ्य क्षेत्रमा जोखिम त बढ्छ नै,’ उनले भने, ‘यसको न्यूनिकरणका लागि नागरिकलाई सचेत पार्ने दायित्व सबैको हो ।’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत आनन्द शर्माले जिल्लाका समस्या के छ भनेर मन्त्रीले चासो राखेको जानकारी दिए ।

मन्त्री ज्ञवालीसँग कावासोतीमा रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आधा घन्टा भेट गरेकी थिइन् । त्यसक्रममा मन्त्री ज्ञवालीले जिल्लामा अब निर्माण हुने एकीकृत नमुना जिल्ला सदरमुकाम निर्माणमा भइरहेको ढिलाईका बारेमा चासो राखेका थिए । भूमिगतकालमा आफूले नवलपरासीमा समय बिताएको संस्मरण गर्दै उनले यहाँको विकासका लागि सदैव आफ्नो प्रयास रहने वचन दिए ।

प्रमुख जिल्ला अधिकारी पंगेनी आएपछि सरकारका मन्त्री तहका व्यक्ति आएको यो पहिलो पटक हो । पंगेनी दुई साताअघि यहाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएकी हुन्
प्रकाशित : २०७७ असोज २ गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI